प्रिमियर इन्स्योरेन्सको साधारणसभा चैत २६ मा, साढे १३ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २४ औं साधारणसभा चैत २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै बोनस सेयरको कर प्रयोजनका लागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा चैत २८ मा, सेयरधनीलाई दिने ७०.५३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा चैत २८ गते वीरगञ्जमा हुने भएको छ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरिएको ७०.५३ प्रतिशत लाभांश स्वीकृत गर्नेछ । कम्पनीले ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।कम्पनीले ८८ करोड ३२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । सभाले अधिकृत पूँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्ने जानकारी नेपाल लाइफले दिएको छ । चुक्तापुँजी बढ्ने भएपछि अधिकृत पूँजी बढाउने तयारी नेपाल लाइफको छ । कम्पनीमा संस्थापक सेयर घटाउने प्रस्ताव सभाले पारित गर्ने भएको छ । हाल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्वलाई परिवर्तन गरी ६० र ४० बनाइने नेपाल लाइफले जनाएको छ ।
७० प्रतिशत लाभांशले नेपाल लाइफ इन्स्योरेन्समा लगानीकर्ता झुम्मिए, सबैभन्दा बढी कारोबार
काठमाडौ । सेयर बजारमा गत साता १ अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७.९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता सेयर १ अर्ब ७९ करोड ४७ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४.२७ अंकले बढेर अन्तिम दिन १ हजार२८८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३२ अंकले बढेर २७४ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको ८ करोड २० लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा जनता बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको १ लाख ६७ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । रासस