कामना सेवाको नाफा ९७३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९७३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा १ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा २० करोड एक लाख रुपैयाँ नाफा कमाएको हो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो । बैंकले असोज मसान्तसम्म ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो । बैंकको प्रतिसेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
आरएमडीसी लघुवित्तले तोक्यो बुक क्लोजको मिति, कहिले देखि ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेको छ । संस्थाले आगामी मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको २२औं वार्षिक साधारण सभा आगामी मंसिर २२ गते सोमबार बस्दै छ । उक्त निर्णय कार्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । उक्त सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएकाे छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी सो मात्रा अर्थात १७ करोड ९८ लाख ६४ हजार ६ सय ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ । जसको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपैयाँ बोनस सेयर वितरण गर्ने संस्थाले जनाएको छ । त्यस्तै, बोनस र नगद लाभांशको कर सहित ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाले प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । ८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो ।
कुबेतकाे युएई एक्स्चेञ्जबाट सजिलै इसेवामा पैसा पठाउन सकिने
काठमाडौं । इसेवा मनि ट्रान्सफर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सक्नेछन् । यसका साथै अब कुबेतबाट नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने बताएकाे छ । रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे ।