हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने, आईआरडीएआईले दियो स्वीकृति

काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो । हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुला भएको हो । स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ । त्यस्तै, भारतमा व्यवसाय गर्न स्वीकृति पाएसँगै कम्पनीले पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ ।

हिमालयन रिको सेयरमा झुम्मिए लगानीकर्ता, एक्लैको पौने दुई अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बिहीबार मात्रै कम्पनी एक्लैको पौने २ अर्ब बढी अर्थात एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यससँगै सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि रहेको छ । त्यसैगरी, कारोबार र कारोबार संख्याको आधारमा पनि हिमालयन रि शीर्ष स्थानमा नै देखिएको छ । दिनभरमा कम्पनीको एक लाख ५४ हजार ०११ पटकको कारोबारमा कूल ३० लाख ४४ ह जार ७०२ कित्ता सेयर किनबेच भएको छ । बिहीबार हिमालयन रिको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ६५३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८.४४ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता १०३.५ रुपैयाँको उतारचढाव देखिएको छ । बिहीबार कम्पनीको सेयर न्यूनतम ५५८ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा किनबेच भएको देखिन्छ । दोश्रो बजारमा प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य दैनिक बढेर प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा कारोबार भएको छ । समग्रमा बिहीबारको बजारमा कूल ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । त्यस्तै, नेप्से परिसूचक पनि ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा झरेको छ । घटेको बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको १० १० प्रतिशतले र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित

काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको भन्दै नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक) लाई सम्मान गरेको हो । त्यस्तै, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (साबिकको एनबी इन्स्योरेन्स) लाई इप्पानले सम्मान गरेको हो । त्यसैगरी, आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी सम्मानित भएको छ । ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मानित कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् । त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ । त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७।५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीत बहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो । कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।