सनराइज बैंकको रेमिट्यान्स सेवा अब कोरियाबाट पनि
काठमाडौं, २६ साउन । सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इन्डष्ट्रियल बैंक अफ कोरिया (आइबीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आइबीके को कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार आइबीकेको कोरियामा ६३७ शाखाको संजाल छ जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ । आइबीकेको कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपाल स्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली एनइटाइम रेमिटेन्स अथवा मोबाइल बैकिंग अथवा एटिएमबाट नेपालमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ । यसरी पैसा पठाउने ग्राहकलाई आइबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिने छ र आइबीके मै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्ने गरेको छ भने त्यस्ता ग्राहकलाई आइबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने छ । यसका अतिरिक्त सनराइज बैंकको खातामा पैसा जम्मा हुँदा सनराइज बैकले कुनै रकम नलिने जानकारी गराएको छ । सनराइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ चयन
काठमाडौं, २६ साउन । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले बैंक अफ काठमाण्डौ लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा चयन गरेको हो । साथै, ईन्ष्टिच्युटको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालकको पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उक्त बैठकले सञ्चालक समितिका निवर्तमान अध्यक्ष शोभनदेव पन्त र निवर्तमान सञ्चालक डा. बिनोद आत्रेयलाई संस्थाप्रति उनीहरुको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाको उद्देश्य अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको लागि बदलिँदो परिवेश अनुरुपको समय सापेक्ष कार्यक्रमहरु आयोजना गर्दै संस्थाले लिएको लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महालक्ष्मी फाइनान्सले पायो यूरोपको ‘बेष्ट इन्टरप्राइजेज’ अवार्ड, महालक्ष्मी विकास बैंक छिट्टै
काठमाडौं, २६ साउन । महालक्ष्मी फाइनान्स बेलायतको प्रतिष्ठित संस्था ‘इयुरोप विजनेस एसेम्ली’द्धारा सन् २०१६ को ‘बेष्ट इन्टरप्राइजेज’ अवार्डमा मनोनित भएको छ । साथै उक्त संस्थाले फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई ‘म्यानेजर अफ् द एअर’ पुरस्कारको लागि मनोनित गरेको छ । संस्थाका अनुसार यो पुरस्कार फ्रान्सको केन्स शहरमा ७ अक्टुबरमा आयोजित यूरोपियन अवार्ड नाइट्स सम्बन्धी विशेष समारोहमा प्रदान गरिने छ । यसैबीच महालक्ष्मी फाइनान्ससहित मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज अन्तिम अवस्थामा पुगेको छ । स्रोतका अनुसार नेपाल राष्ट बैंकले यस मर्जलाई अन्तिम स्वीकृति दिईसकेको छ । यी तीन संस्था एक अर्कामा मर्ज भई २०७३ भदौ महिनाभित्र राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक बन्ने कम्पनीले जनाएको छ ।