मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित
काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ । विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए । जसमा मेस्सीले कुल एक हजार १७९ अंक प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इङ्ल्यान्डका जुड बेलिंघम (४७० अंक) लाई पछि पारेका थिए । एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकारहरू तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरू मतदाता रहेका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका हुन् । मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले पाँच अंक, दोस्रो स्थानले तीन अंक र तेस्रो स्थानले एक अंक प्राप्त गरेका थिए। जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए । विश्वभरका खेल पत्रकारहरूको मतका आधारमा लियोनल मेस्सीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो । लियोनल मेस्सी उनन्चालीस वर्षीय मेस्सी विश्वकपको इतिहासमा ६ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए । लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाउन सफल भए । विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि मेस्सी निकै भावुक बनेका थिए । अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए । उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, ‘यो पीडा असाध्यै ठूलो छ । यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले अन्तिमसम्म दिएको संघर्ष, असम्भवजस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणहरूलाई म सधैँ सम्झिरहनेछु ।’ सन् २०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको टोलीका लागि मेस्सी वास्तविक धड्कन बने। विशेषगरी निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे । आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाले प्रतियोगिताभर कठिन अवस्थाबाट खेललाई आफ्नो पक्षमा पार्ने र अतिरिक्त समयमा संघर्ष गरेर जित निकाल्ने कला प्रदर्शन गरेको थियो, जसको केन्द्रमा मेस्सी नै थिए । ऐतिहासिक कीर्तिमानहरू मेस्सीले २०२६ को विश्वकपपछि आफ्नो नाममा अनेकौँ कीर्तिमान थपेका छन् । पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । विश्वकपमा उनको कूल गोल संख्या २१ पुगेको छ भने किलियन एम्बाप्पेको २२ गोल रहेको छ । त्यस्तै विश्वकप इतिहासमा सर्वाधिक १२ असिस्ट गर्ने खेलाडी पनि उनी नै हुन् । उनको नाममा थुप्रै कीर्तिमानहरू पनि छन् । उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, विश्वकपमा सर्वाधिक २३ खेल जित्ने, नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने, लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान तथा किशोरावस्था २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन् । ६ पटकको विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनालाई तीन पटक फाइनलमा पुर्याएका छन् । अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जित्दा मेस्सीले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । विश्वकपमा एकभन्दा बढी पटक गोल्डेन बल जित्ने उनी एकमात्र खेलाडी हुन् । यस पटक (२०२६) को विश्वकपमा उनले सिल्भर बल पुरस्कार प्राप्त गरेका थिए । किलियन एम्बाप्पे सत्ताइस वर्षीय फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले । उनले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कूल गोल संख्या २२ पुर्याए र विश्वकप इतिहासको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए । सन् २०१८ को विश्व च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्सले यस पटक पदकविहीन रूपमा प्रतियोगिता समाप्त गर्यो । विश्वकपमा इङ्ल्यान्डसँगको रोमाञ्चक तेस्रो स्थानको खेलमा फ्रान्स ६–४ ले पराजित भएको थियो । यद्यपि उक्त खेलमा दुई गोल गरेका एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै विश्वकप इतिहासमा दुई पटक सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे । उनले आफूलाई विश्व फुटबलका महान् स्ट्राइकरहरूमध्ये एकका रूपमा थप स्थापित गरेका छन् । जुड बेलिंघम विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिने जुड बेलिंघम २०२६ को विश्वकपमा इङ्ल्यान्डका नायक बने । उनले सात गोल गर्दै आफ्नो टोलीलाई तेस्रो स्थान दिलाए। विश्वकप इतिहासमा कुनै मिडफिल्डरले गरेको यो सर्वाधिक गोल हो । २३ वर्षीय बेलिंघमले एकै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने बेलायती खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । अन्तिम १६ मा मेक्सिकोविरुद्ध तथा क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई/दुई गोल गर्दै उनले सन् १९८६ मा डिएगो म्याराडोनापछि लगातार दुई नकआउट खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए ।
घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु
काठमाडौं । झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ । दमक नगरपालिका-१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे श्रीमान्-श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर क्षती पुगेको थियो । श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नास–आइटी एक्सपो आयोजना हुँदै, यस्ता छन् आकर्षण
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले नास–आइटी एक्स्पो आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी नोभेम्बर २१ देखि २२ गतेसम्म एक्स्पो गर्न लागेको हो। एक्स्पो हेरिटेज गार्डेन, सानेपामा आयोजना हुने जनाइएको छ । दुई दिनसम्म सञ्चालन हुने एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीति-निर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने लक्ष्य कम्पनीको छ। नास–आईटी एक्स्पो २०२५ को उल्लेखनीय सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोले प्रविधि कम्पनीहरूलाई आफ्ना नवीन समाधानहरू प्रस्तुत गर्ने, व्यवसायहरूसँग प्रत्यक्ष रूपमा जोडिने तथा दीर्घकालीन सहकार्य र साझेदारी विस्तार गर्ने अझ सशक्त मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । साथै यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास कम्पनीले लिएको छ । सन् २०२५ मा सम्पन्न एक्स्पोमा २५ सयभन्दा बढी सहभागी तथा ३० भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता रहेको थियो । एक्स्पोमा उद्योगका अग्रणी व्यक्तित्वहरु, सरकारी प्रतिनिधिहरु, विभिन्न देशका राजदूतहरू, लगानीकर्ताहरु, कर्पोरेट प्रतिनिधिहरु, स्टार्टअपहरू, विद्यार्थीहरू तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी कम्पनीहरूले नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने, महत्त्वपूर्ण व्यापारिक सम्पर्क विस्तार गर्ने, नयाँ उत्पादन तथा समाधानहरू प्रस्तुत गर्ने र दीर्घकालीन साझेदारीका अवसरहरू सिर्जना गर्ने अवसर प्राप्त गरेका थिए । नेपालको बढ्दो प्रविधि क्षमतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आईटी समाधानहरूको प्रवर्धन गर्ने कम्पनीले जनाएको छ । एक्स्पोले प्रविधि कम्पनीहरू र विभिन्न व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्दै नवप्रवर्तन, ज्ञान आदानप्रदान तथा नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
४० बढी जिल्लामा हदबन्दीभन्दा बढी जग्गाको अनुगमन गरिने
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । विभागले बुधबार (आज) ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । विभागले जारी गरेको पत्रअनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ–संस्थाले स्वीकृत उद्देश्यअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, यसअघि पटकपटक पत्राचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो । भूमि सम्बन्धी ऐन अनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ । ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफै फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार (आज) शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन आदेश गरेको हो । सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदर गर्न आदेशको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । अदालतले उक्त विषयमा १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ । सांसद शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको थियो ।
‘कुलडाउन’ हुन समय नलिई अधुरा काम पूरा गर्न कार्यक्षेत्रमा खटिएँ : पहाडी
काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले आफू ‘कुलडाउन’ हुन समय नलिई कम्पनीका अधुरा काम पूरा गर्न र कम्पनीलाई थप उचाइमा पुर्याउन कार्यक्षेत्रमा खटिएको बताएकी छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्पनीको हितमा आफू पूर्ण प्रतिबद्ध भएर काम गरिरहेको बताएकी हुन् । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेपछि पहाडी स्वतः निलम्बनमा परेकी थिइन् । उनी २०८१ भदौ २१ मा नेपाल टेलिकमको पहाडी प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । तर अदालतबाट सफाइ पाएपछि पुनः कार्यालय फर्किएकी हुन् । आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । पहाडीसहित टेलिकमका १४ जना कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । हाल ती सबैजनाले सफाइ पाएका छन् । उनले ‘न्याय मरेको छैन, न्याय जीवितै छ’ भन्दै कर्मचारीहरूलाई नीति तथा नियमको पालना गर्दै नडराई काम गर्न आग्रह गरिन् । कम्पनी र कर्मचारीको हितका लागि अझ बढी प्रतिबद्ध भएर काम गर्न उनले कर्मचारीहरूलाई शुभकामना पनि दिइन् । प्रबन्धक निर्देशक पहाडीले भनिन्, ‘यस कम्पनीमा पुनर्बहाली मेरोमात्र भएको छैन, अरू साथीहरूको पनि पुनर्बहाली भएको छ र उहाँहरूलाई पनि हामीले आ-आफ्नो कर्म क्षेत्रमा खटाइसकेका छौं ।’ कर्मचारीहरूलाई अहिले केही समय कुलडाउन हुन समयसमेत दिएको उनले बताइन् ।
काठमाडौं महानगरले महेन्द्र भवन विद्यालयलाई नमूना विद्यालय बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौं महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबीच सम्झौता भएको हो । सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे । सम्झौतामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, मानव स्रोत सुदृढीकरण तथा दीर्घकालीन गुरुयोजनामार्फत विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ‘नमूना विद्यालय’ बनाउने उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महेन्द्र भवन र महानगरबीच भएको सहकार्य विद्यालयको शैक्षिक पुनर्जीवनको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरिन् । विगतमा उत्कृष्ट शैक्षिक पहिचान बनाएको महेन्द्र भवनलाई पुनः उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने जिम्मेवारी महानगर र गुठी दुवैको रहेको उनको भनाइ छ । उनले महेन्द्र भवनलाई ‘सेन्टर अफ एजुकेसन एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताइन् । विद्यालयलाई पुनः उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘महेन्द्र भवन माध्यमिक विद्यालय, काठमाडौं र महानगरबीचको यो सम्झौता विद्यालयका लागि टर्निङ प्वाइन्टका रूपमा होस् । यो अब उकालो चढ्ने टर्निङ प्वाइन्ट हुनुपर्छ । महेन्द्र भवन विद्यालय पहिले धेरै राम्रो थियो । सबैलाई त्यो विद्यालयमा पढ्न मन लाग्थ्यो । त्यो विद्यालयले छुट्टै पहिचान बोकेको थियो । हाल विद्यालय केही ‘डाउनफल’ मा गएको भन्ने छ ।’ सम्झौताअनुसार अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राखिनेछ, जसका लागि आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाइने सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा विद्यालय सञ्चालनका लागि निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको छ । समितिको संयोजक काठमाडौं महानगरपालिकाका उपप्रमुख रहनेछन् भने गुठीका अध्यक्ष सह–संयोजक हुनेछन् । सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, महानगरको शिक्षा विषयगत समितिका संयोजक तथा शिक्षा विभाग प्रमुख समितिमा रहने व्यवस्था गरिएको छ । यस्तै, हाल कायम नौ सदस्यीय शैक्षिक गुठीमा महानगरबाट आठ सदस्य थप गरी १७ सदस्यीय बनाइने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार विद्यालयको पूर्वाधार मर्मत, पुनर्निर्माण तथा विस्तारका लागि गुरुयोजना तयार गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको छ । विद्यालय परिसरमा विशेष विद्यालय, खेलकुद एकेडेमी तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । विद्यालयको नाम कुनै सहयोग वा साझेदारीका कारण परिवर्तन गर्न नपाइने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ । महेन्द्र भवन माध्यमिक आवासीय विद्यालय वि.सं. २०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा स्थापना भएको थियो । पछिल्लो एक दशकदेखि विद्यार्थी सङ्ख्या घट्दै जाँदा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा चुनौती देखिएको थियो । महानगर र गुठीबीचको सहकार्यले विद्यालयको भौतिक तथा शैक्षिक पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ ।
सडक निर्माणमा ८ लाख अनियमितता, १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी ग्रामीण सडक निर्माणका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजनाअन्तर्गत वास्तविकभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तथा बिल–भरपाई तयार गरी ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार कार्यसम्पन्न प्रतिवेदनमा एक हजार २०० घनमिटर ग्याबिन जालीसहित ढुङ्गा भरिएको उल्लेख गरिए पनि स्थलगत नापजाँचमा ९३९ दशमलव ५० घनमिटर मात्र काम भएको पाइएको थियो । अर्थात् २६० दशमलव ५० घनमिटर कम काम गरेर पनि बढी भुक्तानी लिएको आयोगको निष्कर्ष छ । यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तत्कालीन सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, कैद र जरिवानाको मागदाबी गरिएको छ । यस्तै, तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बम तथा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बम विरुद्ध पनि भ्रष्टाचारमा मतियार बनेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।