कामना सेवा विकास बैंकद्वारा लहानका विपन्न परिवारलाई फाइबर सिरक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका–५ का गरिब, दलित तथा अति विपन्न परिवारलाई जाडोयाममा फाइबर सिरक वितरण गरेको छ । बैंकको लहान शाखा कार्यालयमार्फत आयोजित कार्यक्रममा मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीय बासिन्दालाई फाइबर सिरक वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका यस्ता कार्यक्रमले स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । जाडोयाममा आवश्यक सहयोग प्राप्त भएको भन्दै स्थानीय बासिन्दाले बैंकको मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । सिरक वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्षलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

कलश स्टक मार्केटले सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने

काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ ले लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस १९ गतेदेखि २६ गतेसम्म ८ दिनसम्म चल्ने यो तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । सेयर बजारप्रति चासो राख्ने इच्छुक व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् । बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने तालिममा सेयरबजारसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । तालिमका प्रमुख प्रशिक्षकका रूपमा अशोक कुमार शाह रहने कलश स्टक मार्केटले जनाएको छ । तालिममा सहभागी हुन इच्छुकले कलश स्टक मार्केटको आधिकारिक वेबसाइटमार्फत फारम भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदीप के.सी.ले जानकारी दिएका छन् ।

सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण र ज्याकेट वितरण

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 'न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम' अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। वीरेन्द्रनगर क्षेत्रमा केन्द्रित कार्यक्रममा कम्पनीले ५० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको थियो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमका अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गरे। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई प्राथमिकतामा राख्दै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आइरहेको छ।