सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको आधारमा केही एजेन्सी म्यानेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ । छनोट भएका सिनियर एजेन्सी मेनेजरहरुको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको थियो । यस्तो कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरुलाई तालिम प्रदान गरिएको छ । साथै यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि संचालन गरेको थियो । उक्त तालिममा गैरकानुनी आम्दानी र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

बीमा शुल्क आर्जनमा सलिको आक्रामक, सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्सबीच प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामै निर्जीवन बीमा कम्पनीहरूले सवा ४ अर्ब रुपैयाँ बरबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । साउनमा बीमा कम्पनीहरूले २ लाख २१ हजार ७१ वटा बीमा लेख जारी गरेका छन् । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले २४ हजार २३ वटा बीमा लेख जारी गरेर ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ हजार ११ वटा बीमालेख बिक्री गरेर ४५ करोड ३२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २६ हजार १०९ बीमालेख जारी गरेर ३६ करोड ८८ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ हजार ७०७ वटा बीमालेख बिक्री गरेर ३२ करोड ६० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २१ हजार ७०७ वटा बीमालेख जारी गरेर ३१ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १६ हजार ४८५ बीमालेख बिक्री गरेर ३० करोड ६२ लाख रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले ३ हजार ९०९ वटा बीमालेख बिक्री गरेर २९ करोड १० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १४ हजार ५८० बिक्री लेखवापत २८ करोड ८६ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ हजार २२९ वटा बीमालेख वापत २५ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । यूनाइटेड अजोड इन्स्योरेन्सले १३ हजार ८२५ वटा बीमालेख बिक्री गरेर २५ करोड ४१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १६ हजार २२२ वटा बीमालेख जारी गरेर २४ करोड ९८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ हजार ८२१ बीमालेख बिक्री गरेर २२ करोड ७६ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ९ हजार ८९५ बीमालेख जारी गरेवापत १८ करोड ३९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स १० हजार ५४८ वटा बीमा लेख जारी गरेर १० करोड ५४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कारोबार सुरू गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सातौं वार्षिकोत्सव बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरू गरी मनाएको छ । जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ गरी वार्षिकोत्सव मनाएका छन् । कम्पनीले करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्‍याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।