नाडा अटो शो: चार कम्पनीका प्रतिस्पर्धी कार, यस्ता छन् मूल्य र फिचर्स
काठमाडौं । नाडा अटो शोमा विभिन्न कम्पनीले विभिन्न नयाँ मोडल तथा विशेष फिचर्सका गाडीहरु प्रदर्शनीमा राखेका छन् । मूख्य रुपमा मेलामा चार पाङ्ग्रे गाडीहरु आकर्षणका केन्द्रमा छन् । मेलामा हुन्डाईको ग्राण्ड आइ १० म्याग्ना, सुजुकीको स्विफ्ट भिएक्सआइ र इग्निस डेल्टा, भोक्सवागेनको पोलो कम्फर्ट र निस्सानको माइक्रो एक्टिभ एक्स भी कारहरु विशेषरुपमा प्रतिस्प्रर्धीका रुपमा देखा परेका छन् । हुण्डाई ग्राण्ड आइ १० म्याग्ना हुण्डाईको ग्राण्ड आइ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार रुपैयाँ रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले यसलाई गत मार्चमा लन्च गरेको थियो । यसमा डिओएचसी ईञ्जिन प्रयोग गरिएको छ ।११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २२५ लिटरको छ । यसले चार हजार आरपिएममा ११६ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४२५ एमएम रहेको छ । यसमा पार्किङ सेन्सर जडान गरिएको छ । सुजुकी स्विफ्ट भिएक्सआइ र इग्निस डेल्टा सुजुकीको स्विफ्ट भिएक्सआइमा मल्टिप्रोजेक्सन इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । ११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २०५ लिटरको छ । यसले चार हजार आरपिएममा ११५ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४३० एमएम रहेको छ । यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ । सुजुकी इग्निस डेल्टाको मूल्य २८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट ११९७ सिसि क्षमताको रहेको कम्पनीले जानकारी दिएको छ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइ दिएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिनले ४ हजार २ सय आरपीएम र ६ हजार आरपीएममा १ सय १३ एनएम टर्क र ८३ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४३५ एमएमको छ । भोक्सवागेन पोलो कम्फर्ट भोक्सवागेन पोलो कम्फर्टमा एमपिआइ इञ्जिन जडान गरिएको छ । यसको मूल्य मूल्य ३० लाख ९५ हजार रुपैयाँ रहेको छ । कारमा एमपिआइ ईञ्जिनले ३ हजार ७ सय ५० आरपीएम र ५ हजार चार सय आरपीएममा १ सय १० एनएम टर्क र ७५ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४६९ एमएम छ भने यसको बुट स्पेस क्षमता २८० लिटरको छ जसमा भारी लगेज पनि अटाउन सकिने कम्पनीले जानकारी दिएको छ । निस्सानको माइक्रा एक्टिभ एक्स भी निस्सानको माइक्रा एक्टिभ एक्स भीमा डिओएचसी इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । ११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २५१ लिटरको छ । यसले चार हजार आरपिएममा १०४ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ५००० आरपिएममा ६८ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४५० एमएम रहेको छ । यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ ।
कसरी टिकाउन सकिन्छ गाडी ? यस्ता छन् अटोमोबार्इल व्यवसायीका सात टिप्स
काठमाडौं । राजधानीका खाल्डा खुल्डी सडक र धुँवाधुलो आम मानिसका लागि समस्या बनिसकेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको सँगसँगै गाडीको पनि हेरचाह गर्नुपर्ने हुन्छ । गाडीलाई सुरक्षित तरिकाले चलाउन र लामो समयसम्म टिकाउन गाडीको ख्याल राख्नु आवश्यक हुन्छ । गाडीमा आउने सानोतिनो समस्यालाई पनि बेमतलब गर्नु हुँदैन । यसलाई हेरचाह गर्न सके आफु पनि सुरक्षित ढंगले यात्रा गर्न सकिन्छ र गाडीको आयु पनि लम्ब्याउन सकिने विज्ञहरु बताउछन् । १. सावधानी अपनाउने नेपालमा हुने दुर्घटना मध्ये अधिकांश घटना खराब सडक, ट्राफिक नियम उल्लंघन जस्ता गतिविधिका कारण हुन्छन् । सावधानी अपनाउन सके गाडी सुरक्षित र आयु लम्ब्याउन सकिने पूर्वाञ्चल ल्युब आयलका सञ्चालक कृष्ण दुलाल बताउछन् । उनी भन्छन्, ‘धेरै पैसा खर्चिएर गाडी किन्नु ठुलो कुरा होइन । यसलाई दुर्घटनाबाट जोगाएर लामोसम्म टिकाउनु महत्वपूर्ण छ ।’ दुलालका अनुसार गाडी बिग्रनुको ८० प्रतिशत कारण चालकको लापरबाही हो । गाडी चलाउँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । गाडीको स्पिडमा धेरै ध्यान दिदाँ गाडीलाई दुर्घटनाबाट जोगाउन सकिन्छ । ट्राफिक नियमको पालना गरेर नै गाडीलाई सुरक्षित राख्न सकिने उनले बताए । २. लूब्रिकेन्ट चेक गर्ने गाडीको समय समयमा आवश्यकता अनुसार लूब्रिकेन्ट फेरि रहनु आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तपाईंले कति किलोमिटर गाडी कुदाउनु भयो, त्यसै अनुसार लूब्रिकेन्ट फेरबदल गरिरहनुपर्छ ।’ सफा आयल र सफा एयर फिल्टरले माइलेज बढाउछ । एयर फिल्टरमा धुलो बढी भयो भनेपनि हावाको फ्लोमा बाधा पुग्ने भएकाले इञ्जिनमा पनि प्रभाव पार्ने दुलालले बताए । कार कम्पनीको निर्देशन अनुसार बेला बेलामा सर्भिसिङ गर्यो भनेपनि गाडीलाई लामो समयसम्म टिकाउन सकिने उनले बताए । ३. गति सिमित गर्ने धेरैजसो गाडी बिग्रनुको प्रमुख कारण खराब सडक रहेको विजय मोटर्स प्रालीका जेनेरल म्यानेजर रबिन्द्र राउतले बताए । उनले भने, ‘हिजोआज बजारमा सकप्रुफ गाडी आएका छन् । तर समतल सडकमा भन्दा खराब बाटोमा गाडी बिग्रने सम्भावना बढी नै हुन्छ ।’ सामान्यतया अधिकांस युवापूस्तामा उच्च गतिमा बाइक चलाउने प्रवृत्ति बढी पाइन्छ । उनी भन्छन्, ‘ गाडी अरु सम्पती जस्तो बढ्दै जाने हुँदैन । यसको आयु समय अनुसार घट्दै जान्छ । हामीले अरुलाई ईज्जत दियो भने अरुले पनि हामीलाई ईज्जत दिन्छन् भने जस्तै गाडीलाई हामीले सुरक्षित राखे गाडीले पनि हामीलाई सुरक्षित राख्छ ।’ ४. बिजी प्रोटेक्सन प्रयोग गर्ने राउतका अनुसार गाडीमा इन्धन पूर्णरुपमा बर्न गर्न नपाउँदा कार्बन थुप्रिएर इञ्जिन बिग्रनसक्छ । त्यसैले बजारमा इन्धनलाई पूर्णरुपमा बर्न गर्न बिजी प्रोटेक्सनको प्रयोग गर्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘ बिजी प्रोटेक्सन नामको रसायनले डिजेल पेट्रोल लाई बर्न गर्छ । र इञ्जिनलाई लामो समयसम्म टिकाउछ ।’ ५. एयर फिल्टर बदल्ने काठमाडौंको धुवाधुलोले वायु प्रदुषण गरिरहेको हुन्छ । कारमा भएको एयर फिल्टरले मानव छातीको जस्तै हावालाई फिल्टर गरिरहेको हुन्छ । एयर फिल्टरलाई बेलाबेलामा चेन्ज गरिरहनुपर्ने राउत बताउछन् । ६. टायरमा सहि मात्रामा हावा भर्ने गाडीलाई सुरक्षित राख्न टायरको भूमिका महत्वपूर्ण हुन्छ । कारलाई घरबाट निकाल्नुभन्दा अगाडी यसको पाङ्ग्रामा हावा चेक गर्नुपर्छ । सामान्यतया टायरमा हावा सकिएपछि जति पायो त्यति हावा भरिन्छ । टायरमा हावा भर्दा सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको राउतले बताए। उनले भने, ‘टायरमा हावा कम छ की छैन मात्र होइन । टायरमा कति मात्रामा हावा भर्ने जाँच गर्नुपर्छ ।’ हावा भर्दा हावाको प्रेसर पनि जाँच गर्नुपर्छ। टायरमा एक्युरेट मात्रामा मात्र हावा भर्नुपर्छ । हावा भर्दा डिजिटल एनलाइजरले टायरको प्रेसर प्वाइन्ट नाप्नुपर्छ । उनी भन्छन्, ‘कारको ड्राइभर सीटको गेटमा कम्पनीले नै स्टीकर टालेको हुन्छ । त्यसमा प्रेसर प्वाइन्ट पनि उल्लेख हुन्छ । त्यसैको आधारमा हावा भर्नुपर्छ ।’ टायरमा अत्याधिक मात्रामा हावा भरियो भने तेल पनि धेरै खर्च हुने उनले बताए । ७. खाल्डाखुल्डीबाट जोगाउने गाडीलाई खाल्डाखुल्डीबाट जोगाएर चलाउनुपर्ने हुन्छ । आजभोली गाडीमा सस्पेन्सनको राम्रो सुविधा हुने भएकाले खाल्डा खुल्डीमा त्यती समस्या त आउदैन । गाडीमा धेरै ब्रेकको प्रयोग गर्दा पनि गाडी बिग्रने सम्भावना हुने राउतले बताए । उनका अनुसार गाडीको गतिलाई गीयरले नै ब्यालेन्स गराएर चलाउनुपर्छ । कुन गतिमा कति गीयर राखेर चलाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
नाडा अटो शोमा डेढ लाख भन्दा कम मूल्यका बाइक, उपभोक्ता तान्न आकर्षक छुट
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न सस्तादेखि महंगा बाइक तथा स्कुटरहरु प्रदर्शनीमा राखिएका छन् । बंगलादेशको कम्पनी रमन मोटर्सले न्युन तथा मध्यम वर्गका उपभोक्तालाई लक्षित यस्ता बाइकहरु डेढ लाख भन्दा कम मूल्यमा बाइक राखेको छ । नेपालको टु ह्विलर बजारमा इन्ट्री लेबलका बाइकहरुको माग उच्च रहेको छ । अटो शोमा बाइकहरु आकर्षक छुटसहित प्रदर्शनीमा राखिएका छन् ।कम्पनीले सबै बाइकमा १२ हजार रुपैयाँ छुट दिएको छ । एडी ८० डिलक्स ८५ सिसि डिसप्लेसमेन्ट भएको यो बाइकको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ । बजार मूल्य १ लाख ५७ हजार रुपैयाँ रहेको यो बाइकमा नाडा अटो शोको अवसरमा कम्पनीले १२ हजार छुट दिएको हो । ६.१४ बिपिएच क्षमताको पावर रहेको यो बाइकको फ्युल ट्यांक क्षमता ९ लिटरको छ । बाइक आरटी अटो मेलामा बाइक आरटी ८० सिसि बाइक एक लाख ३२ हजार रुपैयाँमा किन्न पाइन्छ । ८० सिसि डिसप्लेसमेन्ट रहेको छ । यसको बजार मूल्य भने १ लाख ४४ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले यसमा १२ हजार रुपैयाँ छुट दिएको छ । चिता १०० सिसि शोमा रमन मोटर्सको चिता १०० सिसि बाइक एक लाख ४७ हजार रुपैयाँमा उपलब्ध छ । १०० सिसि डिसप्लेसमेन्ट भएको यो बाइकको फ्युल ट्यांक क्षमता १३ लिटरको छ । यसको ह्विलबेस १२२० एमएम छ भने ग्राउण्ड क्लियरेन्स १५० एमएमको छ । यसले ६० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । यसको बजार मूल्य भने १ लाख ६९ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले यसमा १२ हजार रुपैयाँ छुट दिएको छ । एडी८० एलोइ रमन मोटर्सको बाइक एडी ८० एलोइ बाइक एक लाख ४२ हजार रुपैयाँमा किन्न पाइन्छ । यसको ८० सिसि डिसप्लेसमेन्ट रहेको छ । बजार मूल्य १ लाख ५४ हजार रुपैयाँ रहेको यो बाइकमा कम्पनीले १२ हजार रुपैयाँ छुट दिएको हो ।