आइएमई र साउदीको ‘टिक्मो’ बीच डिजिटल रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपालको प्रतिष्ठित रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरबको डिजिटल वालेट ‘टिक्मो’ (TIQMO) बीच डिजिटल कारोबार विस्तारका लागि महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ । साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा साउदीका लागि नेपालकी कार्यबाहक राजदूत सिर्जना अधिकारी लगायत दुवै कम्पनीका उच्चाधिकारीहरूको उपस्थिति रहेको थियो । यो साझेदारीले नेपाल र साउदी अरबबीच एक ‘डिजिटल वित्तीय कोरिडोर’ निर्माण गर्ने लक्ष्य राखेको छ, जसले परम्परागत रकम पठाउने माध्यमलाई आधुनिक र डिजिटल प्रविधिमा रूपान्तरण गर्नेछ । साउदी अरबको ‘भिजन २०३०’ अन्तर्गतको नगदरहित समाज बनाउने अभियान र नेपालको बढ्दो डिजिटल वित्तीय पहुँचलाई यो सम्झौताले थप बल पुर्‍याउने विश्वास लिइएको छ । टिक्मोसँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पनि सुरक्षित र सहज रूपमा नेपालमा रकम पठाउन सुनिश्चितता प्रदान गरेको छ । सम्झौताकै अवसरमा आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ नामक प्रवद्र्धनात्मक योजना पनि सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस योजना अन्तर्गत साउदीमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । टिक्मो साउदीमा अन्तर्राष्ट्रिय रकम ट्रान्सफर र बिल भुक्तानीका लागि लोकप्रिय डिजिटल वालेट हो । विगत २२ वर्षदेखि रेमिटेन्स सेवामा सक्रिय आइएमईले हाल नेपालका ७७ वटै जिल्लामा रहेका १२ हजारभन्दा बढी सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित तवरले रकम वितरण गर्दै आइरहेको छ । यो नयाँ सम्झौताले विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाइलाई आफ्ना आफन्तको हातसम्म पुर्‍याउन अझ छिटो र भरपर्दो माध्यम प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ३० करोड रुपैयाँको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत र २० करोड रुपैयाँको २ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री गरिएको जनाएको छ । कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले बढेर २६४८ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको २५ करोड, एसवाई प्यानलको २३ करोड, रिडि पावरको १४ करोड र बन्दिपुर केबलकारको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  बुधबारको कारोबारमा जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले बढेको छ । बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशतले बढेको छ । व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशतले घटेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।