स्वावलम्बन लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै १६ लाख ३५ हजार १०९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

नेपालको पहिलो इन्सूरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल प्रकाशित

काठमाडौं । नेपालको पहिलो इन्सूरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल नेप्लीज जर्नल अफ इन्सुरेन्स एण्ड सोसल सेक्युरिटीको दोश्रो अंक हालसालै प्रकाशन भएको छ । हरेक वर्ष प्रकाशन हुने यस जर्नल  सन्  २०१८  र  २०१९  प्रकाशन  भएको हो  भने  आगामी  अंक  २०२०  पनि यसै वर्ष प्रकाशन हुन गइरहेको छ । यसको सम्पादक मण्डलमा नेपाल, भारत र युरोपका प्राध्यापक छन् भने सल्लाहकार बोर्डमा अमेरिका, चीन, दक्षिण कोरिया तथा भारतका बीमा क्षेत्रका विज्ञ रहेका छन् । यस अंकमा ७ वटा लेखहरु रहेका छन् जसमा अमेरिकी प्रोफसरको एक्चुरी र रिटायरमेन्ट बेनिफिट सम्बन्धी, दुई लेख सामाजिक स्वास्थ्य बीमा सम्बन्धी, चार लेख नेपालको बीमा बजार, ग्राहकको अवधारणा र बैंकको बैकसुरेन्स सम्बन्धी धारणासंग सम्बन्धित रहेका छन् । यस जर्नलको उद्देश्य नेपालको बीमा बजारको बारेमा अन्तर्राष्टिय स्तरमा जानकारी दिने, नेपालका र विदेशका बीमा अनुसन्धानकर्ताहरुबीच अपासमा बीमा ज्ञानको आदनप्रदान गर्ने, नेपाली अनुसन्धानकर्ताहरुलाई बीमाको बारेमा अध्ययनका लागि अभिप्रेरित गर्ने बीमाका सरोकारवालाहरुलाई परिष्कृत ज्ञान उपलब्ध गराउने रहेको छ । यस  जर्नलको  सम्पादक  मण्डलका  प्रमुख  सम्पादक  प्राडा  फत्तबहादुर  केसी, प्रबन्ध सम्पादकमा डा. रविन्द्र घिमिरे छन् भने सदस्यहरुमा अर्मेनियन स्टेट युनिभर्सिटि, बिरला इन्स्टीच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र नेशनल इन्सुरेन्स एकेडेमीका  प्राध्यापकहरु छन् । जर्नललाई सर्वसाधारण सबैले निःशूल्क अध्ययन गर्न सजिलो होस् भनि नेपाल इन्सुरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसियसनको वेभ पेज (https://nirma.com.np/journal-njiss/) र नेपजोलको वेभपेज (https://www.nepjol.info/index.php/njiss) बाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध सम्पादक डा. घिमिरेले जानकारी दिए ।

सिम्रिक बचत तथा ऋण सहकारीद्वारा कर्मचारीको ६ लाख ऋण मिनाहा

झापा। झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको छ लाख २९ हजार ऋण मिनाहा गरेको छ । विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । उनको घर मेचीनगर–७ इटाभट्टामा छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले तीन लाखको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक ३३ हजार ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ । आरुषी १७ वर्षको भएपछि अक्षयकोषको तीन लाख फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक दुई हजार जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताए । बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट सात लाख २० हजार फिर्ता दिने संस्थाले जनाएको छ । सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट १० लाख ४० हजार ऋण लिएका थिए । उनको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताए । कर्जा लिएको रकममध्ये ११ हजार तिरिसकेको अवस्थामा १० लाख २९ हजार कर्जा भुक्तानी गर्न बाँकी नै थियो । जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने चार लाख संस्थाले ऋणमा मिलान गरेको छ । मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले ३० हजार प्रदान गरेको छ । रासस