कामना सेवा विकास बैंकद्वारा २०८३ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आधुनिक प्रविधिलाई मध्यनजर गर्दै बैंकले यस वर्ष क्यालेन्डरलाई डिजिटल माध्यममार्फत उपलब्ध गराएको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि, पर्व तथा शुभ मुहूर्तहरू समावेश गरिएको छ । यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्न बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । उक्त क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन् । बैंकका अनुसार क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसबाट डिजिटल माध्यममा क्यालेन्डर प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । 

फर्स्ट माइक्रोफाइनान्सको सवा ५ करोडको सेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब सवा ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आज फागुन २६ गतेदेखि १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । लघुवित्तका अनुसार उक्त सेयर फागुन २६ गतेदेखि चैत १० गतेसम्म बिक्रीमा रहनेछ ।  अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बिक्रीका लागि प्रतिकित्ता २८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सो मूल्यका आधारमा करिब ५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त संस्थापक सेयरको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मो–बैंक’मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै नजिकको बैंक शाखाबाट समेत आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टिडिएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टी विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमार्फत करसम्बन्धी विवरण मिलान हुने बैंकको भनाइ छ । त्यस्तै बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परे नजिकको बैंक शाखामा गई पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । यसअघि प्यान वा इमेल अद्यावधिक नगरेका ग्राहकले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।