युवा लक्षित हेरचार डटकममा इस्लिंगटन कलेजका विद्यार्थी इन्टर्न गर्दै
काठमाडौं । बिजुली, पानी, फर्निचर, एसी, फ्रिज, रंगरोगन, नेटवर्किङ्ग सम्बन्धी घर तथा कार्यालयहरुमा, मर्मत सम्भार सम्बन्धी कार्य गर्दै आएको हेरचार डटकमले इस्लिंगटन कलेजका आइटी विद्यार्थीहरुलाई इन्टर्नको व्यवस्था गरेको छ । इन्टनको पहिलो व्याजमा प्रमेश घिमिरे तथा बिनिश पौडेल समावेश भएका थिए । युवा जोश अनि केही गर्छु भन्नेहरुको लागि हेरचार सधैं भरपर्दो प्लेटफर्म रहेको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताएका छन् । ‘समस्या हामीलाई समाधान हजुरलाई’ भन्ने मूल नाराका साथ अगाडि बढेको हेरचारले केही गर्छु भन्ने युवाहरुलाई विदेश होइन हेरचार आउनुस संगै केही गरौं भन्ने गरेको भट्टराईले बताए । दृढ इच्छाशक्ति अनि कडा मिहिनेत गर्न सके नेपालमै सुन फ़लाउन सकिन्छ भन्ने विश्वास आफूमा रहेको प्रबन्धकले बताएका छन् ।
पुनः निर्माण शुरु भएको १९ महिनामै सकियो दरबार हाईस्कुलकाे काम
काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको हो । निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एक पटक अनुगमन गर्नुपर्ने र उनहरु माघको तेस्रो साता आउने हुँदा यो महिनाको अन्तिम सातामात्रै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य भइरहेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्नेगरी चीन र नेपालका गरी दैनिक १ सय कामदारले काम गरी सम्पन्न गरेका हुन् । ८५ करोड रुपैयाँको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले र ४० कक्षाकोठाको छ । उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताए। “माघ अन्तिम साता सरकारलाई हस्तान्तरण हुन्छ”, उनले भने । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त हाई स्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाईस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताए । भूकम्पअघि उक्त भवनमा भानुमावि र संस्कृतमावि दुबै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३ सयमात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले बाल्मिकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे । पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५ सय विद्यालयमा क्षति पुगेको थियो । रासस
नेपाल इन्जिनियरिङ कलेजद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शोधक्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भएको हो । प्रतियोगितामा सम्राट पराजुली, पवन राइन, किशोर पाठकको समूह पहिलो र सुदीप रिजाल, जनक परियार तथा सविना चालिसेको समूह दितीय रहेका थिए । २००८ मा स्थापित कार्डद्वारा टेक्नोलोजिकल हाजिरीजवाफ प्रतियोगिता जिजासु ३.०, एप्लाइड रिसर्च तथा इनोभेसनमा जान तथा शिप विकास गर्नका निम्ति सञ्चालन गरिएको छ । कार्ड परिवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको छ । इन्जिनियरिङ पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई इन्जिनियरिङ क्षेत्रबाट सहजीकरा गर्ने उद्देश्यले कार्ड स्थापित गरेको आशुतोषमणि त्रिपाठीले बताए । यही उद्देश्य अनुसार कार्डबाट समाजका लागि विभिन्न कामहरु गर्न सफल भएको अर्का विद्यार्थी सचेत जमरकटेलले उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ साथै एनवाईसीए युथ नेटवर्क रहेका थिए । कार्यक्रममा विभिन्न इन्जिनियरिङ विधाका प्रतियोगीहरुमाझ इन्जिनियरिङ इनोभेसन क्षेत्रमा मैत्रीपूर्ण वादविवाद भएको थियो ।