नेपाल पुनर्बीमाको नाफामा ८.५० प्रतिशत गिरावट, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ८.५० प्रतिशत घटेको देखिन्छ ।  गत वर्ष कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  गत असारसम्ममा कम्पनीले ७ अर्ब ५४ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ७६ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  गत वर्ष कम्पनीले १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेर ११ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेर अर्ब ६६ करोड ८४ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ८.४३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्षका असारसम्म ७.७१ रुपैयाँमा सीमित छ । कम्पनीको मूल्य आम्दानी अनुपात १६३.३४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५२.९४ रुपैयाँ छ ।

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्ने

काठमाडौं । जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार (हिजो) गरेको निर्णयअनुसार बीमा कम्पनीहरूलाई सो सम्बन्धी निर्देशन जारी गरेको हो । प्राधिकरणका अनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम एउटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्नेछ ।  त्यसैगरी, आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीको अनुसूची–७ बमोजिम नवीकरण दस्तुर  १ हजार रुपैयाँ तथा नियमन दस्तुर ५०० गरी जम्मा १ हजार ५०० रुपैयाँमात्र लाग्ने प्राधिकरणले जनाएको छ । बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र अनुसूची–७ बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँमात्र भुक्तानी गरी निवेदन पेस गर्न सक्नेछन् ।  बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते कम्पनी सञ्चालक समितिको बैठकले  बराललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले सञ्चालक पदमा संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।