मेटलाइफको एपमा क्यामेरा प्रयोग गरी स्वास्थ्य अवस्था बुझ्न सकिने
काठमाडौं । मेटलाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ्य अवस्था बारे बुझ्न सकिने भएको छ । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा सुरु गरेको घोषणा गरेको हो । यो विशेष अफर, सेप्टेम्बर २०२४ को अन्त्य सम्म उपलब्ध छ, जसले एपमा दर्ता गर्ने जो कोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमा आफ्नो स्वास्थ्य जाँच गर्न दिने कम्पनीले भनेको छ । ‘यो आकर्षक सुविधा सरल र प्रयोग गर्न सजिलो छ । फोनको क्यामेरा प्रयोग गरेर, एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू प्रदान गर्दछ’, कम्पनीको जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्पूर्ण प्रक्रियाले एक मिनेट भन्दा कम समय लिन्छ र सही नतिजाहरूको साथ प्रयोगकर्ताको स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्नको लागि एक सुविधाजनक तरिका प्रदान गर्दछ ।’ यो सेवा पहुँच गर्नका लागि, प्रयोगकर्ताहरूले केवल वान बाइ मेटलाइफ एप डाउनलोड गरेर दर्ता गर्नुपर्छ । दर्ता गरेपछि, प्रयोगकर्ताहरूले लगइन गर्न सक्छन् र निः शुल्क स्वास्थ्य जोखिम मूल्यांकन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६०हेल्थ आइकनबाट छनौट गरेर प्रयास गर्न सक्ने कम्पनीको दाबी छ ।
बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधि जारी, ५ सदस्यीय समिति रहने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधि, २०८१ जारी गरेको छ । प्राधिकरणले जारी गरेको कार्यविधिअनुसार विवाद समाधानका लागि एक समिति रहने छ । प्राधिकरणका अध्यक्षको संयोजकमा ५ सदस्यीय मेलमिलाप तथा मध्यस्थता समिति गठन गर्ने कार्यविधिमा उल्लेख छ । जसमा संयोजकका रूपमा प्राधिकरणका अध्यक्ष रहने छन् भने अन्य चार सदस्यमा कार्यकारी निर्देशक, कानुन तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखा प्रमुख र अध्यक्षले तोकेको एक जना उजुरी शाखाको अधिकृत सदस्य सचिवको रूपमा समितिमा रहने छन् । सो समितिले विवादहरूको निरूपण गर्नेछ । पूर्णपाठः [pdf id=507578]
बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् । मन्त्रालयमा मंगलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयको रहेको बताए । उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताए । उनले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरे । लगानी दशकमा के-के काम गर्ने, १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ ? भन्नेबारेको योजना चाँडै सार्वजनिक गर्ने पनि बताए । उनले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गरे । उनले मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेको बताए । यस वर्षभित्रै सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि सुरु गर्ने योजना रहेको बताए । मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने बताए । नागरिकताको प्रतिलिपि नलगी १० किलो मल नपाइने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न मन्त्रालय लागिरहेको बताए ।