नेपाल माइक्रो इन्स्योरेन्सको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष ०८१/०८२ का लागि निर्धारण गरेको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा गर्न सफल भएको छ । यसै अवसरमा शनिबार कम्पनीको उच्च व्यवस्थापनसहित सम्पूर्ण विभागीय प्रमुखहरू, शाखा प्रबन्धक तथा अन्य कर्मचारी समेतको सहभागितामा बिजनेश रिभ्यू एण्ड मार्केटिङ स्टार्टटेजी वर्कशप, २०२५ कम्पनीले सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा सबैलाई धन्यवाद तथा बधाई प्रदान गरे ।
सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, १५० भन्दा बढीको सहभागिता
काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमा लेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा शनिबार अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सर्भेयर संघले संघ मात्रै नभएर अबका दिनमा तालिम केन्द्र पनि सञ्चालन गरी आवश्यक तालिम सञ्चालन गर्न अनुरोध गरे । तालिम केन्द्र सञ्चालनमा संघलाई प्राधिकरणको साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए । एक दिने अन्तरक्रिया कार्यक्रममा चार वटा स्टेक होल्डरसँग छलफल भएको र कार्यक्रम निकै नै सकारात्मक भएको च्याप्टर प्रमुख लामिछानेले बताए । उनका अनुसार कार्यक्रमको पहिलो सेसनमा ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिएका थिए । त्यस्तै बीमा विज्ञ डा. रविन्द्र घिमिरेले वर्तमान बीमाको सिनारियोबारेमा प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तति दिएका थिए भने प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सम्पति बीमालेखसम्बन्धी प्रस्तुति दिएका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुवेदी, बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रदेश प्रमुख जमुना अर्याल, सर्भेयर, बैंक, बीमाका कर्मचारीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
एनएलजी इन्स्योरेन्सको २.६३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले ३२ लाख ९२ हजार रुपैयाँ नगद गरी कुल २.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गर्ने कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।