चीनले २० जापानी संस्थालाई कालोसूचीमा राख्यो, निर्यातमा कडाइ
काठमाडौं । चीनले सोमबार २० जापानी संस्थालाई ब्ल्याकलिस्टमा थप गरेको छ । यसमा प्रमुख कम्पनीहरू समावेश छन् । वाणिज्य मन्त्रालयले दोहोरो उपयोग सामग्रीको निर्यात रोक्न यो कदम चालेको हो । यो कदमले बेइजिङ र टोकियोबीच महिनौँदेखि चलेको विवादलाई थप उग्र बनाएको छ । 'राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न तथा अप्रसारजस्ता अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नका लागि जापानको सैन्य क्षमता वृद्धिमा संलग्न २० जापानी संस्थालाई निर्यात नियन्त्रण सूचीमा समावेश गर्ने निर्णय गरिएको छ,' वाणिज्य मन्त्रालयल जारी विज्ञप्तिमा भनिएको छ । जापानी प्रधानमन्त्री सानाए टाकाइचीले ताइवानमाथि आक्रमण भएमा टोकियोले सैन्य प्रतिक्रिया दिन सक्ने सङ्केत दिएपछि दुई देशबीचको सम्बन्ध नोभेम्बरमा तनावपूर्ण बनेको थियो । चीनले ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर आफ्नो नियन्त्रणमा लिने बताउँदै आएको छ । चिनियाँ अधिकारीहरूले फेब्रुअरीमा टोकियोको सैन्य क्षमता वृद्धिमा संलग्न रहेको आरोप लगाउँदै दर्जनौं जापानी कम्पनीमाथि निर्यात प्रतिबन्ध लगाएर दबाब बढाएका थिए । सोमबार कालो सूचीमा थपिएका २० संस्थामा जापानको रक्षा क्षेत्रलाई विभिन्न सामान र इन्जिनियरिङ सहयोग पुर्याउने विशेषज्ञता प्राप्त सहायक कम्पनी तथा प्रविधि फर्महरू छन् । यीमध्ये राष्ट्रिय रक्षा अध्ययन संस्थान र ‘मित्सुबिशी इलेक्ट्रिक डिफेन्स एन्ड स्पेस टेक्नोलोजिज कर्पोरेशन’ दुई प्रमुख फर्म रहेका छन् । चीन विश्वको सबैभन्दा ठूला दुर्लभ खनिज उत्पादक र परिष्करणकर्तामध्ये एक हो । दुर्लभ खनिज विद्युतीय सवारी, स्मार्टफोन, मिसाइल निर्देशन प्रणाली र लेजर जस्ता उच्च प्रविधिका उत्पादनहरूका लागि अत्यावश्यक छ । 'जापान गलत बाटोमा अझ अगाडि बढेको छ र ‘नयाँ प्रकारको सैन्यवाद’ लाई तीव्रता दिइरहेको छ,' वाणिज्य मन्त्रालयका प्रवक्ताको नाममा जारी एक अलग्गै विज्ञप्तिमा भनिएको छ । 'चीनको यो कदम पूर्ण रूपमा न्यायोचित, उचित र कानुनी छ', उनले थपे, 'यो निर्णयले चीन र जापानबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानलाई प्रभावित गर्दैन ।' रासस
५ लघुवित्त कारबाहीमा, सञ्चालक र सीईओलाई चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा गरेको सुपरीवेक्षणका क्रममा विभिन्न नियामकीय निर्देशन तथा संस्थागत विनियम उल्लंघन गर्ने सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई समेत सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तसम्म न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम कारबाही गरिएको हो । यस्तै, गणपति लघुवित्तले २०८२ असोज मसान्तमा ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले २०८२ असार मसान्तमा ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तले ६.२० प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेकाले ती संस्थामाथि पनि सोही विनियमावलीअनुसार शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यसैबीच, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावली, २०८० को मर्मविपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको तथा स्पष्ट आधार र कारणबिना सेवामा नरहेको अवधिको पारिश्रमिकसमेत भुक्तानी गरेको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)(क) बमोजिम सञ्चालक समितिलाई भविष्यमा यस्ता कार्य नगर्न सचेत गराइएको छ । त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीअनुसार तोकिएको खर्च सीमा तथा अख्तियारीको पालना नगरेको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१)(क) बमोजिम सञ्चालक समितिलाई सचेत गराइएको छ । यस्तै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई पनि कर्जा नोक्सानी व्यवस्था अन्तर्गत कायम गरिएको ८१ करोड ५५ लाख रुपैयाँ फिर्ता गरी आम्दानी लेखाङ्कन गर्दा कुन-कुन ऋणीसँग सम्बन्धित रकम हो भन्ने यकिन नगरी राष्ट्र बैंकको निर्देशनविपरीत आम्दानी देखाएको पाइएकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)(क) बमोजिम भविष्यमा यस्ता कार्य नदोहोर्याउन चेतावनी दिइएको छ ।
बीमा प्राधिकरणमा ५६८ वटा मुद्दा दर्ता, २२८ फछ्र्यौट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा १७४ वटा उजरी दर्ता भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनि गरेको बीमा प्रतिबीम्बअनुसार समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा १२५ वटा र प्रदेश कार्यालयमा ४९ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ वटासहित कुल ५६८ वटा मुद्दा रहेका छन् । जेठ मसान्तसम्मको अवधिमा १७० वटा मुद्दमा फैसला सुनाएको छ भने ५८ वटा मुद्धामा सहमति गराएको छ । यसरी फैसला र सहमति गरी कुल २२८ मुद्धा फछ्र्यौट भएका छन् । गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा सुधार देखिएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा फैसला र ४६ वटा सहमति गरी कुल १३१ वटा उजुरी फछ्र्यौट गरेको थियो । चालु आर्थिक वर्षको जेठसम्ममा कुल ३४० वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आवको यही अवधिमा ३९४ वटा उजरी फछ्र्योट हुन बाँकी थियो ।
विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको छ : सांसद विष्ट
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकार सुशासनको नारा दिएर फासीवादतर्फ उन्मुख भएको र संविधानमाथि नै खतरा पैदा गरेको आरोप लगाएका हुन् । बैठकको शुरुमा धान दिवसको शुभकामना दिँदै सांसद विष्टले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको एक मार्मिक गीतको प्रसङ्ग उल्लेख गरे । उक्त गीतले सहकारी ठगी, गरिबको रगत र वैदेशिक ऋणको चपेटामा परेको मुलुकको यथार्थ चित्रण गरेको भन्दै उनले सरकारको पृष्ठभूमि नै विवादास्पद रहेको बताए । सांसद विष्टले हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र सो पार्टीका आन्तरिक दस्ताबेजहरूको चर्चा गर्दै रास्वपाभित्र वैचारिक द्वन्द्व देखिएको टिप्पणी गरे । उनले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै रास्वपाको कडा आलोचना समेत गरे । सरकारको कुटनीतिक असफलताका बारेमा चर्चा गर्दै उनले राहदानी (एमआरपी) प्रकरणमा जर्मनीले नेपाली दुतावासलाई बोलाएर गालीगलौज गर्नले नेपालको कुटनीतिक छवि धमिलिएको बताए । उनले भने, ‘अर्थमन्त्रीको दस्ताबेजमा प्रदेश सभा खारेजीको कुरा छ भने पार्टी सभापतिको दस्ताबेजमा पुनर्संरचनाको कुरा छ । ४१०० प्रतिनिधिमध्ये सीमित व्यक्तिले मात्र मतदान गर्न पाएको चर्चा सुनिन्छ, के यो पार्टी विभाजनको सङ्केत होइन ।’ प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गर्दै संवैधानिक अङ्गका प्रमुखहरू र मानवअधिकार आयोगका सदस्यहरूलाई बोलाएर धम्क्याउने काम भएको आरोप लगाए । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्रीलाई भेट्न गएका प्रधानसेनापतिले घण्टौँ कुर्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको कार्यशैली रहस्यमय रहेको बताए । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको र शिक्षा तथा स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको उल्लेख गर्दै सांसद विष्टले सुशासनको नारा केवल भ्रम मात्र भएको दाबी गरे । २०७२ को संविधानलाई निकम्मा बनाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनले सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरे । संविधानको रक्षाका लागि आफूहरू सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्दै सांसद विष्टले सरकारलाई राजनीतिक र कुटनीतिक संवादमार्फत मुलुकका समस्या समाधान गर्न सुझाव दिए ।
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
काठमाडौ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । आज पौडेललाई अदालतमा उपस्थित गराइएको हो । पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेल पक्राउ परेका थिए । सम्पति शुद्धीकरण अनुसन्धानकाे लागि उनलाई प्रहरीले आसार ८ गते पक्राउ गरेको हो ।
जुजु धौको माग उच्च, व्यवसायीलाई भ्याइनभ्याइ
भक्तपुर । आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ । नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व छ । यो दिन अधिकांश नेपालीले दही चिउरा खाने गर्छन् । स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि छ । भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड छ । अरू बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही पनि मध्याह्नसम्म बिक्री गरिसकेका छन् । भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैजुले आज एकै दिनमा एक लाख लिटर दही भक्तपुरबाट बिक्री भएको बताउछन् । उनले भने, ‘आजको दिन हामी दही व्यवसायीलाई भ्याइनभ्याइ छ, आज मध्याह्नसम्ममा अधिकांश पसलमा दही सकिसक्यो । माग धेरै छ, मेसिनमा उत्पादन गरे जस्तो होइन माटोको कतारोमा परम्परागत शैलीमा दही बनाउन गाह्रो हुन्छ, आज एक दिनमा कतारोका दही मात्रै ५० हजार लिटरभन्दा बढी बिक्री भएको छ ।’ भक्तपुरमा सङ्घमा आबद्ध जुजु धौ उत्पादन गर्ने ४९ व्यवसायी छन् । त्यसबाहेक सङ्घमा आबद्ध नभई दही उत्पादन गर्ने र खुला दही उत्पादन तथा बिक्री गर्ने व्यवसायीको सङ्ख्या त्योभन्दा बढी रहेको व्यवसायी बताउँछन् । कतारोको जुजु धौ र खुला दही गरी आज एकै दिनमा भक्तपुरबाट करिब एक लाख लिटरभन्दा बढी दही बिक्री हुने व्यवसायी बताउँछन् । दैनिक २५ हजार लिटर दूध जुजु धौ बनाउनकै लागि भक्तपुर आयात गर्ने गरेको बताउँदै सङ्घका अध्यक्ष सैजुले आजकै दिनका लागि दोब्बर दूध आयात गरिएको बताउछन् । एक लिटरदेखि पाँच लिटरसम्म माटोको भाँडामा बनाउने दही आज प्रतिलिटर रु २५० मा बिक्री भएको छ । उनी भन्छन्, ‘दहीको माग अत्यधिक छ, हिजोदेखि नै बिक्री ह्वात्तै बढेको छ, तीन दिनदेखि दही बनाउन व्यस्त हामीले रातदिन दही बनाएर व्यवस्थापन गर्ने व्यस्त छौँ, आज बिहानैदेखि पसल पसलमा दही लिन आउनेहरुको सङ्ख्या धेरै छ, एक सातादेखि अर्डर भएको ठाउँमा पनि पुर्याउनै पर्यो, साँझसम्म दहीको माग हुन्छ, त्यसैले दही बनाउने काम पनि भइरहेको छ ।’ अर्का व्यवसायी रामसुन्दर सैजुले शुद्ध दूधको अभाव र पर्याप्त पाउन छाडेपछि माग अनुसारको दही बनाउन नसकिएको बताउँछन् । उपत्यकाका विभिन्न ठाउँबाट दहीको ‘अर्डर’ भएको भन्दै उहाँले आजको दिन विशेषगरी दही व्यवसायीलाई भ्याइनभ्याइ नै हुने सुनाउँछन् । भक्तपुरको जुजु धौको नाम सुन्दैमा कतिपयको मुख रसाउने गर्छ । भक्तपुरमा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट भक्तपुर दही लिन आउने पनि धेरै हुन्छन् । तुलनात्करुपमा माटोको भाँडो अर्थात् कतारो, भिउँट र कपमा बनाइने दही स्वादिलो हुने गर्छ । दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएर पछि त्यसमा चिनी, मसला हालेर माटोको भाँडोलाई भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोकै भाँडो र जुटको बोराले छोपेपछि करिब तीन घण्टामै दही तयार हुने गर्दछ । परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहेको बताउँदै व्यवसायी सैंजूले आफूहरुले परम्परालाई शैलीलाई नछाडे पनि धेरैले आधुनिक प्रविधिमा दही बनाउदा जुजु धौको गुणस्तर घट्दै गएकामा उहाँ चिन्ता व्यक्त गर्छन् । जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायत फरक फरक दहीको मूल्य पनि फरकफरक पर्ने गरेको छ । अहिलेका कैयौँ व्यवसायीले भने जुजु धौकै नाममा मेसिनमा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएको राम सैजु बताउँछन् । उनले भने, ‘जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिन्छ, त्यसबाट पानी आउँदैन, दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हँुदैन तर अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने, ‘फ्रिज’मा दही जमाउने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन ।’ परम्परागत शैलीलाई बिर्सिएर अहिले मानिसले आधुनिक शैलीमा डेरी तथा पाउडर दूधलाई ‘फ्रिजिङ’ गरेर जमाएको दहीलाई समेत जुजु धौ नाम दिएकाले दहीको गुणस्तरमा ह्रास आएको व्यवसायीको गुनासो छ । संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्यले दहीको राजा अर्थात् उत्कृष्ट दही भएकाले मल्लकालमा राजाले समेत यहाँको दही खाने भएकाले भक्तपुरको दहीलाई जुजु धौ भनिएको बताए । भक्तपुरका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेकाले भक्तपुरको दहीलाई उत्कृष्ट दहीकारुपमा लिने गरेको उनको भनाइ छ ।
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि सोमबारआयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए । 'अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,' सभामुख अर्यालले भने, 'संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।' जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत गर्दै सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए । सचिवालयले सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मंगलबार उक्त अभिमुखीकरण कार्यक्रम अयोजना गरेको हो ।
गुल्मीमा ११ प्रतिशत मात्रै धान रोपाईँ, खडेरीले किसान चिन्तित
गुल्मी । गुल्मीमा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान रोपाइँमा समस्या परेको छ । गुल्मीमा यस वर्ष हालसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार आइतबारसम्म ७१९.५१ हेक्टरअर्थात् ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस वर्ष धानखेती हुने अनुमान गरिएको ६ हजार ५४१ हेक्टर क्षेत्रफलमध्ये राष्ट्रिय धान दिवस मनाइदै गर्दा जिल्लाका अधिकांश खेत अझै बाँझै छन् । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले पर्याप्त वर्षा नहुँदा पानीको अभावले यस वर्ष धान रोपाइँ प्रभावित भएको बताए । उनका अनुसार, त्यहाँका अधिकांश ठूला फाँटहरुमा पानीको अभावका कारण रोपाइँ हुन सकेको छैन । वर्षा भएपछि मात्र रोपाइँले गति लिनेछ । इस्मा गाउँपालिका–६ चौरासी फाँटका अगुवा कृषक कृष्ण घिमिरेका अनुसार गत वर्ष असार १५ सम्म जिल्लाको सबैभन्दा ठूलो फाँट चौरासी फाँटमा ८० प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने उक्त फाँटमा आईतबारसम्म करिब १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमै वर्षा नहुनु, सिँचाइको अभाव र रासायनिक मल सहज रूपमा उपलब्ध नहुनुले किसान समस्यामा परेको कृषक घिमिरेले बताए । धुर्कोट गाउँपालिका–६ सिस्तुङका किसान मेघनाथ अर्यालले पनि पर्याप्त पानीको अभावका कारण समयमा धान रोप्न नसकिएको बताए । यस वर्ष रोपाइँका लागि पानी नभएको कारण केही ढीला हुने उनले बताए । गुल्मीका अधिकांश धान उत्पादन हुने क्षेत्र अझै पनि आकाशे पानीमा निर्भर छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भएको र यसले यस वर्षको धान उत्पादनमा समेत असर पार्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गुल्मीमा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट राम्रो धान उत्पादन हुने क्षेत्रकारुपमा परिचय छ ।