नेपाल लाइफले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, ५ अर्बको लगानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरे । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् । नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनीकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए । ‘लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,’ उनले स्पष्ट पारे । संघाईले नियामक निकायका नियमहरू अनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे । नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, 'यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ । यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।' कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए । उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन् । कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए । नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ । नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रष्ट पारेका छन् । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ । त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो । नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए ।
४३.६१ प्रतिशत बढ्यो प्रभु महालक्ष्मीको जीवन बीमा कोष, नाफा २७ करोड ७ लाख रुपैयाँ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले २६ करोड ८९ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क १७.८० प्रतिशत बढेर ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चैत मसान्तसममा कम्पनीको कुल बीमा शुल्क १६.९२ प्रतिशत बढेर ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमा दाबी ३ अर्ब ३७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको थियो । ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ४३.६१ प्रतिशत बढेर १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ ।
सानिमा रिलायन्सको ‘सरल तथा एकल जीवन बीमा योजना’ : यसकारण बन्दैछ ग्राहकको रोजाई
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो । यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिका समेत लचिलो रहेको छ । यसमा बीमितहरूले दुई तरिकाबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । पहिलो, बीमितले बीमा गर्ने बेलामा नै एकमुष्ट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । अर्को, तरिका चाहीँ बीमा अवधिभर किस्ता–किस्तामा बीमाशुल्क तिर्दै जाने हो । यसमा बीमितले त्रैमासिक, अर्धवार्षिक र वार्षिक भुक्तानीका विकल्पहरु रोज्न सक्नेछन् । यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ४ किसिमका सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा प्राप्त गर्नेछन् । बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रीतले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ। साथै पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम अधिकतम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ ।यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी असक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पुरै मिनाहा हुनेछ । घातक रोग रक्षावरण सुविधा अन्तरगत बीमित कुनै घातक रोगको शिकार बनेको अवस्थामा उसले ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी पाउनेछ । जसमा विभिन्न १८ घातक रोग (क्यान्सर, मिर्गौला फेल (अन्तिम चरणको मिर्गौला फेल), प्राथमिक पल्मोनरी एटेरियल हाइपरटेन्सन, मल्टिपल स्क्लेरोसिस, प्रमुख अंग प्रत्यारोपण, पक्षाघात, पार्किन्सन लगायत) समावेश छन् । बीमा बचतका लागि मात्रै नभई भविष्यमा हुन सक्ने घातक रोगको जोखिम कभर गर्नका लागि पनि यो बीमा योजनामा बीमितहरुको आकर्षण बढ्दो छ । यस बीमा योजना खरिद गर्न बीमितको उमेर कम्तिमा १८ वर्ष पुगेको हुनुपर्ने छ भने बढीमा ६० वर्ष कायम गरिएको छ । त्यस्तै बीमा अवधि न्यूनतम ७ वर्षको र अधिकतम ५२ वर्षको हुने छ। बीमितहरुले न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। यस योजनामा बीमितहरुले बीमाअवधि समाप्ति पश्चात् बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ रूपमा पाउनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस बीमितको हकवालाले पाउनेछन्। सानिमा रिलायन्सको यो बीमा योजनाले बचत गर्ने बानीको विकास गर्न सहयोग पुराउने छ । यसले भविष्यमा आउन सक्ने जोखिमबाट आर्थिक संकटलाई सहजता प्रदान गर्न सघाउँछ । नेपालमै उत्कृष्ट जीवन बीमालेख प्रदान गरिरहेको सानिमा रिलायन्सले नेपाली समाजको आवश्यकता पहिचान गरी सोहीअनुसार फरक र नयाँ किसिमका बीमालेखहरू ल्याइरहेको छ ।