राष्ट्रिय बीमा कम्पनीले १६ गतेदेखि अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरूको लागि कम्पनीले ३ दिवसीय तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीका अनुसार तालिम मसिंर १६ गतेदेखि १८ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । तालिमको शुल्क एक हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तालिमका लागि निवेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि हुन आवश्यक रहेको जनाइएको छ । संस्थाको हकमा कुनै एक सञ्चालकले तालिम लिनुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । तालिम कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ ।

नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । साथै स्किमा व्यवस्था भएअनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । साथै यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको र छिट्टै नै अन्य प्रदेशहरूमा पनि गरिने जानकारी दिइएकाे छ । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभिकर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे । कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडिने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका सबै उम्मेदवार ‘फेल’

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका सबै उम्मेदवार अनुत्तीर्ण भएका छन् । सीईओका लागि दरखास्त दिने उम्मेदवारहरूले न्यूनतम अंक पनि प्राप्त गर्न नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएका हुन् । उम्मेदवारहरूले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशत अर्थात ३० नम्बर पनि ल्याउन नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएका हुन् । शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले ल्याउने उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाकी प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत ल्याउन नसकेपछि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गर्न नसकिएको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले जनाएको छ । कम्पनीले असोज १६ गते सीईओका लागि आवेदन खुलाएको थियो । सीईओ बन्नका लागि ४ जनाले आवेदन दिएका थिए । सीईओ बन्नका लागि महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले आवेदन दिएका थिए । जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । यसैगरी, कोइराला सोही कम्पनीको सल्लाहकार भएर काम गरिसकेका व्यक्ति हुन् भने श्रेष्ठ सोही कम्पनी (तत्कालीन बीमा संस्था)को यसअघिको प्रशासक पदका लागि सर्ट लिस्टमा परेका थिए । सर्टलिष्टमा ३ जना परेका थिए, जहाँ उनको नाम पनि थियो । तत्कालीन बीमा संस्थान गत वर्ष कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएको एक वर्षपछि कम्पनीले सीईओको लागि आवेदन खुलाएको हो । एक वर्षसम्म कम्पनीको व्यवस्थापकीय नेतृत्व कार्यवाहकको रूपमा रिमालले सम्हालिरहेका छन् । रिमाल चार्टर्ड एकाउन्टेन्ट समेट हुन् । उनी विगत २ दशकभन्दा बढी समयदेखि सोही कम्पनीमा आवद्ध छन् ।