गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिएका हुन् । उनले गिरिबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिए । फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्रीलाई प्रश्न गरे । महामन्त्री शर्माले गृहमन्त्रीले गिरीबन्धु टि स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने बताए । ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापति समेत रहेका गृहमन्त्रीले बोल्न नसकेको जानकारी दिए । ‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहान्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न’, उनले भने । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए । उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठिक काम गरेका समेत बताए । मेयर शाहलाई काम गर्न दिनुपर्ने जानकारी दिए । ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु’, उनले भने । त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरे । अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको जानकारी दिए । ‘नेपाली क्रिकेट टिम यसबेला विश्वकपको मैदानमा छ । आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाको लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्दथ्यो । यसमा कमजोरी कहाँ रह्यो ? यो किन कमजोरी भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यस बारेमा म सभामुख महोदयमार्फत ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने । उनले सहकारी छानविन विशेष संसदीय समितिले स्वविवेक र तथ्यमा आधारित भएर छानविन गर्ने विश्वास पनि व्यक्त गरे ।
देशकै उत्कृष्ट अस्पताल, डा. गौतमको इन्ट्रीले फेरियाे तस्बिर
भक्तपुर । सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ । स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौंसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफैँ बिरामी भनेर कयौँपटक समाचार आए पनि । तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेकी एक महिला प्रमुखको अथक मेहनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेशमध्येका उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । यस वर्ष पनि देशभरमा अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो । भ्रष्टाचार, कमिसन र माफियाको चुङ्गुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेस्रोपटक मेडिकल डाइरेक्टर भएर आएकी डा. सुमित्रा गौतमले चरितार्थ गरेर देखाएकी छन् । सेवा विस्तार गर्न नसक्दा, आइसीयू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छाशक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाइलाई डा गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउँछन् । उनी भन्छन्, ‘म दुई वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा दुई जना मेसु फेरिए, मैले पटकपटक मन्त्रालय धाएर पाँच शय्याको आइसीयू सञ्चालनका लागि सबै सामान ल्याएँ तर तत्कालीन मेसुले आइसीयू सञ्चालन गर्न नै चाहनुभएन ।’ अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उनको भनाइ छ । अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउँछन् । आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायाँमा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउँछन् । अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उनले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताउँछन् । अस्पताल विकास समितिको अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताए । बिरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चुङ्गलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उनी बताउँछन् । तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गरेको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालको रुपमा परिचित छ । १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ । विसं २०५१ मा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो । २०५६ असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गरेको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि एक सय २० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ । भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शैय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो । २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो । २०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हुँदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो । कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलोपटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मङ्सिर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आएकी डा सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गरिन् । कोरोना महामारीमा राख्ने शय्याको अभाव । न आइसीयू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो । उनको पहलमा अस्पताल स्थापना भएको एक सय १५ वर्षपछि पहिलोपटक कोभिडकालमा भक्तपुरमा आइसीयू सेवा सुरु भयो । बागमती प्रदेश सरकारले कोभिडका बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा छ र पछि १० शय्या थप गरी १६ शय्याको सघन उपचार कक्ष (आइसीयू) सञ्चालन भयो । त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसीयू र एनआइसीयूसहित एक सय ८८ शय्यामा सेवा विस्तार गर्दै सङ्कटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो । चीनबाट पहिलोपटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो सङ्कटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्गका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो । विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो । कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ । ‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्यांकनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब आठ करोड रुपैयाँ मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ । अस्पतालकी निर्देशक डा गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउँछिन् । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउँछिन् । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ । दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत विभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अंक ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको बताइन् । अस्पतालकी निर्देशक डा. गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अंक, २०७८ मा ८४ अंक ल्याउन सफल हुँदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अंक र यस वर्ष ९८ अंक आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउँछिन् । अस्पतालको निर्देशक डा. गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यस वर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले छिटोछिटो अस्पतालको नेतृत्व फेरबदल गरिनु नहुने धारणा राख्छिन् । रासस
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे भरतपुरमा अन्तर्क्रिया
भरतपुर । फुटबल क्लब, ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरुबारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए। छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए । अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो । आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो । अन्तर्क्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो । यो अन्तर्क्रिया सँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।
चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमति खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको छ । सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम २०८०/८/१६ देखि स्वतः रद्द भएको प्राधिकरणको भनाइ छ ।
पाँच हजार पर्ने विद्युतिय चुलो निःशुल्क, एलपीजी ग्यासबाट सिफ्ट हुँदै विद्यार्थी
काठमाडौं । मकवानपुरको मनहरीका सागर परियार अहिले स्नातकमा अध्ययन गरिरहेका छन् । एसईईपछि काठमाडौं आएर पढिरहेका उनी अहिले एससीटीआई कलेजमा अध्ययनरत छन् । उनले करिब २ वर्ष अघि सामाजिक सञ्जालमा एउटा सूचना देखे । सूचना थियो उपत्यकामा बाहिर जिल्लाबाट अध्ययन गर्न आएका भाडामा बसेका दलित, जनजाती र दुर्गम क्षेत्रका विद्यार्थीलाई विद्युतिय चुलो वितरण गरिने । उनलाई रुचि लाग्यो । आफु पनि दलित त्यसमाथि काठमाडौं उपत्यका बाहिरको हुँदा सूचनाबारे चाँसो दिए । उनले वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्र जैविक शाखामा फोन गरे । त्यहाँबाट जिज्ञासाको जवाफ पाएपछि सूचनामा भनिए अनुसार अनलाइनबाट आवेदन दिए । उनले आवेदन दिएको करिव १ वर्षपछि विद्युतिय चुलो प्राप्त गरे । अहिले उनी विद्युतिय चुलोको प्रयोग गरिरहेका छन् । यो भन्दा पहिले ग्यासको प्रयोग गर्दै आएका उनी अहिले विद्युतिय चुलो प्रयोग गरिरहेका छन् । विकासन्युजसँग कुरा गर्दे सागरले भने, ‘अनलाइनबाट आवेदन भरेको थिएँ । तर, कुनै जानकारी नआएपछि देखावटीमात्र रहेछ भन्ने ठानेको थिएँ, एक वर्षपछि उतैबाट फोन आयो, अहिले चुलो ल्याएर पनि प्रयोग गरिरहेको छु । ’ सागर ग्यास भन्दा चुलो सहज हुने प्रतिक्रिया दिन्छन् । साँझ बिहान विद्युतिय चुलोमा खाना पकाउँदा बिल बढी उठ्दैन भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘घरको जस्तो छिनछिनमा धेरै खाने कुरा हामीलाई पकाउन पर्दैन, कहिले कलेजमै खाइन्छ कहिले कोठामा पकाइन्छ धेरै बिल आउँदैन ।’ सागर खाना पकाउँदा पनि ग्यासभन्दा सजिलो हुने बताउँछन् । ग्यासको जस्तो हेरेर बस्न पर्दैन,’ उनी थप्छन्,‘ यो चुलोमा कति समयमा खाना पाक्छ भन्ने आफुलाई थाहा हनुप¥यो त्यही अनुसार टाईम सेट गरिदियो भने आफैं खाना पाकेपछि अफ हुन्छ, यसो हुँदा ग्यासको जस्तो खाना बसाएर आफु अर्को काम पनि गर्न मिल्छ ।’ उनी विद्यार्थी त्यसैमाथि अरुको घरमा भाडामा बस्नेहरूका लागि धेरै सहज हुने बताउँछन् । काभ्रेकी मनिसा बिक दृष्टिविहीन हुन् । उनी अहिले आरआर कलेजमा स्नातकमा अध्ययन गरिरहेकी छन् । उनले पनि आवदेन दिएर वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रबाट विद्युतिय चुलो पाएकी छन् । एक वर्षदेखि विद्युतिय चुलो प्रयोग गरिरहेकी उनले ग्यासभन्दा चुलोमा खान पकाउन सहज हुने बताउँछिन् । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रले विद्युतिय चुलोको प्रवर्द्दन गर्न यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । नेपालमा विद्युतको उत्पादन बढी हुँदा खपत कम हुने समस्या र अर्को एलपीजी ग्यासको प्रयोग बढ्दा राष्ट्रिय व्यापारमै असर परिरहेकाले यस्तो अवधारणा ल्याइएको वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका उपनिर्देशक रण बहादुर थापाले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रले यो भन्दा पहिले पटक-पटक सूचना निकालेर उपत्यका बाहिर घरभइ उपत्यकामा बसेर अध्ययन गर्ने विद्यार्थीलाई चुलो वितरण गरिरहेको बताएकाे छ । केन्द्रले अहिले फेरि चुलो वितरण गर्ने योजना रहेको बनाएको छ । एक तथ्यांक अनुसार नेपालमा ४४ प्रतिशतको घरमा एलपीजी ग्यास पुगेको छ । विद्यार्थीले मात्र विद्युतिय चुलो प्रयोग गर्ने हो भने उनीहरूका परिवार साथिभाइको पनि आकर्षण बढ्छ र प्रयोगकर्ताको संख्या पनि बढ्छ भन्ने उद्देश्यले नै कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विद्युती चुलो उपत्यकामा विद्यार्थी र तराइका २२ जिल्लाका दलित, गरिब, विपन्न वर्गाका समूदायलाई वितरण गरिँदै आएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा अध्ययन गर्दै आएका दुर्गम, अतिदुर्गमका ७ हजार ५ सय ६४ विद्यार्थीलाई विद्युतिय चुलो वितरण गरिएको छ । पहिलो वर्ष २०७८ साल पुस ९ गते सूचना जारी गर्दा ७ हजार ३ सय ८५ विद्यार्थीको आवेदन परेको थियो । तर, यसमा अनुदान नीतिले क, ख र ग अर्थात दुर्गम, अति दुर्गम र सुगम वर्गका विद्यार्थीलाई भनिएको थियो । सुगमका विद्यार्थीको पनि भन्दा धेरै आवेदन परेकाले दुर्गम र अति दुर्गम विद्यार्थीलाई प्राथकिमतामा राखेर वितरण गरिएको जनाइएको छ । यसरी छनोट गर्दा २ हजार ८ सय ६५ विद्यार्थी छनोट भएका थिए । उनीहरूलाई विद्युतिय चुलो वितरण गरिएको थियो । यस्तै, दोस्रो सूचना २०७९ साल पुस १७ गते सार्वजनिक गरियो । त्यो बेला २ हजार ३ सय ७८ जनालाई छनोट गरेर वितरण गरियो । त्यसपछि दलितलाई लक्षित गरेर २०७९ साल जेठ २५ गते फेरि सूचना निकालियो त्यसमा काठमाडौंमा बस्ने बाहिरका विद्यार्थी सबैलाई दिनुपर्छ भन्ने कुरा भयो र दोस्रो चरण अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रबाट २०७९ जेठ २५ गते निकालिएको सूचनामा ७ हजार ३ सय २० जना विद्यार्थीले आवेदन दिए । तिनिहरू मध्ये १ हजार ९ सय ९५ विद्यार्थीलाई छनोटमा परे उनीहरू मध्ये २ हजार ३ सय २१ जनाले चुलो लिए भने बाँकी विद्यार्थी चुलो समेत लिन आएनन् । यसरी पटक पटक विद्यार्थीका लागि वितरण गरिदै आएको विद्युतिय चुलो अझै मौज्दात रहेकाले फेरि सूचना निकालेको केन्द्रले जनाएको छ । २०८१ साल जेठ २२ गते सूचना प्रकाशित गरेकाले विद्यार्थीलाई आवेदन पनि केन्द्रले आग्रह गरेको छ । कस्तो छ प्रक्रिया ? वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका अनुसार विद्युतिय चुलो पाउने योग्य व्यक्ति काठमाडौं उपत्यका बाहिर घरभइ उपत्यका भित्र भाडा तिरेर बसेका र स्नातक र स्नातोकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरू हुन् । यसमा पनि दलित, आदिवासी जनजाती, पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्राथमितमा राखिन्छ । यसको लागि वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रको कार्यालय मध्यबानेश्वर वा अनलाईनबाट पनि फर्म भर्न सकिन्छ । फर्म भर्दा नेपाली पहिचान खुल्ने प्रमाणपत्र, शिक्षण संस्थाको सिफारिस विद्यार्थीको परिचयपत्र र पेश गर्नुपर्ने प्रावधान छ । उपत्यका बाहिरका विद्यार्थीले फर्म भरेपनि प्राथमिकता भने अति दुर्गम र दुर्गमका विद्यार्थी दिइने केन्द्रले जनाएको छ । कतिपयको गुनासो ग्यासभन्दा महँगो कतिपय विद्यार्थीले ग्यासभन्दा सहज भएको भनिरहँदा कतिपय विद्यार्थी भने ग्यास भन्दा महँगो भएको बताउँछन् । बझाङका केदार भण्डारी विद्युतिय चुलो सहज भएपनि बिजुलीको बिल बढी आउने गरेको गुनासो गर्छन् । ग्यास एक पटक भर्दा करिब २ हजार रूपैयाँपर्छ, साे ग्यास तीन/चार महिना टिक्छ, विद्युतिय चुलाेले धेरै बिजुलीको बिल धेरै आउने रहेछ,’ उनले भने । उसो त काठमाडौंमा घरधनीहरुले मनोमानी रुपमा बिलुजीको बिल लिने गरेको गुनासो पनि आइरहेको छ । उनीहरू बिजुलीको युनिट बराबर फरक-फरक मूल्य लिन्छन् । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका उपनिर्देशक थापा भने ग्यास भन्दा इन्डक्सन चुलो ४० प्रतिशत सस्तो हुने दाबी गर्छन् । अहिले बजारमा थरिथरिका विद्युतिय चुलोहरू पाइन्छन् । थरिथरिका चुलो जस्तै मूल्य पनि फरक-फरक छ । ३५ सय देखि ७ हजार मूल्यमा विद्युतिय चुलो पाइन्छ । केन्द्रले विद्यार्थीलाई वितरण गरेको चुलोको बजार मूल्य भने ५ हजार रहेको थापाले बताए । विद्युतिय चुलो १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । यसमा प्रयोग गरिने अथवा यो चुलोमा पकाउने भाँडाकुँडा पनि फरक हुन्छन् ।
तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा
काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ । २०८० असार २ गते आएको बाढीले क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो । बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले जनाएको छ । नेप्सेमा जारी सूचनामा भनिएको छ ‘अहिले आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरूको आवश्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न भएको हुँदा यसबाट विद्युत उत्पादन हुन सक्ने अवस्था निर्माण भएकोले २०८१ जेठ २२ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।’
पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्छु : कुमारमणि थपलिया
काठमाडौं । नाट्टाको अध्यक्ष पदका उम्मेद्वार कुमारमणि थपलियाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् । नाट्टा निर्वाचनको पूर्व सन्धामा उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधिन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गराउने बताएका छन् । थपलियाले विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई दुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरू लाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिने उनले बताएका छन् । हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्बन्धमा यस एशोशियसनले बिगतदेखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने उनले बताएका छन् । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइने उनको भनाइ छ । पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने थपलियाले बताएका छन् । उनले गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तराष्ट्रिय उडानलाई जोड दिने बताएका छन् । यी दुई विमानस्थललाई प्रयोगमा ल्याउने हो भने अहिले आइरहेका पर्यटनहरू संख्या वृद्धि गर्न सहयोग हुने उनले बताएका छन् । ‘पर्यटकको संख्या बढाउने हो भने गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनपर्छ त्रिभुवन विमानस्थलले मात्रै थाम्दैन,’ उनले भने । राजधानी लगायत अन्य मूख्य पर्यटकिय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिने उनको टिमको प्रतिबद्धता रहेको छ । त्यस्तै विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा इस्यू भईसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरूद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि आवश्यक पहल समेत गर्ने उनले बताएका छन् । थपलिया यही जेठ २५ गते हुन लागेको नाट्टाको अध्यक्ष पदका प्रत्यासी हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालक समेत हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल, रमाकुमारी प्याकुरेल, दिनेश मैनाली र सुदर्शन गजुरेलको उम्मेदवारी परेको छ ।