गार्डियनको व्यापार २ हजार गुणाले बढाएका छौं, लाभांश यसै वर्षदेखि दिन्छौं : सीईओ भण्डारी

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले कम्पनीले चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘कम्पनीले चालु आव २०८१/०८२ देखि नै लाभांश वितरण गर्न सक्षम भएको छ । हामी व्यापार वृद्धिमा लागि परेका छौं । लगानीकर्ताले चालु आर्थिक वर्षदेखि नै लाभांश पाउँछन् ।’ यस्तै, सीईओ भण्डारीले कम्पनीको व्यावसायिक अवस्था सकारात्मक तरिकाले अघि बढिरहेको पनि बताएका छन् । उनले गत वर्षहरूको तुलनामा कम्पनीले २ हजार गुणा धेरै व्यापार गरिरहेको दाबी गरेका छन् । उनले सस्टेनेबल र लङ टर्म बिजनेस गरिरहेको पनि बताए । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज आइतबार भएको थियो । बाँडफाँड कुमारी क्यापिटलमा भएको थियो । गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर

सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने हिमालयन लाइफको घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने कम्पनीले बताएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ माघ ६ गते बाँडफाँड भएको छ । बुधबार प्रि–अलटमेन्ट भइसकेकाले आइतबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस आईपीओमा कुल १८ लाख ३० हजार ८ सय ७५ जनाको आवेदन परेको थियो । जस मध्ये ८ हजार ४ सय ५२ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख २२ हजार ४ सय ५ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका थिए । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।