शोधनान्तर स्थिति सभा दुई खर्ब बचतमा

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यो अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । त्यस्तै कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो । राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।

एनएमबि बैंकले दराजका विक्रेतालाई बिना धितो कर्जा प्रदान दिने

काठमाडौं । एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका विक्रेताहरुलाई बिना धितो विद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीलाई दराज नेपालसंगको कारोबारको आधारमा ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने छ । सम्झौतापत्र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले आदान प्रदान गरेका थिए । सम्झौताको बारेमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाई प्राथमिकता दिईरहेका छन् । यस कर्जा मार्फत ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको  छ । एमएसएमई कर्जाका ग्राहकको आवश्यक चालुपुँजी पूर्ति गर्ने बैंकले विश्वास लिएको बताएका थिए । यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले विश्वास लिएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

पौने १५ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, करिब एक वर्षको वस्तु आयात धान्न सक्ने

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड हेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई रु.१३१० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६८ करोड पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।