४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम गर्दै नेपाल एसबिआई बैंक

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स : बचत, मनी टक्स’ भन्ने नारासहित बैंकले चैत्र २ देखि ८ गतेसम्म सातै प्रदेशका विभिन्न ४४ स्थानमा विद्यार्थी तथा युवालाई लक्षित कार्यक्रम आयोजना गरेको हो । बैंकका अनुसार आयोजित कार्यक्रममार्फत विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना तथा आधारभूत बैंकिङ र वित्तीय अवधारणाबारे जानकारी प्रदान गरिएको थियो । उक्त कार्यक्रम कोशी प्रदेशका इटहरी, भोजपुर, विराटनगर, बिर्तामोड, इलाम, दमक र फिदिम लगायतका स्थानमा सञ्चालन गरिएको थियो भने मधेश प्रदेशका सिमरा, बर्दिबास, वीरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ र जनकपुरमा पनि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममार्फत देशभर ३ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् । बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्दै युवापुस्तालाई जिम्मेवार आर्थिक व्यवहारतर्फ अभिमुख गराउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

सेयर बजारमा हरियाली, २३ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर २९३१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८३ कम्पनिको सेयर मूल्य बढ्दा ७३ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३६४ कम्पनिको ६ करोड कित्ता सेयर कारोबार हुँदा २३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेसनल हाइड्रोको ७७ करोड, शिवम् सिमेन्टको ७५ करोड, न्यादी गुप्रको ७२ करोड र हिमाल दोलखाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आइतबारको कारोबारमा ६ वटा कम्पनिको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ वटा उपसूचक मध्ये १२ वटाकाे समूह बढेको छ भने व्यापार समूह घटेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा चैत्र ८ गते आयोजित एक समारोहबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी तथा कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व तथा दिवस, पञ्चाङ्ग तिथि र तारिख समावेश गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्गनिर्देशन गर्ने सञ्चालक पदाधिकारी, कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, सेयरधनी, नेपाल बीमा प्राधिकरणलगायत नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना दिएका थिए । उनले आगामी दिनमा कम्पनीलाई अझ सशक्त बनाउँदै नवीन प्रविधिको अधिकतम प्रयोगमार्फत ग्राहक सेवाको गुणस्तर थप प्रभावकारी बनाउने योजना ल्याइने बताए । साथै सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।