यसै वर्षदेखि बचत र ऋणकाे व्याजदर अन्तर १ प्रतिशतमा झार्छाै : तुलसी गौतम
तुलसीप्रसाद गौतम कर्मचारी सञ्चयकोषका प्रशासक हुन् । २०७५ साल बैशाख १० गते कोषको प्रशासकको रुपमा नियुक्ति पाएका उनले कोषमा करिब डेढ बर्ष नेतृत्व सम्हालिसकेका छन् । नेपाल सरकारको सहसचिव हुँदैगर्दा कोषमा आएका उनी त्यसअघि राष्ट्रिय योजना आयोगमा थिए । मंगलबार कर्मचारी सञ्चय कोष ५८ औं वर्षमा प्रवेश गरेको छ । हाल निजामति कर्मचारी, सेना, प्रहरी र निजी क्षेत्रका कर्मचारीहरुको समेत सञ्चयकोषले ५८ औं वार्षिकोत्सव मनाउँदैगर्दा कोषको समग्र वित्तीय अवस्था, चुनौती र भावी योजनाका सम्बन्धमा केन्द्रित भई गरिएका विकास बहस प्रस्तुत गरिएको छ । तपाईँ कर्मचारी सञ्चयकोषको प्रशासक भएर आउनु भएको पनि डेढ वर्ष हुन लाग्यो, तपाईँ आएपछि कोषमा भएका सुधारहरु के के हुन् ? कर्मचारी सञ्चकोषमा म आउनुअघि मैले नेपाल सरकार अर्थ मन्त्रालयमा आफ्नो कार्यकालमा सुधार गरिने कार्ययोजना बारे फेहरिस्त प्रस्तुत गरेको थिएँ । त्यसमा धेरै विषय थिए, जसमध्ये ४/५ ओटा विषयहरु बढी महत्वपूर्ण छन् । खासगरी, संस्थागत सुधार, जनशक्ति व्यवस्थापन, पारदर्शिता, विधि र प्रक्रियागत स्पष्ठता र चुस्तता, वित्तीय स्वास्थ्य सुधार, सञ्चयकर्ताको मुनाफा र उनीहरुको सामाजिक सुरक्षाको प्रत्याभुति र आर्थिक वृद्धिमा सहयोग गर्नेगरी कोषको स्रोतहरुलाई सरकारको प्राथमिकताअनुसार आवश्यक पूर्वाधार क्षेत्रमा लगानी गर्ने विषय समावेश छन् । संस्थागत सुधारअन्तर्गत कर्मचारी सञ्चय कोषको पुनर्संरचना गरिएको छ । पहिले कर्मचारी सञ्चयकोषको सबै प्रदेशमा शाखाहरु थिएन्न, हामीले गत वर्षनै हामीले सबै प्रदेशमा शाखा पुर्यायौं । यो वर्ष नै हामीले ४ ओटा प्रदेशमा संस्थाको आफ्नै भवन बनाउने तयारी गरेका छौं भने आफ्नै जग्गा नभएका २ ओटा प्रदेशमा जग्गा प्राप्ति गर्ने गृहकार्य अघि बढाएका छौं । लामो समयदेखि अन्यौल रहेको काठमाडौं मल र लगनखेलको विल्डिङमा भएको भाडाको विवादलाई हामीले एक किसिमले टुङ्ग्याएका छौं । पुरानो भाडा बैंक ग्यारेन्टीबाट असुल उपर गरेर पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढिसकेको छ । अघिल्ला वर्षहरुमा बाँकी रहेको भाडामध्ये म आएपछि मात्रै ४८ करोड असुल उपर भइसकेको छ । म यहाँ आएपछि हामीले लगानी विविधिकरण गर्ने प्रयास गरेका छौं । पूर्वाधार परियोजनाहरुमा हाम्रो लगानी वृद्धि भएको छ । देशकै ठूलो सिमेन्ट उद्योगको रुपमा स्थापना हुन लागेको होङ्सी सिमेन्टमा हामीले लगानी गरेका छौं, यो निजी क्षेत्रबाट लगानी भएको सबैभन्दा ठूलो सिमेन्ट उद्योग पनि हो । हामीले हाम्रै लगानीमा बन्दै गरेका हाइड्रोपावरहरुको स्रोतको सुनिश्चितताका लागि समेत काम गरेका छौं । हामीले लगानी गरेका ७२६ मेगावाट क्षमताको ४ ओटा आयोजनाहरु कोही यही वर्ष र केही अर्को वर्षसम्म निर्माण सम्पन्न हुँदैछन् । तीमध्ये ४५६ मेगावाटको अपर तामाकोशी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी र साञ्जेन ५७ मेगावाट क्षमताका छन् । हामीले अहिले केही नयाँ हाइड्रोपावरमा लगानी गर्ने तयारी गरेका छौं । वेतन कर्णाली हामी आफैंले बनाउन लागेको परियोजना हो, यसको सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त गरी डीपीआर निर्माणमा जुटेका छौं, यही डिसेम्बरसम्म डीपीआरको रिपोर्ट पनि आइपुग्छ, त्यसपछि निर्माण सुरु हुने प्रक्रियामा जान्छ । वेतन कर्णालीका लागि हामीले ८ अर्ब ४० करोड सञ्चयकर्ताको तर्फबाट जुटाउनुपर्नेमा गत आर्थिक वर्षमा नै ४ अर्ब ४० करोड रुपैंया जम्मा गरिदिएका छौं । हाम्रो सहप्रशासकलाई नै आयोजनाको प्रबन्ध निर्देशक बनाएर पठाएका छौं । हामीले यो अवधिमा गरेको अर्को महत्वपूर्ण काम भनेको सूचना प्रविधिको क्षेत्रमा गरिएको सुधारको प्रयास हो । यसमा हामीले हाम्रो आवश्यकता के हो भनेर पहिचान गर्न एउटा टीम खटाएका थियौं, अहिले त्यो टीमले रिपोर्ट दिइसकेको छ, यसैको आधारमा आईटी क्षेत्रमा सुधार गर्ने प्रयासमा छौं । अघिल्लो वर्षसम्म सञ्चयकोषमा अर्को महत्वपूर्ण चुनौती भनेको हिसाबको रिकन्सिलेसनको हुन्थ्यो । बैंक र हाम्रो हिसाबको रिकन्सिलेसन नमिल्दा कहिले यो रकम कहिले ५/६ अर्बसम्म तलमाथि हुन्थ्यो । तर अहिले हामीले त्यसलाई नेपाल क्लियरिङ हाउससँग मिलेर व्यक्तिको बैंक खातामा पैसा जम्मा हुनुअघि नै क्लियरिङ गरेर मात्रै लेखांकन गर्ने गर्यौं, यसले गर्दा असार मसान्तसम्म यस्तो रकम ३०/३५ करोड रुपैंयामा झर्यो । अर्को वर्षदेखि यो समस्या शुन्यमा झर्छ । यी समग्र कामहरुमा भएको प्रगतिका कारण हामीले सञ्चयकोषमा आएपछि गरेका प्रयास र हासिल गरेका उपलब्धिप्रति सन्तुष्ट हुनसक्ने अवस्था छ । तपाईँहरुको समग्र वित्तीय अवस्थाचाहिँ अहिले कस्तो छ ? अघिल्लो वर्ष असारमा हाम्रो स्रोत जम्मा ३१२ अर्ब थियो । यो वर्ष यो आकार ३४६ अर्ब पुगेको छ । एक वर्षमा ३४ अर्बको स्रोत बढ्नु भनेको ठूलो रकम हो । हामीले लगानीकर्तालाई ८.२५ प्रतिशत ब्याजदर दिने र उनीहरुसँग ९.५ प्रतिशतमा कर्जा सापटी दिने व्यवस्था गर्दै आएका छौं । म आउँदा हाम्रो सञ्चयकर्तामा भएको कुल लगानी ५९ प्रतिशत रहेको छ भने बाँकी ४१ प्रतिशत पूर्वाधार र अन्य क्षेत्रमा लगानी गरेको अवस्थामा थियौं र त्यसलाई ५० प्रतिशतमा झार्ने लक्ष्य लिएका थियौं । यो असार मसान्तमा यो आकार ५३ प्रतिशतमा झरिसकेको छ । यसले लगानी विविधिकरण गर्ने र पूर्वाधार क्षेत्रमा लगानी बढाउन सहयोग गर्यो । केही रकम शेयरमा पनि लगानी थप गरेका छौं । स्रोतको रकम विस्तार हुँदैगर्दा हामीले लगानीको विविधिकरण गर्दै सञ्चयकर्ताहरुलाई उचित सुविधा र प्रतिफलको सुनिश्चितता गर्दैजान्छौं । तपाईँले होङ्सी सिमेन्टमा लगानी गर्यौं भन्नुभयो, यसको लगानी सुरक्षा र प्रतिफलको ग्यारेन्टीबारे कत्तिको विश्वस्त हुनुहुन्छ ? हामी विश्वस्त छौं । हामीमात्रै होइन, हामीसँगै लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरु समेत यसमा विश्वसनीय हुनसक्ने अवस्था छ । पहिले यो आयोजनामा १६ अर्ब लगानीको अनुमान गरिएको थियो त्यसो हुँदा हामीले २ अर्ब लगानी गर्नुपथ्र्यो तर ७ अर्बको स्रोत उनीहरुले आफैं व्यवस्थापन गरेकोले अहिले जम्मा ९ अर्ब मात्रै लगानी गर्नुपर्ने भयो जसमा हामीले १ अर्ब १८ करोड मात्रै लगानी गरे पुग्ने अवस्था आयो । यो लगानीमा अब असोजदेखि नै भुक्तानी सुरु हुन्छ । तपाईँहरुले वायुसेवा निगममा गर्नुभएको लगानी त डुब्ने भयो होइन ? डुबेको छैन । हामी कति क्षणिक रुपमा हेर्छौं भन्ने कुरा हो । यो ऋण साग खेती गर्न दिएको होइन जहाँ साग टिपिसकेपछि यो सिजनमा भएन भने अब हुँदै हुँदैन भन्ने होइन । ४० औं वर्ष चल्ने नेपाल एयरलाइन्सलाई नेपाल सरकारको ब्याजसहितको ग्यारेन्टीमा ऋण दिएको ऋण भएकोले त्यो डुब्ने भन्ने प्रश्नै आउँदैन । अर्को, कुरा त्यसको सुधारका लागि प्रक्रिया अघि समेत बढेको छ । पहिले न्यारोबडीमा लगानी गर्दा पनि हामीलाई त्यस्तै आरोप आएको थियो । तर त्यसको किस्ता त नियमित रुपमा भुक्तानी भएको थियो । हामीले आयल निगममा पहिले लगानी गर्दा त्यस्तै विवाद भएको थियो तर निगमले राम्रोसँग भुक्तानी गर्यो अहिले उसको अवस्था राम्रो छ । त्यसैले कुरा प्रणाली सुधार गर्ने हो, हामी अब त्यतातिर केन्द्रित हुनुपर्छ । २०७२ सालमा निगम सुधारका लागि ३ ओटा निर्णय भएका थिए, पार्टनर खोज्ने, प्रविधिमा सुधार गर्ने र विमान किन्ने । तर, तेस्रो निर्णय मात्रै कार्यान्वयन भयो । अब पहिले पछाडि परेका कुराहरुलाई अगाडि ल्याउनुपर्छ भन्नेमा हाम्रो प्रयास केन्द्रित छ । सामाजिक सुरक्षा कोषको उपस्थितिपछि तपाईँहरुको बजार पोजिसन के हुन्छ भन्ने सम्बन्धमा अनेक टिकाटिप्पणी भइरहेका छन्, यसले तपाईँहरुको चुनौती कति थप्छ ? सामाजिक सुरक्षा कोष लागु हुने भनेको निजी क्षेत्रको लागि मात्रै हो । त्यो क्षेत्रका सञ्चयकर्ता हामीकहाँ १ लाख जना भए पनि रकमका हिसाबले यो २४/२५ अर्ब रुपैंया मात्रै हो जुन ८ प्रतिशत मात्रै हो । त्यो पैसा पनि तत्कालै बाहिर जाँदैन । दोस्रो कुरा, यो वर्ष हाम्रो स्रोत संकलन हुने क्षेत्रहरु विस्तार भएका छन् । संघीय प्रणाली कार्यान्वयनमा आएसँगै तीन तहका सरकारी कर्मचारी, सेना, प्रहरी समेत गरी ५०/६० हजार जना कर्मचारी बढ्दैछन् । त्यो संख्या हामीमा थपिन्छ । अर्को कुरा अब कर्मचारी सञ्चय कोषले सञ्चयकोष मात्रै नभएर पेन्सन समेत व्यवस्थापन गर्छ । यसै वर्षदेखि लागु भएको योगदानमा आधारित निवृत्तिभरण योजनाले सञ्चालन गर्दैछ । यसले झनै ठूलो दीर्घकालिन कोषको सिर्जना गर्छ । यसअघि सञ्चय कोषले उपदान स्वरुप कर्मचारी अवकाश हुँदा पुरै पैसा फिर्ता जान्थ्यो, अब त्यो एकैपटक नजाने भयो । अब सरकारी कर्मचारीको २० प्रतिशतको योगदान बढेर ३२ प्रतिशत पुग्दैछ । यसले गर्दा १२ प्रतिशत कोष वार्षिक रुपमा यसबाट समेत वृद्धि हुन्छ । त्यसैले हाम्रो स्रोतमा चुनौती आउने नभई झनै समृद्ध हुँदैजान्छ । भनेपछि निजी क्षेत्र बाहिरिने भयो भनेर सञ्चय कोषलाई कुनै चिन्ता छैन त ? हामीले भनेको नेपाल सरकारले गरेको व्यवस्थाअनुसार काम गर्ने हो । यसले कोष व्यवस्थापनमा तत्काल केही असर गरे पनि दीर्घकालमा चाहिँ कुनै असर गर्दैन । हामी नेपाल सरकारको सञ्चयकोष र निवृत्तिभरण व्यवस्थापन गर्नेगरी हामी विशिष्टिकृत बन्छौं । पहिले निजी क्षेत्रको सञ्चय गर्ने संस्था थिएन, त्यसैले हामीले त्यसको जिम्मेवारी लिएका थियौं । अब सामाजिक सुरक्षा कोष आएपछि त्यो जिम्मा सामाजिक सुरक्षा कोषले नै लिन्छ । ५८ औं वार्षिकोत्सव मनाउँदैगर्दा यो वर्ष सञ्चयकर्ताका लागि के कस्तो स्कीमहरु आउँदैछ ? हामीले गत वर्ष नै ठूलो स्कीम ल्यायौं । सामान्य रोगको लागि १ लाख र ठूला रोगको लागि १० लाखसम्मको उपचार खर्च बीमा सुविधा अघिल्लो वर्ष हामीले ल्याएका थियौं । अघिल्लो वर्ष नै हामीले दुर्घटना बीमाको रकम पनि बढायौं । त्यसैले हरेक वर्ष सुविधा बढाउनसक्ने अवस्था हाम्रो छैन । विस्तारै हाम्रो स्रोत व्यवस्थापन भएपछि हामी नयाँ सुविधाहरु थप गर्दै जान्छौं । हामीले अहिले व्यवस्थापनमा लाग्ने खर्चको मार्जिनलाई विस्तारै घटाउँदै गएका छौं । पहिले हामीले यो अन्तर १.५ प्रतिशत थियो, अब यो १.२५ प्रतिशतमा झरेको छ । पहिले बचतको ब्याज ८ प्रतिशत थियो, यो ८.२५ प्रतिशत पुर्याएका छौं । तर ऋणको ब्याजदर भने ९.५ प्रतिशत नै छ । हामीले यो अन्तरलाई घटाएर अर्को वर्षसम्म १ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएका छौं । यसले गर्दा सञ्चयकर्ताहरुलाई फाइदा नै हुन्छ ।
बीमा क्षेत्रमा अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छः सुद्युम्न उपाध्याय
निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ, त्यसरीनै कम्पनीलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न उपाध्यायले । बीमा बजारमा प्रिमियर इन्स्योरेन्सको अवस्था सहित समग्र बीमा क्षेत्रका बारेमा सीईओ उपाध्यायसँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको विकास बहस । प्रिमियर इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो आयो ? हाम्रो गत आवको वित्तीय नतिजा सन्तोषजनक आएको छ । हामीले १ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छौँ । अघिल्ला वर्षमा जस्तो प्रिमियमको बृद्धि आकर्षक छैन । यसरी आकर्षक नहुनुमा चाँही हामीले विजनेशहरु छनोट गरेको कारणले गर्दा हो । वृद्धि चाँही हामीले सोचेको अनुसार नै भइरहेको छ । कम्पनीको बीमा शुल्क आम्दानी अघिल्लो बर्षको तुलनामा करिव साढे ६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । बीमा बजारको औषत वृद्धि भन्दा पनि प्रिमियरको वृद्धि कमजोर देखियो, किन ? हामीले कुल कति व्यवसाय वृद्धि गर्यौ भन्ने कुरामा केही कमी भएपनि हाम्रा सूचाङ्कलाई छुट्याएर हेर्दा वृद्धि कमजोर देखिदैन । हामी व्यवसाय वृद्धिमा मात्र केन्द्रित भएका छैनौँ । व्यवसाय वृद्धि हुने कुरालाई पनि २ तरिकाबाट हेर्न सकिन्छ । एउटा व्यापारको दायरा बढाउने, अर्को चाँही भएको नाफामा वृद्धि गर्ने । अहिले हाम्रो नाफाको अवस्था राम्रै छ । अघिल्लो आव भन्दा गत आवमा बीमा पोलिसी संख्या नै ८ हजार कम जारी भएको देखियो, किन ? हाम्रो कम्पनीको बीमा पोलिसी संख्या ८ हजार कम जारी हुनुमा हामीले केही बिजनेश घटाएका कारणले गर्दा हो । यो हाम्रो नीति हो । नेपालमा भएका अन्य बीमा कम्पनीहरुले समेत आवश्यकता अनुसार १५ हजार देखि २ लाख पोलिसी जारी गरेका छन् । व्यापार वृद्धि कम भएपनि नाफा वृद्धि ४८ प्रतिशत देखिन्छ । कसरी यस्तो भयो ? हामीले व्यापार वृद्धि गर्दा औषत रुपमा नाफामा चाँही जानै पर्छ भन्ने रणनीति अपनाएका हौँ । सोही कारण व्यापार वृद्धि घट्दा नाफा वृद्धि बढ्न पुगेको हो । उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । नाफा वृद्धि त देखिन्छ । तर, पूँजी वृद्धिको कारण प्रतिसेयर आम्दानी २८ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी उच्च कायम राख्न कम्पनीले कस्तो रणनीति लिएको छ ? कम्पनीले गत वर्षबाट टप भन्दा बटम लाइनमा केन्द्रित भएर काम गरेको छ । पहिले पहुँच बढाउन काम गर्यौ। अहिले हामीले गुणस्तरमा ध्यान दिएका छौं, सोही कारण हाम्रो सूचाङ्क कही कतै फरक देखिन सक्छन् । चार महिना अगाडि प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १२८० रुपैयाँ थियो । हाल ३९० भन्दा तल गयो । किन यस्तो भयो ? हाल सम्पूर्ण सेयर बजारको मूल्य नै घट्दो क्रममा छ । सोही कारण प्रिमियरको सेयर मूल्यपनि घटेको हो । तर पनि अन्य कम्पनीसँग तुलना गर्दा हाम्रो अवस्था त्यति नराम्रो छैन । बीमा दावी भुक्तानी हुन बाँकी रकम असार मसान्तसम्ममा १ अर्ब ९३ करोड रुपैयाँ देखियो । यति ठूलो रकम किन पेण्डिङ्गमा बस्यो ? अन्य कम्पनीको तुलनामा हाम्रोमा प्रोजेक्ट विजनेश छ, सो कारण हाम्रो भुक्तानी हुन बाँकी रहेको देखिएको हो । पछिल्लो समय बाढीका कारण हाइड्रो पावरमा क्षति पुग्न गयो । तरपनि हाम्रो नेटमा लायवलिटी नराम्रो देखिने अवस्था छैन । हामीले पुनर्बीमा पनि गरेका छौँ । नेट लायवलिटी बढेको छैन । गत बर्ष नै तपाईँहरुले एनएफआरएस अनुसार वार्षिक प्रतिवेदन तयार गरिसक्नु भयो । तर, असार मसान्तको चौमासिक प्रतिवेदन किन एनएफआरएस अनुसार प्रकाशित गर्नु भएन ? अहिले वार्षिक प्रतिवदेन एनएफआरएस बन्याे । अब क्रमशः चाैमासिक प्रतिवेदन पनि साेही डाँचामा बन्छ । प्रायः सबै कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर बापतको रकम नगद लाभांशबाट दिन्छन् । तपाईँहरुले सेयरधनीसँग बोनसमा लाग्ने कर रकम संकलन गर्नु भयो । यसले लगानीकर्तालाई झण्झट भयो नि ? बीमा समितिको नियम अनुसार एनएफआरएस र एनएसको व्यालेन्स मिलाउँदा वितरण गर्न नमिल्ने भएका कारण हामीले नदिएका हौँ । कम्पनीले दिन भने सक्ने अवस्था छ । गत आवको साधारण सभा कहिलेसम्म हुन्छ ? गत आवको साधारण सभा पुस मसान्तसम्म गर्नेछौँ । एनएफआरएसका कारणले गत वर्षमा केही ढिलाई भएको थियो । यसपालि ढिला हुन्न । कम्पनीका नयाँ योजना तथा वार्षिक योजनाहरु के छन् ? गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । बजारमा नयाँ भन्दा पनि इन्जिनियरिङ्ग बीमा सम्बन्धि बीमाको आवश्यकता छ, हामीले सोही अनुसार काम गर्छौ । गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । उपभोक्ताले प्रिमियर इन्स्याेरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाँही के हो ? उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । २५ वर्ष पुरानो कम्पनी हो । हरेक सूचक राम्रो रहँदै आएका छन् । सोही कारण हाम्रोमा विश्वास गर्ने थुप्रै आधारहरु छन् । नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ? नौलो प्रडक्ट निर्जीवन बीमामा ल्याउन जीवन बीमा व्यवसायमा जस्तो सजिलो छैन । तर, बजार विकास गर्न केही समय लाग्छ । पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ । यस कम्पनीमा कस्तो अवस्था छ ? हाम्रोमा न्यून छ । कम्पनीको स्थापनाको दिन देखि हालसम्म २ जना मात्र सिईओले काम गरेका छन् । हाम्रा शाखा प्रमुखहरु नै २५ वर्ष यहि काम गर्न सफल हुनु भएको छ । सोही कारण हाम्रो कम्पनीमा कर्मचारीहरु अन्य कम्पनीमा जाने काम छ । कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ? कर्मचारीको क्षमता विकासका लागि हामीले स्वदेशी तथा विदेशी तालिममा समेत सहभागी गराउँदै आएका छौँ । अतिरिक्त सुविधा के छ ? बीमामा अतिरिक्त सुविधा भन्ने त हुँदैन । हामीले ट्यारिफ अनुसार काम गर्नुपर्छ । सस्तो प्रिमियममा समेत काम गर्दैनौं। तर, हामीले बीमाको गुणस्तरमा भने ध्यान दिँदै आएका छौँ । सिईओको नजरबाट समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ? बीमा बजार विश्वासमा चल्ने हो । हामीले जसलाई क्लेम पर्छ, उसको लागि नै सेवा गर्न आवश्यक हुन्छ । बजारमा सबैभन्दा काम गर्न आवश्यक कुरा भनेको इमान्दारिता र धैर्यता हो । बीमा बजारमा सेल्स भन्दा आफ्टर सेल्स (पोलिसी बेच्दा भन्दा बेचिसकेपछि)को अवस्था महत्वपूर्ण मानिन्छ । बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ? बीमा समितिको नियमन राम्रोसँग अघि बढिरहेको छ । एक किसिमले भन्ने हो भने हाम्रो जस्तो भरपर्दो नियमनकारी निकाय अन्य क्षेत्रमा छैन जस्तो लाग्छ । बजार विकासको क्रममा भएकाले कम्पनी र नियामकमा परिपक्कता पनि आउने क्रममा छ । तर यस्तो अवस्थमा बीमा समितिले खेल्नु पर्ने भूमिका भने सन्तोषजनक नै छ । साथै, बीमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट गरेको कामलाई राम्रो मान्न सकिने अवस्था छ । पछिल्लो समय बीमा बजारमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ? बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । एक तहको साईकल पूरा गरेपछि मर्जरमा जान आवश्यक हुन्छ । अहिले मर्जरमा जान बीमा कम्पनीहरुको संख्या धेरै हुनुलाई कारण मान्न सकिन्छ । अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छ ।
सरकारको झन्झटिलो प्रक्रियाले गर्दा विदेशबाट २० अर्बको फर्निचर आयात भैरहेको छ : रुपेश प्रधान
हरियो वन नेपालको धन भन्ने भनाइ हामीले सुनिरहेका छौ । करिव ४४ प्रतिशत वनले ओगटेको नेपालमा ६० प्रतिशत फर्निचर आयात हुने गरेको छ । सम्रगमा नेपालमा फर्निचरको अवस्था कस्तो छ ? फर्निचरमा नेपाल आत्मनिर्भर हुन सक्छ कि सक्दैन अर्थात आत्मनिर्भर हुनका लागि के कस्तो पहल कदमीको आवश्यक छ ? सातौं फर्निचर एन्ड फर्निसिङ एक्स्पोको तयारी के कसरी भइरहेको छ ? यस विषयमा नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनका अध्यक्ष रुपेश प्रधानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीः यस वर्ष हुन लागेको ७ औं फर्निचर एन्ड फर्निसिङको एक्स्पोको तयारी कस्तो छ ? उपभोक्ताका लागि नयाँ के आउँदैछ एक्स्पोमा ? पछिल्लो समय विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि प्रयोग भएका फर्निचरहरू याे एक्स्पोको मुख्य आकर्षण हुनेछ । नेपालमा निर्मित र विदेशबाट आयातित सामानहरू फर्निचर एन्ड फर्निसिङ एक्स्पो रहने छन् । एक्स्पोमा १ सय २० वटा स्टल रहने छ । नेपाली र विदेशी ब्रान्डका फर्निचरहरुको जानकारी एक्पोमा दिइने छ । ब्रान्ड बुझे पछि कुन फर्निचर कस्तो हो भनेर उपभोक्ताहरूले आफै बुझ्न सक्नु हुन्छ । नेपाल काष्ठकलामा उत्कृष्ट भएपनि विदेशबाट फर्निचर आयात हुन्छ, त्यो किन ? हो, हामी काष्ठकलामा विश्वमा उत्कृष्ट छौं । सबैले हाम्रो काष्ठकला प्रयोग गर्न सकदैन्न । हाम्रो काष्ठकला अलि मंह्गो छ । नेपाली काष्ठकला धेरै मेहनत गरेर बनाइन्छ । विदेशी फर्निचरहरूमा प्रविधिको प्रयोग गरेर थोरै खर्चमा धेरै फर्निचरहरु उत्पादन भइरहेका छन् । मूल्यका कारणले नेपाली फर्निचरभन्दा विदेशी फर्निचरको प्रयोग बढी भएको हो । नेपाल काठमा धनी छ । तर, सरकारले काष्ठ उद्योगलाई प्रवद्र्धन नगर्दा विदेशी काठ आयात बढ्दै गएको छ । अद्यावधिक काठ नीतिमा सरकाले ध्यान जानु जरुरी छ । सरकारले पनि वनमा धनी रहेको देशमा काठ आयात भएको विषयलाई चासोका साथ हेर्नु पर्ने हुन्छ । अनि मात्रै देश फर्निचरमा आत्मनिर्भर हुन्छ । प्रविधिको प्रयोग हुन नसक्दा नेपाली फर्निचर मह्गो भएको हो त ? नेपालमा बनेका फर्निचरहरू प्राय हस्त निर्मित हुन्छन् । हस्त निर्मित भएकाले नेपाली सामानहरू बलियो र टिकाउ हुनका साथै मूल्य पनि बढी परेको हो । जुन सुकै राम्रो सामानको मूल्य सामान्य भन्दा मंहगो हुन्छ नै । त्यसैले नेपाली काठ पनि अन्यभन्दा मंहगो भएको हो । विदेशी फर्निचर बनाउदा मेशिनको प्रयोग भएको हुन्छ । विदेशमा कच्चा पदार्थ र श्रम पनि सस्तो छ । हाम्रो देशमा मह्गो श्रमका साथै कच्चा पदार्थ नि विदेशबाट आयात गर्नुपर्छ । फर्निचर क्षेत्रमा कति लगानी भएको छ ? वार्षिक कति कारोबार हुन्छ ? नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रमा १८ देखि २० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ । लगानी वृद्धि हुने क्रममा छ । यो क्षेत्रमा वर्षमा करिब ४० अर्बको कारोेबार हुने गरेको छ । सो कारोबारमध्ये १८ देखि २० अर्ब मूल्य बराबरका फर्निचर तथा फर्निचरका सामानहरू विदेशबाट आयात हुने गरेको छ । फर्निचरमा नेपाल र विदेशको करिव आधा/आधा हिस्सा रहको छ । फर्निचर व्यवसायी कति छन् र यसमा कतिले रोजगारी पाएका छन् ? नेपालको फर्निचर क्षेत्रमा करिब ५ हजार व्यवसायीहरू आवद्ध छन् । फर्निचर क्षेत्रले ५ लाखलाई रोजगारी प्रदान गरेको छ । यो क्षेत्रमा कामदारको अभाव छ । फर्निचर क्षेत्रमा ६० प्रतिशत कालिगढहरू भरतबाट आउने गरेका छन् । तपाईले श्रमिक छैन भन्नु भयो, नेपालमा नै कालिगढ उत्पादन गर्न केही गर्नु भएको छैन ? श्रम मन्त्रालयसँग मिलेर हामीले तालिम प्रदान गर्ने लक्ष्य लिएका छौं । तालिम पछि नेपालकै बेरोजगार युवाहरूले रोजगार पाउँछन् । यो तालिमले फर्निचर निर्माण गर्ने मानव संसाधन नेपालमा नै उत्पादन हुन्छ । तालिमबाट उत्पादित कालिगढहरूले नेपालमा राम्रो पारिश्रमिका साथ रोजगारी पाउँछन् । नेपालमा ठूला भवान निर्माण हुँदा किन नेपाली काठको प्रयोग हुदैन ? मागअनुसार नेपाली काठ उपलब्ध हुन नसक्दा ठूला भवन निर्माणमा विदेशी काठको प्रयोग हुने गरेको हो । ठूला ठूला भवन निर्माण गर्नेले जुन काठ सहज र सरल तरिकाबाट प्राप्त हुन्छ त्यहिनै प्रयोग हुँदै आएको छ । नेपाली काठभन्दा विदेशी काठ सस्तो हुनाका साथै सहज तरिकाले बजारमा पाइन्छ । त्यसो भए नेपालमा काठ व्यवसायमा ठूलो समस्या छ, होइन त ? यो व्यवसायमा सबैभन्दा ठूलो समस्या नै काठमा छ । यदि सरकारले सहजसँग काठ उपलब्ध गराउने हो नेपाली बजारमा खपत हुने ९० प्रतिशत उत्पादन नेपाल मै निर्माण हुन सक्छ । हामीले आयात दरलाई १० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ कि फर्निचर व्यवसायीहरुले काठ सिधै वन विभागबाट पाउने व्यवस्था छैन । हामीले सहज रुपमा काठ नपाएका कारण बाहिरबाट काठ आयात गर्नु परेको हो । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने मुख्य कुरा हो । मलेसियन र भारतबाट फर्निचर बन्ने काठ आयात हुन्छ । चाईनाबाट प्लाईहरु बढी आउँछन् । नेपाली अग्राख, सिसौ र सल्लोका काठ विश्वमै बलियो मानिन्छ होइन ? व्यवसायीहरुले बाध्यताले मात्र विदेशी काठ झिकाएका हुन् । नेपाली अग्राख, सिसौ र सल्लोका काठ जस्तो विदेशी काठ टिकाउ हुँदैन । हामीले वन मन्त्रालयसँग काठ सहज र सरल बनाउन पर्यो भनि रहेका छौ । मन्त्रालयमा हुन्छ भन्छन र काठ पाइँदैन । फर्निचरको बजार कस्तोे छ ? कुन देशबाट धेरै फर्निचर आयत हुन्छ ? सबैभन्दा बढी चाइनाबाट काठ आयत हुन्छ । चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयात हुने गर्दछ । एउटा टि–टेबल कै २ लाखसम्म मूल्य पर्ने गरेको छ । काठका उत्पादनमध्ये कुन बढी बिक्री हुन्छ ? नेपाली काठका उत्पादनमा सबैभन्दा बढी पलङ र टेबल बिक्री हुने गरेको छ । यिनीहरू महंगो भए पनि बलियो हुन्छ भनेर नेपालीले बुझेका छन । आम ग्राहकले पाएसम्म नेपालमा बनेको पलङ र टेबल किन्न रुचाउँछन् । तर नपाएको खण्डमा चिनियाँ काठ किन्न वाध्य हुन्छन् । फर्निचर व्यवसायीलाई नेपाली काठका उत्पादन बिक्री गर्नभन्दा विदेशीबाट बढी फाइदा हुन्छ हो ? फाइदा त उस्तै उस्तै हो । लागत भने कम पर्छ । एउटा नेपाली काठ २० हजार पर्छ भने विदेशी काठ १५–१६ हजार रुपैयाँ पर्न जान्छ । विदेशी काठ सजिलोसँग पनि बजारमा उपलब्ध हुन्छ भने नेपाली उत्पादनको लागि अडर दिनुपर्ने हुन्छ । नेपाली कार्पेटको स्थिति कस्तो छ नि ? आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भएका छौँ । आयात पनि बन्द भएको छ । यस वर्षको एक्स्पोमा २ वटा नयाँ ब्रान्डको कार्पेट पनि आउँदै छ ।