महालक्ष्मी विकास बैंकको विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । बैंकले यस क्रममा जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण सहित स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यशाला सञ्चालनमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्न ५ थान कम्प्युटर सेट र ५ थान टेबल उपलब्ध गराएको छ । साथै हुम्ला जिल्लाको सिमकोटदेखि ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा नं. १ का ६५ घरधुरीका दलित समुदाय, विपन्न वर्गका मानिस, अनाथ बालबालिका, एकल महिला र पुरुषलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागलुङ्ग जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापाका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसुर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबहरूसँगको सहकार्यमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययरत १८० जना विद्यार्थीलाई जाडोबाट बच्न १८० थान न्यानो कपडा वितरण गरिएको छ । गोरखा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गरिएको  छ। बैंकले गर्दै आएका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमिता गर्ने ११ परीक्षार्थीलाई प्राधिकरणले गर्‍यो कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी भएका ११ जना परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षामा अनियमिता गरेको भन्दै प्राधिरकणले कारबाही गरी परीक्षा रद्द गरेको हो । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपाली छन् । शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए । यसैगरी, संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना कारबाहीमा परेका छन् । तीनै जना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै, कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन् । थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए ।  त्यस्तै, भक्तपुर सूर्यविनायकका विवेक विष्ट र कास्की रूपाका मन्दीप सुवेदीलाई कारबाही गरेको छ । दुवैजना एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए । 

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कोषले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कोषले जनाएको छ ।