हिमालयन रिले २० अर्ब पुँजी पुर्‍याउन ८० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्‍याउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्‍याउन सर्कुलर जारी गरेको थियो । पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनभित्र योजना पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो । सोही बमोजिम हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी पुर्‍याउने योजना बनाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्‍याउने योजना कम्पनीको छ । कम्पनीले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते राष्ट्रिय सभा गृह काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट रिक्त पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सीईओसहित १५ जनाले छोडे प्रभु महालक्ष्मी लाइफ, भट्टराई नयाँ कम्पनी खोल्दै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५ जनाले स्वेच्छिक अवकास (भीआरएस) सुविधाका लागि आवेदन दिएका छन् । माघ २५ गतेसम्म खुला गरिएको भीआरएसका लागि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जनाले आवेदन दिएको कम्पनी स्रोतले जनाएको छ । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई गत असार २९ गते एकीकृत गरेका थिए । तर, मर्ज भएको ७ महिनामै साविक महालक्ष्मी लाइफका उच्च व्यवस्थापकहरू बाहिरिएका हुन् । स्रोतका अनुसार भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी हुन् । ‘दुई जना डीसीईओ र कर्पाेरेट डिपार्टमेन्ट हेडहरूले भीआरएसका लागि आवेदन दिनु भएको छ, भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी हुन्, एक/दुई जना कर्पाेरेट हेड बाहेकका कर्मचारी पनि छन्,’ स्रोतले भन्यो । भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी भएकाले मर्जरपछि कम्पनीमा ठूलो खटपट भएको बुझिएको छ । सीईओ भट्टराई र सञ्चालक समितिबीच खटपट भएपछि भट्टराईसहित उनी निकट सबै कर्मचारी बाहिरिएका हुन् । स्रोतका अनुसार सीईओ भट्टराईले सबै कर्मचारीलाई भीआरएस सुविधा लिन दबाब दिएका हुन् । भट्टराईले आफैंले नयाँ कम्पनी खोल्न लागेकाले सबैलाई भीआरएस लिन भनेको स्रोतको भनाइ छ । कम्पनीका अनुसार जागिरको अवधि हेरेर १८ महिनासम्मको तलब बराबर भीआरएस सुविधा पाउने छन् । टर्म अनुसारको डिप्रिसेसन दिने र तलब सुविधा पाउने स्रोतको भनाइ छ । तर, सीईओ भट्टराईले भने १३ महिनाको तलब र सवारी साधन पाउने छन् । ‘१८ महिनासम्मको तलब पाउने छन्, सिनियरलाई धेरै र जुनियरलाई धेरै सेवा दिइएको छैन, सबैलाई एउटै भीआरएस सुविधा प्रदान गरिएको हो, सीईओका लागि सञ्चालक समितिले भीआरएस ल्याएको हो, अन्य कर्मचारीका लागि व्यवस्थापन समूहले ल्याएको हो,’ उनले भने । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएस सुविधा ल्याइएको हो । ‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो, दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए, धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ, त्यसैले भीआरएस सुविधा खुला गरिएको हो,’ उनले भने ।

हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।