ज्योति लाईफ इन्स्योरेन्सको बीमा कोष ३०५ प्रतिशतले वृद्दि, बीमा शुल्क साढे २७ करोड नाघ्यो
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले गत तीन महिनामा जीवन बीमा कोष ३०५ प्रतिशतले वृद्दि गरेकाे छ । इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीकाे जीवनबीमा कोषमा ९१ करोड ४६ लाख रुपैयाँ रहेकाे छ । इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बीमा शुल्क १२४ प्रतिशतले वृद्धि गरी २७ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । साथै, कम्पनीले दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७ प्रतिशतले वृद्धी गरेको छ । त्यस्तै, इन्स्योरेन्सका अनुसार कम्पनीले असोजसम्ममा नाफामा २५ प्रतिशतले वृद्धी गर्दै ३ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले पहिलो त्रैमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले वृद्धी भइ २४ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । जीवनबीमा कोष ३०५ प्रतिशतले वृद्दी भइ ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बीमा कोषलाई लिइन्छ । जसको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनसदर आकर्षक हुन गई आगामी दिनमा ज्योति लाइफका बीमितहरु लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको पछिल्लो दुइ वर्षको तथ्याङ्क हेर्दा जीबन बीमाको पहुँच करिब २० प्रतिशतको जनसंख्यामा पुगेको देखिन्छ । दुइ वर्षको अवधिमा बीमालेख लिनेको संख्या दोब्बरभन्दा बढीले वृद्दी भएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको कार्यकाल थपियो
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।
युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता शेयर बिक्री खुला गर्यो
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो । इन्स्योरेन्स कम्पनीको संचालक समितिको निर्णय अनुसार संस्थापक समूह तर्फको सेयर खरिद गर्न चाहने व्यक्ति तथा संघ संस्थाहृले मंङ्सिर १७ गते ३ बजेसम्म शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । शिलबन्दी बोलपत्र मंसिर १० गते देखि ढिलोमा मंसिर १७ गतेसम्म पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।