सन नेपाल लाइफको नारायणी क्षेत्रमा तीन शाखाको स्थान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रअन्तर्गत रहेका तीन शाखाको स्थानान्तरण सम्पन्न गरी नयाँ संरचनायुक्त कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले टाडि शाखा (रत्ननगर–टाडि २), भरतपुर शाखा (भरतपुर–३, शहीद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) गरी तीन शाखालाई आधुनिक सुविधायुक्त स्थानमा सारेर औपचारिक रूपमा कार्य सुरु गरेको हो । नयाँ कार्यालयमार्फत विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । स्थानान्तरण उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, सम्बन्धित शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अनिवार्य भएको बताउँदै, शाखा स्थानान्तरण ग्राहक–मैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए । त्यस्तै, प्रमुख बजार अधिकृत चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली र सहज मार्गदर्शन जस्ता सुधारहरूले ग्राहक सन्तुष्टि वृद्धि हुने विश्वास व्यक्त गरे । कम्पनीले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै आएको जनाएको छ ।

नबिल बैंकले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।   बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सिटिजन लाइफको सीईओमा पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी पौडेललाई पुनः नियुक्त गरिएको हो ।  पौडेलको दोस्रो कार्यकाल यही पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन्स लाइफमा २०७४ सालमा सीईओमा नियुक्त भएका थिए। पौडेलले आफ्नो नेतृत्वमा कम्पनीलाई अब्बल संस्था बनाउन विशेष भूमिका निर्वाह गरेका छन् ।