नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरू सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा सुदुर पश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी यस प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिए सँगै सीइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी जनाउने सबै अभिकर्ताहरूलाई धन्यावाद तथा बधाई ज्ञापन गरे। उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुसरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको बताए ।
कर्मचारीको निःशुल्क बीमा गरिने
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले कर्मचारीको निःशुल्क बीमा गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेको हो । नगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिसकेको छ । नगर प्रमुख मोहन प्रसाद बस्नेतले एक सूचना जारी गर्दै भनेका छन्, ‘नागार्जुन नगरपालिकाको निःशुल्क स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत भएको सन्दर्भमा राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नागार्जुन नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नागार्जुन नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य बीमा गरिने भएकोले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’
९ प्रतिशत बीमाशुल्क सरेण्डर, प्राधिकरणले जनचेतना जगाउन नसकेको अभिकर्ताको आरोप
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ । चालु आवको कार्तिक मसान्तसम्म ३५ हजार ९८५ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् । अर्थात् बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको ९ प्रतिशत रकम सरेण्डर भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कार्तिक मसान्तसम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका थिए । उक्त बीमाशुल्कको ९.०४ प्रतिशत रकम अर्थात् ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ सरेण्डर भएको प्राधिकरले जनाएको छ । प्राधिकरणका अनुसार सरेण्ड भएर सबैभन्दा धेरै रकम लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)बाट बाहिरिएको छ । एलआईसीबाट १० हजार ४८ जना बीमितले १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बढीको सरेण्डर हुँदा नेपाल लाइफ इन्स्योरेन्सबाट १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बढीको सरेण्डर भएको छ । नेपाल लाइफका ८ हजार ४०८ जना बीमितले सरेण्डर गरेका छन् । यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३ हजार ८७५ जना बीमितले सरेण्डर गर्दा ३७ करोड ४१ लाख, नेशनल लइफबाट १ हजार ९७९ जना बीमितले सरेण्डर गर्दा २९ करोड ३१ लाख, , एशियन लाइफका २ हजार ६२३ जना बीमितले सरेण्डर गर्दा २७ करोड ९६ लाख, सूर्यज्योति लाइफका १ हजार ९१० जना बीमितले सरेण्डर गर्दा २३ करोड ११ लाख, हिमालयन लाइफका २ हजार ४९८ जना बीमितले सरेण्डर गर्दा २२ करोड र मेट लाइफका १ हजार २४५ जना बीमितले सरेण्ड गर्दा १३ करोड रुपैयाँ बाहिरिएको छ । कुन कम्पनीबाट कति सरेण्डर ?सरेण्डर रोक्न के गर्ने ? पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारप्रसाद अधिकारीले पछिल्लो समय भएको सरेण्डरलाई लिएर चिन्तित भएको बताए । उनले सरेण्डर हुने स्वाभाविक प्रक्रिया रहेको भएतापनि पछिल्लो समय अत्यधिक सरेण्डर भएकोमा आफू चिन्तित भएको उल्लेख गरे। उनले पछिल्लो समय सरेण्डरको ग्राफ बढ्नुको मूख्य कारण आर्थिक मन्दि भएको बताए । आर्थिक मन्दीका कारण मानिसहरूमा देनिकी चलाउन रकम अभाव हुने गरेको र सरेण्डर गरेको अध्यक्ष अधिकारीको भनाइ छ । सरेण्डर हुनुको अन्य कारणहरूमा अस्वथ्य प्रतिस्पर्धा र जनचेतनाको अभाव रहेको उनको दाबी छ । उनका अनुसार अभिकर्ताले पनि कुनै एक कम्पनीमा बीमा गरेका व्यक्तिलाई आफ्नो कम्पनीमा तान्न उक्त कम्पनीबाट बीमा सरेण्डर गर्न प्रोत्साहन गरेको हुनसक्ने उनले आँकलन गरे । ‘अर्को कम्पनीका बीमितलाई आफ्नो कम्पनीमा तान्न अभिकर्ताले नै सरेण्डर गराउन लगाएको अवस्था पनि हुन सक्छ,’ अध्यक्ष अधिकारीले भने, ‘आफ्नो कम्पनीमा बीमा गर्दा फाइदा रहने तर्क दिएर अन्य कम्पनीबाट बीतिलाई सरेण्डर गराएको पनि हुनसक्ने मेरो आँकल छ ।’ यसका साथै उनले बीमितहरूमा जनचेतनाको अभावका कारण पनि सरेण्डर बढेको उनको भनाइ छ । बीमितलाई बीमाको बारेमा राम्रोसँग बुझाएमा सरेण्डर केही हदसम्म कम हुने उनको धारण छ । अध्यक्ष अधिकारीले प्राधिकरणले बीमासम्बन्धी जनचेतनामा प्रभावकारी कार्य नगरेको भन्दै उनले बीमा भविष्यका लागि टेक्ने लौरीको रूपमा मानिसलाई चेतना जगाउनुपर्ने बताए । उनका अनुसार प्राधिकरणले दिने जनचेतनाका कार्यक्रमहरू अझै प्रभावकारी बनाउनु पर्छ । यसका साथै विभिन्न टुल्सको प्रयोग गरेर चेतना विस्तार गर्नु पर्छ । अध्यक्ष अधिकारीले भने, ‘प्राधिकरण त्यति धेरै फण्ड भएको नियामक हो । जसले विभिन्न रेडियो, टेलिभिजन, सडक नाटक, पत्रपत्रिका लगायत माध्यमबाट चेतना जगाउँदा राम्रो हुन्थ्यो । यो विषयमा प्राधिकरणले खर्च गर्नुपर्यो ।’ प्राधिकरणले बीमितहरूलाई बीमा गरौं गरौं लाग्नेगरी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।