चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब २१ करोड, कसले कति कमाए ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (कात्तिक महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले ६२ अर्ब माथिको व्यवसाय आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन कम्पनीहरूले १ करोड १४ लाख ९० हजार ४६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले कार्त्तिक महिनामा मात्रै ३ लाख १८ हजार ४०६ वटा बिमा पोलिसी जारी गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कार्त्तिक मसान्तसम्ममा सबैभन्दा व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले चार महिनाको अवधिमा १७ लाख ९ हजार ५२० पोलिसी बिक्री गरी १७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा नेशनल लाइफले १३ लाख ५३ हजार १८ पोलिसी बिक्री गरेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ कर्पोरेशन (एलआइसी नेपाल) ले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कार्त्तिक मसान्तसम्ममा हिमालयन लाइफले ५ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, मेट लाइफले २ अर्ब ९ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
शरद् ओझा प्रकरणमा सर्वोच्चको ‘आदेशअनुसार गर्न सरकारलाई पत्र
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएकाले त्यसअनुसार गर्न सरकारलाई पत्र काटेको छ । अदालतले मंसिर ७ गते नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा आदेशको प्रतिलिपिसहित म्याद जारी गर्दै भदौ २३ गते सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले ‘आदेशअनुसार गर्न हुन’ भनेको हो । अदालतले अन्तरिम आदेश छलफलका लागि मंसिर १६ गते उपस्थित हुनुपर्ने उल्लेख गरेको छ । सर्वोच्चले जारी गरेको म्याद सूचनामा ‘यसमा के कसो भएको हो ? निवेदक माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न’ भनिएको छ । गत भदौ २३ गते सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेश जारी भएपनि उक्त दिन देशभर जेनजी पुस्ताले गरेको आन्दोलनको कारण सर्वोच्च अदालत, सिंहदरबार लगायतका निकायमा आगजनी भएको थियो । असोज १ गते ओझा सर्वोच्चको पत्र लिएर बीमा प्राधिकरण हाजिर गर्न पुगेका थिए । अर्थमन्त्रालयले भने ओझालाई अध्यक्षको हैसियतमा काम नगराउन पत्र काटेको थियो । २०८१ फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्ति भएदेखि नै उनी विवादित बन्न पुगेका थिए । योग्यता नै नपुगी झुटो कागजात पेश गरेर अध्यक्ष बनेको भन्दै अख्तियारमा उजुरी परेको थियो । २०८२ असार ३० गतेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष ओझाबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका थिए ।
मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा
काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले निरन्तर आर्थिक सुरक्षा र सहयोग प्राप्त गर्नेछन्, जसले खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ खेलमा केन्द्रित रहन मद्दत गर्नेछ । गत वर्षभरि राष्ट्रिय टोलीका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय टूर्नामेन्टहरूमा दृढ आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्वपूर्ण आधार बनेको थियो । मेटलाइफको यो नवीकरण विशेष अर्थपूर्ण क्षणमा आएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आगामी आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले राष्ट्रको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाका लागि तयारीरत टोलीको मनोबल मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ । क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भने, 'मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ । खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।' मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मल काजी श्रेष्ठले भने, 'हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले राष्ट्रलाई प्रेरित गर्ने प्रत्येक प्रदर्शनमा हामी उनीहरूको सुरक्षा कवच बनेर साथ दिन पाउँदा गर्वान्वित छौँ । टोली आगामी ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको विश्वासिलो सुरक्षा साझेदार बनेर उभिएको छ । किनकि जब हाम्रा खेलाडीहरू निडर हुन्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।'