नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘एक्सेल एण्ड इलिभेटु भन्ने नाराका साथ तीन दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गदै अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । उनले देशै भरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेका थिए । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।

क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन प्राधिकरणबाट स्वीकृत

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । साथै नेपाल बीमा प्राधिकरणण्ले कम्पनीको बीमाङ्किय मूल्याङ्कन पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक बर्ष २०८०÷८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो । बीमा कम्पनीको अर्थिक अवस्था कस्तो छ भनि बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ ।

प्रभु महालक्ष्मी लाइफको नाफामा २५.७४ प्रतिशत छलाङ, यस्ता छन् अन्य सूचक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २५.७४ प्रतिशत बढी नाफा गरेको हो । गत असोजसम्म कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत बढेको हो । तीन महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२.२७ प्रतिशत बढेर १ अर्ब १५ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत बढेर १ अर्ब ५७ करोड ८१ लाख रुपैषँ गरेको छ भने कुल खर्च १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ कुद खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ, सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोष ६.९६ प्रतिशत बढेर ९ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४.८९ प्रतिशत घटेर ६२ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटी १७ करोड ५२ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ बढेर १०.६९ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ५३.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ ।