१०० दिनमा ऊर्जामन्त्री विराजभक्तका ७५ काम
काठमाडौं । नयाँ सरकार गठन भएको १०० दिनको अवधिमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ऊर्जा, विद्युत, सिंचाइ, जलस्रोत व्यवस्थापन, नदी नियन्त्रण, नवीकरणीय ऊर्जा, जलवायु तथा संस्थागत सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानून मन्त्रालयमा पठाइएको छ भने बहुउद्देश्यीय आयोजना व्यवस्थापन कम्पनी गठनको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको छ । ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति-२०८३, विद्युत् खरिद सम्झौता (पीपीए) समीक्षा प्रतिवेदन, विद्युत आयोजनाको अनुमतिपत्र समीक्षा प्रतिवेदन तथा ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी कार्ययोजना तयार गरिएको छ । मन्त्रालयका अनुसार नेपाल विद्युत प्राधिकरणको संरचनागत सुधारको रोडम्याप तयार गर्न समिति गठन गरिएको छ भने सिंचाइ आयोजनाको सञ्चालन तथा मर्मतसम्भार निर्देशिका, कृषि तथा औद्योगिक उत्पादनसँग जोडिएको सिंचाइ व्यवस्थापन अवधारणा, तराई-मधेश क्षेत्रका लागि खडेरी उत्थानशीलता रणनीति, भूमिगत जल अनुगमन प्रणाली, सुनकोशी-मरिन, भेरी-बबई तथा रानी जमरा कुलरिया आयोजनाको कार्यढाँचा र बहुउद्देश्यीय आयोजनाको निर्णय सहायक प्रणालीसमेत तयार गरिएको छ । आन्तरिक विद्युत माग तथा खपत योजनाको प्रारम्भिक अध्ययन सम्पन्न भएको मन्त्रालयले जनाएको छ । विद्युत पूर्वाधार विस्तारतर्फ हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका अवरुद्ध १५ वटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको, दोधोधारा-बरेली र इनरुवा-पूर्णिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइनका लागि संयुक्त कम्पनी गठन प्रक्रिया अघि बढाइएको तथा ढल्केबर–बालगंगा, लालबन्दी-सलिमपुर, बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारण लाइन, बाह्रबिसे सबस्टेशन तथा मस्र्याङ्दी करिडोर अन्तर्गत मार्कीचोक-भरतपुर खण्डको निर्माण सम्पन्न गरिएको छ । न्यू बुटवल-लमही ४०० केभी, दैलेख-कालिकोट-जुम्ला तथा बालकुमारी-ठिमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ भने कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणका लागि वितरण लाइन विस्तार प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयले नेपाल विद्युत प्राधिकरणमार्फत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै वेबसाइटमा ‘एनईए साथी’ च्याटबट सञ्चालनमा ल्याएको, वास्तविक समयमै विद्युत अवरोधको सूचना उपलब्ध गराउने प्रणाली सुरु गरेको तथा नो–लाइट गुनासो एक दिन, नयाँ जडान तीन दिन र मिटर परिवर्तन एक दिनभित्र गर्ने समयसीमा आधारित सेवा लागू गरेको जनाएको छ । वितरण केन्द्रमार्फत विद्युत आपूर्ति, राजस्व संकलन, चुहावट नियन्त्रण, सामाजिक सञ्जालमार्फत गुनासो व्यवस्थापन तथा सूचना प्रणाली सञ्चालनलाई प्रभावकारी बनाइएको छ । यस अवधिमा ५० हजार मिटर वितरण गरिसकिएको, थप चार लाख मिटर खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको तथा आवश्यक ट्रान्सफर्मर र लाइन सामग्रीको पर्याप्त व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । प्रगति विवरणअनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थपिएसँगै राष्ट्रिय जडित क्षमता ४ हजार २४२ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण लाइन ७९ सर्किट किलोमिटर थपिएको, विभिन्न क्षमताका २७ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति तथा ९ वटा प्रसारण लाइनको निर्माण अनुमति जारी गरिएको छ । थप १ हजार ५२३ मेगावाट बराबरको जलविद्युत उत्पादन अनुमति र १ हजार ५७१ मेगावाट बराबरको सर्वेक्षण अनुमति जारी गरिएको छ भने करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म करिब २ अर्ब १६ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन भएकोमा यस अवधिमा मात्रै ७४ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ । साथै १५० जलविद्युत आयोजनालाई कर तथा भन्सार छुट र ३४ आयोजनालाई विष्फोटक पदार्थ सुविधा सिफारिस गरिएको छ । नवीकरणीय ऊर्जातर्फ कार्बन व्यापार नियमावलीअनुसार कार्बन राजस्व इकाई गठन गरिएको, ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको तथा अन्तर्राष्ट्रिय साझेदारीमा विभिन्न परियोजना प्रस्ताव पेश गरिएको मन्त्रालयले जनाएको छ । ग्रामीण क्षेत्रमा लघु तथा साना जलविद्युत, सौर्य मिनिग्रिड, सौर्य खानेपानी, सौर्य सिंचाइ, रुफटप सौर्य प्रणाली विस्तार गरिएको छ भने २८ हजार विद्युतीय चुलो, चार हजार सुधारिएको चुलो, १ हजार ६१० घरायसी बायोग्यास प्लान्ट तथा ८७५ संस्थागत विद्युतीय चुलो जडान गरी स्वच्छ ऊर्जाको पहुँच विस्तार गरिएको छ । सिंचाइ तथा नदी व्यवस्थापनतर्फ बबई, सिक्टा, रानी जमरा कुलरिया, महाकाली तेस्रो चरणलगायत आयोजनाका लागि १५ अर्ब १४ करोड रुपैयाँ स्रोत सहमति प्राप्त भई खरिद प्रक्रिया अघि बढाइएको छ । विभिन्न सिंचाइ प्रणालीमार्फत थप २ हजार ९४८ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार गरिएको ३७.५ किलोमिटर तटबन्ध निर्माणबाट १४९ हेक्टर जमिन उकासिएको तथा २० जोखिमयुक्त पहिरो व्यवस्थापन, ३५ चेकड्याम, ७४ डिप ट्युबवेल जडान र नदी नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । मनसुनजन्य विपद् पूर्वतयारीका लागि ६२ नदीमा नदी व्यवस्थापन कार्यक्रम अघि बढाइएको तथा जल तथा मौसम विज्ञान विभागले विशेष बाढी र मौसम बुलेटिनमार्फत विपद् न्यूनीकरणमा योगदान दिएको उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार ऊर्जा तथा जलस्रोत क्षेत्रसँग सम्बन्धित द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई पनि तीव्रता दिइएको छ । नेपाल-भारत संयुक्त संयन्त्रका बैठक सम्पन्न भएका छन् भने जर्मनी, जापान, दक्षिण कोरिया, भारत, संयुक्त अधिराज्य, युरोपियन युनियन, विश्व बैंक र एशियाली विकास बैंकलगायतका विकास साझेदारसँग ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा सहकार्य विस्तारका लागि उच्चस्तरीय छलफल भएको छ । मन्त्रालयले हालसम्म प्राप्त १८ हजार ७९६ गुनासोमध्ये १८ हजार ३९८ फछ्र्यौट गरेको, चालु आर्थिक वर्षमा ४६.८२५ प्रतिशत वित्तीय प्रगति हासिल भएको तथा ३२५ बेरुजु फछ्र्यौट गरी मन्त्रालयमा एनजीओएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
चम्किँदै भिनिसियस जुनियर
काठमाडौं । विगतका केही वर्षमा भिनिसियस जुनियरले आफू विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक भएको प्रमाणित गरिसकेका छन् । ब्राजिलियन क्लब फ्लामेङ्गोको एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका भिनिसियस धेरै समय नबित्दै युरोपका ठूला क्लबहरूको नजरमा परे । उनी त्यतिबेलाका सबैभन्दा रोमाञ्चक युवा प्रतिभामध्ये एक थिए। भिनिसियस केवल १६ वर्षको हुँदा नै स्पेनिस महारथी रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्न पहल गर्यो । तत्काल स्पेन जान उमेर नपुगे पनि उनले १८ वर्ष पूरा गरेपछि २०१८ मा क्लबमा आबद्ध हुने सहमतिसहित रियलले उनको लागि ३ करोड ८० लाख पाउन्ड ट्रान्सफर शुल्क तिरेको थियो । त्यो स्थानान्तरण निकै चर्चित बन्यो । त्यसबेला भिनिसियस ब्राजिलका इतिहासकै दोस्रो सबैभन्दा महँगा फुटबलर बने । उनीभन्दा महँगो ट्रान्सफर केवल नेयमारको थियो, जो आफ्नो बाल्यकालको क्लब सान्तोसबाट करिब ४ करोड ८६ लाख पाउन्डमा बार्सिलोना पुगेका थिए । त्यसबाहेक १९ वर्षभन्दा कम उमेरका खेलाडीका लागि कुनै क्लबले तिरेको त्यो त्यतिबेलासम्मकै सबैभन्दा ठूलो ट्रान्सफर रकम पनि थियो । रियल म्याड्रिडलाई उनी भविष्यका सुपरस्टार बन्नेमा गहिरो विश्वास थियो । रियलको त्यो विश्वास सही सावित भयो । भिनिसियसले अहिलेसम्म ला लिगामा २४२ खेल खेल्दै ७७ गोल गरेका छन् भने ४१ गोलका लागि अवसर सिर्जना गरेका छन् । यसअनुसार उनले प्रत्येक ९० मिनेटमा औसत ०.६४ गोल योगदान दिएका छन् । उपाधिको हिसाबले पनि उनको उपलब्धि प्रभावशाली छ । उनले तीन ला लिगा उपाधि, दुई कोपा डेल रे, दुई युइएफए च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । साथै व्यक्तिगत रूपमा पनि उनले थुप्रै सम्मान प्राप्त गरेका छन् । उनले खेलेका दुवै च्याम्पियन्स लिग फाइनलमा निर्णायक प्रदर्शन गरेका छन् । २०२१–२२ मा लिभरपुलविरुद्ध र २०२३–२४ मा बोरुसिया डर्टमन्डविरुद्ध उनले विजयी गोल गर्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । सन् २०२४ को बालोन डीओर जित्ने होडमा पनि उनी निकै नजिक पुगेका थिए । उत्कृष्ट सिजन बिताए पनि अन्ततः उक्त प्रतिष्ठित अवार्ड म्यानचेस्टर सिटीका रोड्रीले जितेका थिए । तर २०२६ को फिफा विश्वकपमा भने भिनिसियस उत्कृष्ट लयमा देखिएका छन् । यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा उनको यात्रा सधैं यति सहज थिएन । यसअघि भएका प्रमुख प्रतियोगिताहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि ब्राजिलका समर्थकहरू उनीप्रति निराश बन्दै गएका थिए । क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट राष्ट्रिय टोलीमा पनि त्यस्तै योगदानको अपेक्षा गरिएको थियो, तर त्यो पूरा हुन सकेको थिएन । ब्राजिलियन फुटबल विश्लेषक मार्कस आल्भेसका अनुसार अहिलेसम्म भिनिसियस ब्राजिल राष्ट्रिय टोलीको सबैभन्दा प्रभावशाली खेलाडी बनिसक्नुपर्ने अपेक्षा गरिएको थियो । ‘तर २०२२ को विश्वकप क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएको चार वर्ष बितिसक्दा पनि उनीबारेका शंका पूर्ण रूपमा हटेका छैनन्,’ उनले भने । पूर्व ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि रियल म्याड्रिडमा देखिने उत्कृष्ट प्रदर्शन राष्ट्रिय टोलीमा दोहोर्याउन नसकेको भन्दै सार्वजनिक रूपमा उनको आलोचना गरेका थिए । सन् २००३ मा ब्राजिलका लागि एक खेल खेलेका फाबियो लुसियानोले भनेका थिए, ‘भिनीसँग एउटा समस्या छ । दुर्भाग्यवश, नेयमार टोलीमा नहुँदा उनी आफैले नेयमार बन्नुपर्छ भन्ने सोच्न थाल्छन् । त्यो उनको काँधमा धेरै ठूलो जिम्मेवारी हो ।’ ‘त्यो बोझ उनले आफ्नो काँधबाट हटाउनुपर्छ र राष्ट्रिय टोलीले पनि त्यो जिम्मेवारी बाँड्नुपर्छ । तपाईं नेयमार हुनुहुन्न । सबै कुरा एक्लैले समाधान गर्न सक्नुहुन्न । हामी सबैले तपाईंलाई सहयोग गर्नेछौं । तपाईंले सबैभन्दा राम्रो गर्न सक्ने काममा ध्यान दिनुहोस् र आफ्नै शैलीमा खेल्नुहोस् ।’ भिनिसियसले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न पनि निकै समय कुर्नुपरेको थियो । उनले सन् २०२२ मा चिलीविरुद्धको विश्वकप छनोट खेलमा आफ्नो १९औं अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेका थिए । २०२१ को कोपा अमेरिका, २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिकासहित तीन प्रमुख प्रतियोगितामा उनले कुल ६१७ मिनेट खेल्दै मात्र तीन गोल र दुई असिस्टमात्र गरेका थिए । ठूला प्रतियोगिताबाहेक पनि ब्राजिलका लागि उनको समग्र प्रदर्शन समर्थकहरूले राखेको उच्च अपेक्षाअनुसार थिएन । यस विश्वकपअघि उनले खेलेका ४९ अन्तर्राष्ट्रिय खेलमा औसत प्रत्येक दुई खेलमा एकपटक मात्र गोलमा प्रत्यक्ष योगदान दिएका थिए । तथ्याङ्कका हिसाबले हेर्दा पनि उनले प्रत्येक ९० मिनेटमा औसत २.५ पटक शट सिर्जना गर्ने अवस्थासम्म बल पुर्याएका थिए भने १.५ स्पष्ट गोल अवसर सिर्जना गरेका थिए । तर २०२६ विश्वकपमा लगभग हरेक तथ्याङ्कमा उल्लेखनीय सुधार देखिएको छ । यसपटक उनले आफ्नो देशका लागि निर्णायक भूमिका खेल्न थालेका छन् । ब्राजिलका लागि विश्वकपका सुरुआती चार खेलमै उनले चार गोल र एक असिस्ट गरेका छन् । यससँगै उनी विश्वकप गोल्डेन बुटको बलियो दाबेदार बनेका छन् । यो लेख तयार पार्दासम्म केवल केलियन एम्बाप्पे (६), लियोनल मेसी (६), अर्लिङ हालान्ड (५) र ह्यारी केनले (५) ले मात्र उनीभन्दा बढी गोल गरेका छन् । अन्य पठनीय सामग्रीहरू : गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् । सचिव बस्नेतले गत वर्षको भदौ २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । उनले डिस्कोर्ड च्यानल, ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गरे । ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउनेजस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उनको भनाइ छ । सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढङ्गले आधारहीन आरोप लगाएको बस्नेतले बताए । उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको सेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उनले यस्ता गतिविधिको एमालेले राजनीतिक ‘हिसाबकिताब’ गर्ने चेतावनी दिए । सचिव बस्नेतले भने, ‘राज्यविरुद्ध आतंक सिर्जना गर्ने प्रयास भइरहेको छ । डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फैलाउने माध्यम बनाइएको छ । भदौ २३ र २४ गतेका घटना नेपालमाथिको आक्रमण थिए । ती घटनामा डिस्कोर्ड च्यानलको प्रयोगदेखि लिएर ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’जस्ता साम्राज्यवादी देशसँग आबद्ध भनिएका समूह तथा सुदन गुरुङद्वारा परिचालित पङ्क्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो ।’ पार्टीले सुरु गरेको जागरण अभियानमार्फत यी तमाम भ्रमबारे सुरुमा पार्टीका नेता तथा कार्यकर्तालाई र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको उनले बताए । भ्रमको खेती गर्नेहरूविरुद्ध पार्टी पङ्क्ति वैचारिक र सांगठनिक रूपमा सशक्त ढङ्गले प्रस्तुत हुने उद्घोषसमेत गरे ।
नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्याउन सुरू
काठमाडौं । नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिइ हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिने प्रमुख उपलब्धिहरु आज सिंहदरबारबाट सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकमैत्री सेवा प्रवाह गरी नागरिकप्रति सरकारको विश्वास र भरोसा अभिवृद्धि गर्न सो कार्यको थालनी गरिएको बताए । प्रगति विवरणअनुसार हालसम्म दुई लाख छ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ भने सम्बन्धित कार्यालयले पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमा पुर्‍याइएको छ । सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने करिब ५०० कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिइएको सरकारले जनाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको साथै १२० स्थानीय तहबाट स्थायी लेखा नम्बरसहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको विवरणमा जनाइएको छ । सरकारले छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र हालसम्म २३ लाख ७५ हजार १८१ थान छपाइ सम्पन्न भएको र यही असार मसान्तसम्म २९ लाख थान छपाइ सकिने सार्वजनिक विवरणमा जनाइएको छ । यसैगरी सबै जिल्ला प्रशासन कार्यालयबाट क्रमशः एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न गठन गरिएको कार्यदलबाट प्राप्त सुझाव बमोजिम हाल ३२ वटै जिल्लामा एकद्वार सेवा प्रणाली कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको जनाइएको छ ।
जति चुनौती आए पनि एमालेको यात्रा रोकिन्न : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधहरूलाई चिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने बताएका छन् । ललितपुरमा शनिबार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले नेपाली समाजको जागरण र रूपान्तरणमा पार्टीले असाधारण र अद्वितीय भूमिका निर्वाह गरेको दाबी गरे । जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको उनको भनाइ छ । अध्यक्ष ओलीले पार्टीले विगतदेखि नै विभिन्न किसिमका प्रहार, आक्रमण र कुप्रचारहरू झेल्दै आएको स्मरण गरे । राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै उनले परिवर्तनको अभियान सधैँ सोझो र सहज मार्गबाट मात्र अघि नबढ्ने उल्लेख गरे । नदीले विभिन्न घुम्ती र अवरोधहरू छिचोल्दै आफ्नो मार्ग तय गरेझैँ राजनीतिक आन्दोलनले पनि अनेकौँ मोडहरू पार गर्नुपर्ने उनले बताए । उनले भने, ‘हाम्रो पार्टी गौरवपूर्ण सङ्घर्ष र बलिदानको इतिहास बोकेको, नेपाली समाजको जागरण र परिवर्तनमा असाधारण तथा अद्वितीय भूमिका निर्वाह गरेको पार्टी हो । जनचेतनाको विकास, जागरण र परिवर्तन के हो भन्ने कुरा जनतालाई बुझाउने, हामी कहाँ जान हिँडेका हौँ, हाम्रो कर्तव्य के हो, कुन बाटोबाट, कुन तरिकाले र कसरी लक्ष्यमा पुगिन्छ भन्ने विषयमा स्पष्टता दिँदै जनतालाई नेतृत्व गरेर सफलतापूर्वक अगाडि बढिरहेको पार्टी यही हो । यस पार्टीले विभिन्न समयमा अनेकौँ प्रहार, आक्रमण र कुप्रचार सहनुपरेको छ ।’ पार्टीले अहिले केही गम्भीर धक्का र चुनौतीहरू सामना गर्नुपरिरहेको स्वीकार गर्दै अध्यक्ष ओलीले यस्ता परिस्थितिबाट विचलित नभई अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरे ।
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी दिए । उनका अनुसार १७ बुँदाको प्रगति ८० प्रतिशत माथि छ भने १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ । वर्तमान सरकारले गत चैत १३ गते समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यसहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो ।
५० बुँदे एजेन्डासहित इप्पानको भिजन-२०२९ सार्वजनिक, उद्योगलाई सस्तोमा बिजुली
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत, कानुनी, वित्तीय तथा संरचनागत समस्या समाधानका लागि ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ । इप्पानका नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा शुक्रबार र शनिबार धुलिखेलमा बसेको दोस्रो कार्यसमिति बैठकले उक्त कार्ययोजना पारित गर्दै निजी ऊर्जा क्षेत्रको लगानी संरक्षण, विद्युत उत्पादन विस्तार तथा नीतिगत सुधारलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको हो । इप्पानले नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर रोकिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए तत्काल खुलाउन सरकारसँग पहल गर्ने जनाएको छ । साथै स्टोरेज तथा पम्प स्टोरेज आयोजनाका लागि छुट्टै पीपीए दर निर्धारण, मूल्यवृद्धिअनुसार पीपीए दर पुनरावलोकन, प्रसारण लाइन ढिलाइ हुँदा लगानीकर्तालाई क्षतिपूर्तिको व्यवस्था तथा निजी आयोजनाको ग्रिड जडान प्रक्रिया सरल बनाउन पहल गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने नीतिगत व्यवस्था, वन क्षेत्रको जग्गा प्राप्ति र रुख कटान प्रक्रिया एक वर्षभित्र टुंग्याउने, विद्युत व्यापारलाई सहज बनाउने, ऊर्जा क्षेत्रका लागि विशेष कोष स्थापना गर्ने, ९ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने, हरित वित्त र ग्रीन बन्डमार्फत लगानी विस्तार गर्ने लगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको छ । त्यसैगरी उद्योगलाई सस्तो विद्युत उपलब्ध गराई ‘मेड इन नेपाल’ उत्पादनलाई प्रतिस्पर्धी बनाउने, विद्युतीय सवारी र विद्युतीय खाना पकाउने प्रवर्द्धन गर्ने, ब्याट्री स्टोरेज र हरित हाइड्रोजनमा लगानी बढाउने तथा कार्बन व्यापारलाई प्रोत्साहन गर्ने योजना पनि इप्पानले अघि सारेको छ । बैठकले ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा प्रभावकारी समन्वय र नीतिगत पैरवीका लागि १६ वटा समिति तथा उपसमिति गठन गरेको छ । साथै गणेश कार्कीको नेतृत्वमा ११ सदस्यीय सल्लाहकार समिति र दिनेशकुमार घिमिरेको नेतृत्वमा ९ सदस्यीय विज्ञ सल्लाहकार समिति गठन गर्ने निर्णय पनि गरेको छ । यसैबीच, इप्पानले आफ्नो प्रमुख कार्यक्रम ‘हिमालय हाइड्रो एक्स्पो’को पाँचौं सँस्करण आगामी २०८३ माघ २, ३ र ४ गते (१६-१८ जनवरी २०२७) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।
मन्त्रालय घटाएर २० अर्ब बचत गरेको सरकारको दाबी
काठमाडौं । सरकारले मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब रुपैयाँसम्म बचत हुने दाबी गरेको छ। सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताए । पोखरेलका अनुसार सरकारले आफ्नो वाचापत्रअनुसार मन्त्रालय संख्या घटाउने निर्णय कार्यान्वयन गर्दै १८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । उनले मन्त्रालयको संख्या घटाइएपछि प्रशासनिक तथा सञ्चालन खर्चमा उल्लेख्य कटौती हुने र त्यसबाट वार्षिक २० अर्ब रुपैयाँसम्मको व्यवहारिक बचत हुने दाबी गरे । ‘हामीले वाचापत्रमै मन्त्रालय घटाउने कुरा गरेका थियौं । त्यहीअनुसार सरकारले १८ सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । मन्त्रालयको संख्या घट्दा वार्षिक २० अर्ब रुपैयाँ व्यवहारिक बचत हुनेछ,’ उनले भने ।