एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि हुदै
काठमाडौं । एसईई पूरक परीक्षा साउन २३ गते बुधबारबाट सञ्चालन हुने भएको छ । असार ९ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको हो । गएको वर्ष माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा एक्जाम्टेड समूहबाट परीक्षामा सम्मिलित भई सैद्धान्तिकतर्फ कुनै दुई विषयमा सी, डी प्लस, डी वा इ ग्रेड प्राप्त गरेका वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका अथवा दुई विषयसम्ममा ग्रेड उल्लेख नभएका परीक्षर्थीहरुका लागि बोर्डले उक्त निर्णय गरेको बताइएको छ । बोर्डको अनुसार सो परीक्षामा सम्मिलित हुन चाहने परीक्षर्थीहरुले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को मूल परीक्षाको नियमित तथा एक्जाम्टेड समूहबाटै उपलब्ध गराइएको प्रवेशपत्रको आधारमा आवश्यक प्रक्रिया पूरा अघि बढाउन सक्नेछन् । प्रक्रिया अनुसार सम्बन्धित विद्यालयमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा असार २५ गतेभित्र तोकिएको ढाँचामा फोटो टाँसी आवेदन दिन सूचना प्रकाशित गरिएको छ । बोर्डले भनेको छ, ‘सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले यसै सूचनालाई आधार मानी आवश्यक व्यवस्था मिलाउनु अनुरोध गर्दछौं ।’ थप जानकारीको लागि http://www.neb.gov.np/ राष्ट्रिय परीक्षा बोर्डको वेवसाईट हेर्न सकिनेछ । यस्तो छ परीक्षा सञ्चालनको समय तालिकाः
कोरियन भाषा परीक्षाको नतिजा आयो, ७९९६ जना पास
काठमाडौं । आगामी वर्ष सन् २०१९को लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परीक्षा लिएको थियो । ७ हजार ९९६ जना पास भएको इपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले ७ हजार १०० नेपाली कामदारको कोटा दिएको थियो । कोरियन भाषा परीक्षामा ७४ हजार ८६६ जना सहभागी भएका थिए ।
स्नातकोत्तर तह प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाफल प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com.,www.tu.ntc.net.np मा हेर्न सकिने छ । यस्तै १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस