एसईईपछिका फुर्सदिला विद्यार्थीका लागि ब्रिजकोर्स, आवश्यकता कि फेशन ?

फाइल तस्बिर काठमाडौं । प्रदेश २ बाहेकका अन्य सबै प्रदेशमा एसईईको परीक्षा भर्खरै सकिएको छ । परीक्षा सकिएसँगै ४ लाख भन्दा बढी विद्यार्थी ३ महिनाको लागि फुर्सदिला भएका छन् । परीक्षा सकिएको र परीक्षाको नतिजा आउने समयसम्म फुर्सदिला भएका विद्यार्थीहरुले ब्रिजकोर्स गर्ने योजना बनाइरहेका छन् । कोही साथीको लहैलहैमा त कोही केही सिक्ने आशयको साथ ब्रिजकोर्स कक्षा लिने तयारी गर्दैछन् । परीक्षा र नतिजाबीचको तीन महिना समयको सदुपयोग कसरी गर्ने भन्ने कुरामा अझै पनि धेरै जना अन्योल मै देखिन्छन् । ब्रिजकोर्स नगर्दा आगामी पढाई पो बिग्रिने हो कि भन्ने डर धेरै विद्यार्थीहरुमा छ, यसकारण ईच्छा नभए पनि उनिहरु ब्रिजकोर्स कक्षाहरु लिने गर्छन् । ब्रिज कोर्सलाई आवश्यकता भन्ने कि फेशन, यसबारेमा विभिन्न व्यक्तित्वहरुको मत फरक फरक रहेको छ । के भन्छन् ब्रिजकोर्स संचालकहरु ? ब्रिजकोर्स गर्नु महत्वपूर्ण छ कि छैन, यो विद्यार्थीले छनोट गर्ने बिषयको आधारमा निर्धारण हुन्छ । विभिन्न बिषयमा ब्रिजकोर्स कक्षाहरु संचालन हुने गर्दछन्, जस्तै विज्ञान संकाय, मानविक संकाय र प्राविधिक संकाय । सिटिइभिटी जस्तो प्राविधिक शिक्षा लिनेका लागि भने ब्रिजकोर्स पढ्नु एकदमै आवश्यक रहेको व्हाईट हाउसका प्रमुख कार्यकारी अध्यक्ष रोशन ओझा बताउँछन् । सिटिइभिटीका कलेजहरुमा ४० जनाको लागि मात्र सिट हुने भएकोले पनि ब्रिजकोर्सको आवश्यक रहेको उनी बताउँछन् । त्यस्तै स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीहरुले पनि ब्रिजकोर्स अध्ययन गर्न जरुरी छ। कक्षा १० र कक्षा ११ को पाठ्यक्रम हेर्ने हो भने कक्षा ११ मा ५० प्रतिशत नयाँ कोर्स रहेका छन् । कक्षा ११ का कक्षाहरु ६–७ महिनामात्र संचालन हुने र यो समयमा धेरै विद्यार्थीलाई कसरी पास हुने भन्ने कुराले पिरोल्ने भएर पनि अध्ययनलाई सजिलो बनाउन ब्रिजकोर्सको आवश्यक रहेको ओझाको भनाइ छ । फाइल तस्बिर परीक्षा र नतिजाबीचको तीन महिनाको समय हरेक विद्यार्थीको लागि सुनौलो अवसर भएको उनी बताउँछन् । एसईईपछिको खाली समयलाई विद्यार्थीहरुले खेलेरै कटाइरहेका हुन्छन् तर त्यही समयलाई विद्यार्थीहरुले सदुपयोग गर्न सके उनीहरुको भविष्यमा धेरै ठूलो परिवर्तन आउन सक्छ। यसको लागि ब्रिजकोर्स नै गर्नु पर्छ भन्ने नभएको र यस समयमा विद्यार्थीहरुले आफ्नो रुचीको बिषयहरुमा तालिम पनि लिन सक्ने ओझाले बताए। अभिभावक र विधार्थीहरु यसो भन्छन् ? बानेश्वरमा बस्दै आएकी मिना डंगोल भर्खरै एसईई दिएर बसेको छोरालाई केही सिपको कुरा सिकाउने बताउँछिन् । उनलाई लाग्छ यो समय पाठ्यक्रम अध्ययनको भन्दा पनि आफ्नो भित्री लुकेर बसेको क्षमतालाई अध्ययन गर्ने समय हो । त्यस्तै, धोविघाटमा बस्दै आएकी पुष्पा थापाले आफ्नो छोरालाई एसईई पछी कुनै पार्ट टाइम काममा लगाउने बिचार गरेकी छिन् । उनी आफ्नो छोराले काम, पैसा र समयको महत्व बुझोस् भन्ने चाहन्छिन् । समयसँगै धेरै अभिभावकहरु ब्रिज कोर्स जानै पर्छ भन्ने मान्यता राख्दैनन् । काठमाडौंमै जन्मिएर हुर्किएका, भर्खर एसईई परीक्षा सकाएका चिराग लिम्बुले भने यो खाली समयमा आफ्नो पुर्ख्यौली घर तेह्रथुम जाने विचार गरेका छन् । आफुले यस ३ महिनाको बिदामा आफ्नो ठाउँ, संस्कृतिको बारेमा बुझ्ने उनको योजना छ। त्यस्तै, कक्षा ११ मा अध्ययनरत समीक्षा गिरी भने ब्रिजकोर्स कक्षाले आफुलाई धेरै सहयोग गरेको बताउँछिन् । युनाईटेड कलेजमा विज्ञान बिषय पढिरहेकी उनी कक्षा ११ मा आउँदा ब्रिजकोर्स कक्षाले गर्दा अरुले भनेको जस्तो धेरै बोझ महसुस नगरेको बताउँछिन् । के ब्रिजकोर्स जरुरी हो ? जीवन एउटा निरन्तर सिकाईको प्रकृया हो । पढ्ने र सिक्ने कुरा कहिले पनि सकिदैन । त्यसैले पनि ३ महिनामा ब्रिजकोर्स कक्षा गएर त्यही पाठ्यक्रमको बिषयलाई निरन्तर अध्ययन गर्नुभन्दा पनि विद्यार्थीले आफ्नो रुचीको क्षेत्रमा संलग्न हुँदा यो समय अझ बढी अर्थपूर्ण हुन्छ । यसको मतलब पढेको कुरा पनि बिर्सिने गरी अन्य कुरामा ध्यान दिनु पर्छ भन्ने होइन । यो अवधिमा पढाईमा खासै समस्या नभएका विद्यार्थीले दिनको १-२ घण्टा पढाईमा खर्चन सक्छन् । त्यस्तै पढाईमा कमजोर बिधार्थीले बिहान २ घण्टा र साँझ २ घण्टा आफुलाई बिषयगत अध्ययनमा संलग्न गराए पढाई पछि गएर बोझ बन्ने सम्भावना घटेर जान्छ । किशोर अवस्थामा विद्यार्थीहरु आफुलाई नआएको कुराहरु कक्षामा सोध्न अफ्ठयारो मान्छन् र आफुलाई अरुले के भन्ला भन्ने कुराले पनि उनीहरु पछाडि पर्ने गर्छन् । उनीहरुलाई नजानेको कुरा सोध्न कहिले पनि लाज मानु हुँदैन भन्ने कुरा कसैले सिकाएको हुँदैन । समाजले जहिले पनि अरुलाई जित्नुपर्छ मात्र भन्छ, तर आफुले आफुलाई जित्नुपर्छ भन्ने कुरा कहिले पनि सिकाउँदैन। परीक्षामा राम्रो नम्बर/श्रेणी ल्याउनुपर्छ भन्ने छाप हरेक विद्यार्थीको दिमागमा परेको हुन्छ। जिन्दगी सर्टिफिकेटको मार्क्सको भरमा चल्छ भन्ने गलत धारणाबाट हरेक मानिस माथि उठ्न जरुरी छ। त्यसैले एसईई दिएर बसेका भाई बहिनीहरुले अति आवश्यक छ भने मात्र ब्रिजकोर्स कक्षा लिनुहोस् नभए अन्य नयाँ गतिविधीमा संलग्न भई आफुलाई व्यावहारिक रुपले निखार्ने प्रयास गर्नुहोस्।

अल्फा बिटामा ब्रिज कोर्सको तयारी, चैत २४ देखि कक्षा सञ्चालन

काठमाडौँ । नयाँ बानेश्वर स्थित अल्फा बिटाले यसवर्षको पनि ब्रिज कोर्स सञ्चालन गर्दैछ । एसईई दिएर बसेका विधार्थीहरुको लागि चैत २४ गतेदेखि ब्रिज कोर्स सञ्चालन हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले बताए । साइन्स, म्यानेजमेन्ट, नर्सिङ्ग तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु सञ्चालन हुने प्रेसिडेन्ट तथा सिइओ शर्माले बताए । ब्रिज कोर्समा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुद्वारा करियर काउन्सिलिङ्ग गरिने छ । यसका साथै अल्फा बिटाले हरेक वर्ष ब्रिज कोर्समा विभिन्न अतिरिक्त क्रियाकलाप तथा व्यावहारिक कक्षाहरुमा ध्यान दिने गरेको जानकारी शमाले जानकारी दिए । गत वर्ष अल्फा बिटाबाट ब्रिज कोर्स कक्षा पढेर सेन्ट जेभियर्स गोदावारीमा नाम निकाल्न सफल आर्शिवाद झाका अभिभावकले भने–’ब्रिजकोर्स सुरु गर्नु अघि र पछिमा मैले आफ्नो बाबुमा धेरै भिन्नता पाएँ । पहिले राम्रो पढ्नुपर्छ, मेहेनत गर्नुपर्छ भन्ने भावना त थियो, तर कसरी राम्रो भन्ने हामीलाई पनि खासै थाहा थिएन ।’ अल्फा बिटामा ब्रिज कोर्स गर्दा, विभिन्न व्यक्तित्वहरुको अनुभव र भोगाई सुन्दा, नेपालका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुसँग भेट्दा तथा व्यावहारिक शिक्षाले उत्प्रेरित भएर आफ्नो बाबुमा सकारात्मक सोचको विकास भएको पाएँ–ती अभिभावनले भने । अल्फा बिटा ब्रिज कोर्सबारे बताउँदै शर्माले भने-“अल्फा बिटा ब्रिज कोर्सभनको उत्कृष्ट तयारी कक्षा, सेन्ट जेभियर्स, बुढानिलकण्ठ, एसओएस, ट्रिनिटी, हिमालयन ह्वाईट जस्ता कलेजको नमुना प्रश्नहरुमा आधारित साप्ताहिक परीक्षाका साथै आफ्नो अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा प्रस्तुत गर्ने प्लेटफार्म हो । साप्ताहिक परीक्षा, अतिरिक्त क्रियाकलाप, कलेज भ्रमण, अन्तक्रिया र रोबोट, रोबोटिक्सको बारेमा शिक्षा,आत्मनिर्भर हुने गतिविधिहरु जस्तै सामाजिक बोल, व्यक्तित्व विकास र विभिन्न सफल व्यक्तित्वहरुसँगको अन्तरक्रियाले गर्दा यो १० हप्ताको समयमा विद्यार्थीले नौलो एक्सपोजर पाउने कुरा शर्माले जानकारी गराए ।

अमेरिकाले नेपाली विद्यार्थीसँग लिने भिसा शुल्क घटायो, २ करोड ४० लाख रुपैयाँ बचत हुने

काठमाडौँ । अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको २ सय डलर अब नलिने भएको छ । दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिन गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो । ‘एक महिनाभित्र दूतावासले कार्यान्वयन गर्ने प्रतिबद्धता आज पनि दोहोर्‍याएको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसबाट हाम्रो करोडौँ जोगिनेछ ।’ अब नेपाली विद्यार्थीले अमेरिकी भिसाका लागि एक सय ६० डलर मात्र तिरे पुग्छ । हरेक वर्ष करिब १२ हजार नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका जाने गर्छन् । जसअनुसार कम्तीमा नेपालीको २ करोड ४० लाख रुपैयाँ बचत हुनेछ । गत १ जनवरीदेखि लागू हुने गरी नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता लागू गर्ने निर्णय भएको थियो । यद्यपि, औपचारिक उद्घाटन सोमबार भएको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले सोमबार तीन अमेरिकी पर्यटकलाई पाँचवर्षे बहुप्रवेशी भिसा प्रदान गरेका हुन् । कार्यक्रममा सहभागी काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलर माइकल मोसीले अतिरिक्त शुल्क नलिने प्रक्रिया अघि बढेको र छिटै कार्यान्वयन हुने बताए । नेपाल सरकारले भिसा नलागेको अवस्थामा पनि आवेदन शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, त्यसलाई भने दूतावासले अस्वीकार गरेको छ । भिसाको आवेदन दिनेमध्ये करिब १५ प्रतिशत नेपालीले मात्र अमेरिकी भिसा पाउँछन् । भिसा नलागे पनि शुल्क भने तिर्नुपर्छ । जापानी दूतावासलगायतले भिसा नलागेको अवस्थामा शुल्क फिर्ता गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।