व्यास गुफामा नेपाल एसबिआई बैंकको सहयोग

काठमाडौं। नेपाल एसबीआई बैंक, दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालयमार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए । बैंक दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । सहयोग स्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबाले बताए । बैंकले हाल देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

सिटिजन्स बैंकले एकैचोटी संचालनमा ल्यायो थप ५ शाखाहरु

काठमाडौं । सिटिजन्स बैंकले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा थप ५ शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ संचालनमा ल्याएको छ । यो संगै बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

बैंकका सीइओसँग निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तर्क्रिया : सानालाई पनि ऋणमा जोड दिऔं

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले मौजुदा सुरक्षण कार्यक्रममा पुनरावलोकनका साथै नयाँ सुरक्षण कार्यक्रमको आवश्यकता पहिचान सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । कोषले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र कर्जा विभाग प्रमुखहरुको उपस्थितिमा  “बैक वित्तीय संस्थाहरुको कर्जा सुरक्षण आवश्यकता र निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमहरुको अवस्था” विषयक आधा दिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा कोषको सञ्चालक समितिका सदस्यहरु, बिभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु, नायव प्रमुख कार्यकारी अधिकृतहरु, कर्जा विभागका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका अन्य प्रतिनिधिहरु, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका विकास साझेदार संस्थाका प्रतिनिधिहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारी र सञ्चारकर्मीहरु समेत गरी १२० जना बढी व्यक्तिको सहभागिता रहेको कोषले जनाएको छ। कार्यक्रममा  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले साना निक्षेपकर्तालाई बैंक वित्तीय संस्थाहरुप्रतिको विश्वास अभिवृद्धि गर्न र साना कर्जाहरुको सुरक्षण मार्फत् न्यून आय आर्जन भएका गरिब जनतामा कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी गरीवी निवारण गर्नका लागि कोषले महत्वपूर्ण योगदान गरेको बताइन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा जोखिमलाई न्यूनीकरण गर्ने विभिन्न साधनहरुमध्ये सुरक्षण कार्यक्रम एक महत्वपूर्ण पक्ष रहेको विषयलाई प्रकाश पार्दै उनले यस प्रकारको जोखिम व्यवस्थापन गर्ने संस्थाको रुपमा रहेको कोषले आफ्नो जोखिम कोषलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसारको व्यवस्था गर्नु पर्ने बताइन् । साथै उनले व्यवसायको दायरा र क्षेत्र विस्तारको लागि मौजुदा सुरक्षण कार्यक्रमलाई बजार माग अनुसार परिमार्जन गर्दै नविन कार्यक्रम तर्जुमामा सूचना प्रबिधिको उच्चतम प्रयोग र संस्थागत सुशासनमा केन्द्रीत रहनुपर्ने बताइन् । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषको छोटो इतिहास, हाल सञ्चालनमा रहेका कर्जा सुरक्षण सम्बन्धी मौजुदा कार्यक्रमहरु तथा भावि योजनाहरु समावेश भएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोषले आफ्नै ढंगबाट कर्जा सुरक्षणका कार्यक्रमहरु विकास गर्ने र बैंक तथा वित्तीय संस्थाले त्यसलाई आत्मीयताका साथ स्वीकार नगर्ने हो भने त्यसको कुनै औचित्य नरहने कुरालाई कोषले गहन रुपमा लिएको हुँदा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत सबै सरोकारवालाहरुसँग सार्थक राय सुझावको कोषले अपेक्षा गरेको बताए । नेपाल बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष सन्तोष कोइरालाले कार्यक्रम एकदम सफल रहेको बताउँदै कोषले निक्षेप सुरक्षण बापत लिने सुरक्षण शुल्कमा पुनरावलोकन गरे बैंक वित्तीय संस्था लाभान्वित हुने बताए । त्यस्तै डेभलपमेन्ट बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष बोधराज देवकोटाले निक्षेप सुरक्षणको कुरामा नै जोड दिँदै विकास बैंक पनि हाल निकै सबल रुपमा स्थापित भएको अवस्थामा विकास बैंकलाई पनि कोषको लगानी निर्णयमा सहभागी गराउन सके विकास बैंक लाभान्वित हुने उल्लेख गरे । साथै विकास बैंकलाई पनि बैंक वित्तीय संस्था खारेजीमा जाँदा चयन गरिने एजेन्ट बैंक छनौटमा प्राथमिकता दिनुपर्ने उनले बताए । वित्त कम्पनी एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष रविचन्द्र गुरुङ्गले वित्त कम्पनीलाई पनि कोषको लगानी निर्णयमा सहभागी गराउन सके वित्त बैंक लाभान्वित हुने बताए । कोषका प्रमुख कार्यकारी अधिकृतले पेश गरेका भावी योजनाहरु असाध्यै राम्रा भएका तर कुरामा मात्रै सीमित नरही कार्यान्वयनमा समेत जाने अपेक्षा उनले व्यक्त गरेका छन् । यसका साथै अन्य सहभागीहरुले साना तथा मझौला उद्यम व्यवसायलाई परिभाषित गर्ने कोषको नियममा रहेको व्वस्था तथा अन्य सरोकारवालाहरुको परिभाषासँग एकरुपता नरहेको लगायत कोषको सुरक्षण कार्यक्रममा भएका कमीकमजोरी औंल्याउँदै मननयोग्य सुझावहरु दिएको कोषले जनाएको छ । कोषका प्रमुख कार्यकारी अधिकृतले  बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित सबै सरोकारवालाहरुसँगको निरन्तर छलफल र संवाद मार्फत बजारको सुरक्षणको आवश्यकतालाई पहिचान गरी मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु यकीन गरी सुरक्षण कार्यक्रममा परिमार्जन तथा संशोधन गर्ने र नयाँ नयाँ सुरक्षणका थप योजनाहरु विकास गर्ने कोषको सदैव प्रयास रहने कुरामा सबै सरोकारवालाहरुलाई आश्वस्त रहन आग्रह गरेका छन् । कोषका विशेषज्ञ सञ्चालक प्रकाशजंग थापाले  बढ्दो व्यवसायिक आकार, उपलब्ध अवसर, सूचना प्रविधिको उपयोग, जोखिम जस्ता पक्षलाई उपयुक्त तवरले सम्बोधन गर्न रणनीतिक योजना सहित अगाडी बढ्न आवश्यक रहेको औंल्याउँदै कोषको रणनीति तर्जुमामा कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरेका छन् ।