सबैभन्दा बढी कर तिर्ने बीमा व्यवसायमा नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । बीमा व्यवसायतर्फबाट नेपाल पुनर्बीमा कम्पनीले यस वर्ष राज्यलाई सर्वाधिक कर बझाएको छ । नेपाल सरकारले सातौँ राष्ट्रिय कर दिवसको अवसरमा यस कम्पनीलाई सम्मानित गरेको हो । सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए । सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ ।

कैलाश विकास बैंकबाटै जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौं । अब जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जिआईसी नेपाल)को निर्जीवन बीमा सेवा सुबिधा कैलाश विकास बैंकबाट पाइने भएको छ । मंगलबार दुई संस्थाबीच उक्त बैंकास्योरेन्स सेवा दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात अब बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका जुनसुकै शाखा कार्यालयबाट लिन सक्नेछन् ।

सानिमा लाइफले ल्यायो ‘सानिमा जीवन श्री’ योजना, बीमाङ्कमा ७० रुपैयाँ बोनस पाइने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले “सानिमा जीवन श्री” नामक नयाँ जीवन बीमा बजारमा ल्याएको छ । इन्स्योरेन्सले कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत जीवन बीमा गर्दा पुरा बीमा अवधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । योजनाको बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष र बीमा अवधि १०, १५, २० र २५ वर्ष निर्धारण गरिए कम्पनीले जनाएको छ । सो योजनामा न्यूनतम बीमाङ्क ५ लाख रुपैयाँ र अधिक्तम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ । कम्पनीले १६ वर्षदेखि अधिकक्तम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिक्तम २५ वर्ष रहेको छ । बीमाङ्क रकम भुक्तानी दिने अवस्था बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमा लेखको शर्तहरुको अधिनमा रही प्रत्यक वर्ष पुरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ । प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एकमुष्ट प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क प्रदान गरिने छ ।