केयुको उपकुलपतिका लागि १० जनाको नाम छनोट
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदका लागि दरखास्त दिएका १० जना उम्मेदवार छनोटमा परेका छन् । नाम सिफारिस गर्न गठित सिफारिस तथा छनोट समितिले अन्तिम चरणका लागि १० जनाको नामा सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको सूचनाअनुसार त्यागराज पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास न्यौपाने, भीमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शोभानन्द सञ्जेल, सुयोध शर्मा र हरि प्रसाद न्यौपानेको नाम छनोट गरिएको हो । छनोटमा परेका १० जनाको भदौ २१ र २२ गते अन्तवार्ता हुने जनाइएको छ । जसमा २१ गते त्यागराज पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास न्यौपाने र भीमप्रसाद श्रेष्ठको अन्तर्वार्ता हुनेछ भने २२ गते दिउँसो १ बजेदेखि राजेन्द्र जोशी, विवेक बराल, शोभानन्द सञ्जेल, सुयोध शर्मा र हरि प्रसाद न्यौपानेको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तय गरिएको छ ।
नेपाल–मंगोलिया सहकार्य विस्तारमा जोड, विद्यालय तहमा चेस प्रवर्द्धन गर्ने सहमति
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–मंगोलिया सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय तहमा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको हो । भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले दुवै देशबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए । उनले विद्यालय शिक्षासँग खेलकुदलाई प्रभावकारी रूपमा जोड्ने नीति अघि बढाइएको उल्लेख गर्दै चेस खेलको विकासका लागि मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । मन्त्री पोखरेलले नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए । पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीच धेरै समानता रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदमा सहकार्यको सम्भावना प्रशस्त रहेको बताए । उनले चेस केवल खेल नभई विद्यार्थीको बौद्धिक विकास, विश्लेषण क्षमता, निर्णय गर्ने सीप र समस्या समाधान गर्ने दक्षता बढाउने प्रभावकारी माध्यम भएको बताए । मंगोलियाले विद्यालय शिक्षामै चेसलाई सफलतापूर्वक समावेश गरेको अनुभव साझा गर्दै उनले नेपालसँग पनि त्यस अनुभव आदानप्रदान गर्न र आवश्यक सहयोग गर्न मंगोलिया तयार रहेको बताए । भेटमा विद्यालय शिक्षामा चेस खेललाई प्रवर्द्धन गर्दै दुवै देशबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत सहमति भएको मन्त्रालयले जनाएको छ ।
‘बिल्ड नेपाल ह्याकाथन’मा ‘इनोभिजन’ विजेता, बाँदर आतंक रोक्ने प्रविधिले जित्यो उपाधि
काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ मा ‘इनोभिजन’ टोली विजेता बनेको छ । टोलीले ग्रामीण क्षेत्रमा बाँदर आतंकबाट बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार जितेको हो । दुईदिने ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ टोलीले उत्कृष्ट प्रदर्शन गरेको आयोजकले जनाएको छ । यस्तै, यातायात क्षेत्रलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित बनाउने अवधारणा प्रस्तुत गरेको ‘सेन्टिनाज’ टोली रनरअप बनेको छ । मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजित ह्याकाथनमा २१ टोलीका ६० भन्दा बढी युवाको सहभागिता थियो। सहभागीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड प्रविधिमा आधारित समाधान विकास गरेका थिए । प्रतियोगितामा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा, पर्यटन, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रलगायत विषयमा नवीन परियोजनाहरू प्रस्तुत गरिएको थियो । कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले विद्यार्थीका नयाँ सोच र सिर्जनशीलतालाई व्यवहारमा उतार्ने अवसरका रूपमा ह्याकाथन सफल भएको बताइन् । उनले यस्ता कार्यक्रमले युवाका आइडियालाई समाजसम्म पुर्याउन सहयोग पुग्ने उल्लेख गरिन् । बीआईटी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपमा रूपान्तरण गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताए । उनले एआईमा आधारित परियोजनाको संख्या उल्लेखनीय रहेको भन्दै नेपालको शिक्षा प्रणालीमा पनि एआईलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने धारणा राखे । निर्णायक तथा टेक उद्यमी साजन शर्माले विद्यार्थीका परियोजना गुणस्तरीय रहेको बताए । उनले नयाँ प्रविधिसँग आफूलाई अद्यावधिक राख्न युवालाई आग्रह गरे । आईएमई खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले कुनै पनि समस्याको वास्तविक कारण पहिचान गरेर मात्र दिगो समाधान सम्भव हुने बताए । उनले विद्यार्थीलाई फरक ढंगले सोच्न र नवप्रवर्तनमा निरन्तर लाग्न सुझाव दिए । ह्याकाथनमा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए । अन्तिम चरणमा प्रस्तुत परियोजनाको मूल्याङ्कन साजन शर्मा, मनिष खेम्का र अमित अग्रवालले गरेका थिए । मिड–भ्याली इन्टरनेसनल कलेजका अनुसार ह्याकाथनको उद्देश्य युवा नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपालका वास्तविक समस्याको प्रविधिमार्फत समाधान खोज्नु हो ।