नवराजपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कूसियत, लेखापाल सोमप्रसाद आचार्य, इञ्जिनियर कृष्णा साह र सव–इञ्जिनियर सन्तोषकुमार यादवविरुद्ध १४ लाख ५१ हजार पाँच सय ५१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको छ ।
छोटो समयमा चर्चा बटुलेको श्री केश तेलको गुणस्तरमाथि प्रश्न
काठमाडौं । सुरुमा राम्रै चर्चा बटुलेको श्री केश तेलले पछिल्लाे समय भने विभिन्न आलाेचना खेप्दै आइरहेकाे छ । कपाल झर्नबाट रोक्ने, झरेको ठाउँमा नयाँ कपाल पलाउने लगायत प्रचार गर्दै बजारमा आएको तेलले केही समय चर्चा कमाए पनि अहिले आलोचना सहनु परेको हाे । यो तेलको प्रयोगले कपाल बढी झर्ने गरेको भन्दै प्रयाेगकर्ताहरूले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा विरोध भएपछि सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले पत्रकार सम्मेलेन गरेर आफ्नाे बचाउ गरेकाे छ । सोमबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलन गर्दै कम्पनीले सामाजिक सञ्जालमा तेलप्रति नकरात्मक टिप्पणी आएकाले तेलको गुणस्तरमा जानकारी गराएको हो । नेपालको सरकारी नीतिमा रही नेपालमै पाइने कच्चा पदार्थ र जडीबुटीहरू प्रयोग गरेर बनाइएको तेलले कुनै हानी नगर्ने कम्पनीकाे दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले विभिन्न अध्ययन अनुसन्धान गरे नेपालका हिमाली क्षेत्रमा पाइने जडीबुटीहरूबाट बनाइएको यो तेलले कपाललाई पोषण बनाई सुरक्षित राख्ने बताए । आफ्नो देशमै केही गर्छु भन्ने उद्देश्य काम गरिरहेको बताउँदै उनले नागरिकको हितमा गर्न नमिलने काम आफू र आफ्नो कम्पनी नगर्ने अठोट पनि गरेका छन् । कार्यक्रममा बोल्दै सप्तऋषि आयुर्वेद क्लिनिकका चिकित्सक डा सविन दावाडीले तालुपना जेनिटिक हुने भएकाले यो सधैभरि रहने बताए । यसको सुरक्षाका लागि व्यक्ति आफैंले नै केयर गर्नुपर्ने भएकाले यो तेलले केही मद्दत गर्ने भन्दै उनले याे तेल सबैका लागि उपयुक्त नहुने पनि दाबी गरे । ‘व्यक्ति पिच्छेको स्वास्थ्य फरक हुन्छ’, उनले भन्छन्, ‘कसैको कपाललाई त्यही जडीबुटीले राम्रो गर्छ भने कसैलाई त्यसैले नै नराम्रो गर्न सक्छ, तर यो तेलको प्रयोगले कपाललाई नोक्सान भने गर्दैन ।’ यो तेल नेपालका जंगलमा पाइने विभिन्ने ३५ प्रकारका जडिबुटीबाट बनाइएको उनकाे भनाइ छ । कपाल झर्ने समस्या सामान्य र जेनेटिकमात्र नभइ भित्रको आन्तरिक रोगको कारण हुने भएकाले यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्ने डा. दावाडीकाे सुझाव छ । सप्तऋषि ओयल एण्ड कस्मेकि इण्डष्ट्रीले सयौँ नगरिकलाई रोजगार उपलब्ध गराएको बताउँदै प्रबन्ध निर्देशक बुढाथोकीले आगामी वर्ष ५० हजार नागरिकलाई रोजगारी दिने गरेर योजना बनाए काम गरिरहेको दाबी गरे ।
लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकाे सहकार्यमा करिब ६,००० रूखहरू राेपेकाे छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो । बैंकले सोही दिवसमा आफ्नो एभाेडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ९ विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको जनाएकाे छ। यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।
नेशनल लाइफको ३५ जना अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ काठमाडौंको होटल लेमन ट्रि प्रिमियरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रकिो सभापतिन्वमा सम्मान कार्यक्रमको सम्पन्न भएको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेकोे सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने बताए । समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए । उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौंमा बागमति प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराए ।
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त मुद्दामा जितेन्द्र बाबु राई (जिबी राई) समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ । सो मुद्दालाई अग्राधिकार दिँदै अर्को सुनुवाइ आगामी असार ४ गतेका लागि तोकिएको उनले जानकारी दिए । यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यही जेठ २० गते रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आजका लागि छलफलमा बोलाएको थियो । सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराइले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै रिट दर्ता गर्न आदेश गरेको थियो ।
मूल्यवृद्धि ४.४० प्रतिशतमा झर्याे, उपत्यका र तराईमा कति ?
काठमाडौं । पछिल्लो समय मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म मूल्यवृद्धि घटेर ४.४० प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ७.६८ प्रतिशत, तराईको ७.१५ प्रतिशत, पहाडको ७.५७ प्रतिशत र हिमालको ७.१२ प्रतिशत थियो । वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०.४० प्रतिशत, ३.७१ प्रतिशत र १.७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ । तलब तथा ज्यालादर सूचकाङ्क ठ। २०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.४८ प्रतिशतले बढेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
आइएमई लाइफको २६ प्रतिशत लाभांश पारित
काठमाडौं । आइएमई लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साे सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश सेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धीत अनुसूचिहरु सहितको वितीय विवरण माथि छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस गई आए बमोजिम बाहय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक (१) जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने, बोनस सेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रूपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको मिति २०८०/०२/०२ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।