विकासन्युज

पर्यटन बोर्डले दुई वर्षपछि ‘डब्लूटिएम’ मा सहभागिता जनाउँदै, करिब ३० कम्पनी पनि सहभागी हुने

काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मञ्चका रूपमा लिइने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जिम्मेवारी सम्हालेसँगै डब्लुटिएम, आइटीबीलगायत महत्त्वपूर्ण पर्यटन मेलामा बोर्डको सहभागिता सुनिश्चित गर्न पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धतानुसार अन्तर्राष्ट्रिय बजारीकरण नेपालको पर्यटन प्रवर्द्धनका लागि डब्लूटिएममा सहभागिता जनाउने निर्णय भएको जोशीले बताए । ‘बोर्डले डब्लूटिएममा सहभागिता जनाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि ढोका खुलेको छ । अन्तर्राष्ट्रिय मेला, सेल्स मिसनलगायत अन्तर्राष्ट्रिय फोरममा बोर्डको प्रभावकारी उपस्थिति रहन्छ,’ कार्यकारी प्रमुख जोशीले भने । अघिल्ला दुई वर्ष बोर्डले डब्लुटिएम, आइटिबीजस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन सकेको थिएन । नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बोर्ड स्थापनाभएदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुँदै आएको छ । हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेलालाई विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । यस्तै, प्रत्येक वर्ष मार्च (फागुन) मा जर्मनीको बर्लिनमा आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन आइटिबी’ मेलालाई विश्वकै पहिलो पर्यटन मेला मानिन्छ । बोर्डले आइतबार सूचना प्रकाशित गरी इच्छुक कम्पनीलाई डब्लुटीएममा सहभागिताका लागि अनुरोध गरेको छ । कम्तीमा ३० कम्पनीलाई त्यहाँ सहभागी गराइने बोर्डको योजना छ । नेपालले विगत ४० वर्षदेखि डब्लुटिएममा सहभागिता जनाउँदै आएको छ । पच्चिस वर्षअघि बोर्ड स्थापना भएकामा त्यसअघि पर्यटन विभागमार्फत नेपालले यस्ता मेलामा सहभागिता जनाउने गरेको थियो । मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क विस्तार गर्ने अवसर मिल्ने दाबी गरिएको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई एक आकर्षक पर्यटनस्थलका रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो,’ ऐनमा भनिएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा स्थापित बोर्डको करिब रु दुई अर्ब वार्षिक बजेटमध्ये झण्डै ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारीकरणमा खर्चनुपर्ने हुन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएन । बोर्डको विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको थियो । डब्लुटिएममा नेपालको पहिचान र पर्यटन प्रवर्द्धनका लागि विभिन्न सामग्रीको स्टल राखिने जनाइएको छ ।

‘हिमालयन शमशेर मेमोरियल लेक्चर सिरिज’मा सहभागी हुन भारतीय गभर्नर दास नेपालमा

  काठमाडौं । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ का गभर्नर शक्तिकान्त दास नेपाल आएका छन् । उनी नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको निम्तोमा नेपाल आएका हुन् । राष्ट्र बैंकले आयाेजना गर्न लागेकाे ‘हिमालयन शमशेर मेमोरियल लेक्चर सिरिज’मा सहभागी हुन गभर्नर दास नेपाल आएका हुन् । सिरिजकाे पहिलाे संस्करणमा उनले सहभागी जनाउने राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए । नेपालको पहिलो गभर्नर हिमालय शम्शेर जबराको स्मृतिमा हिमालयन शमशेर मेमोरियल लेक्चर सिरिजकाे आयाेजना मंगलबार (भाेलि) गर्न लागिएकाे छ । संस्करणमा सहभागीपश्चात गभर्नर दास भारत फर्किने जनाइएकाे छ । सो कार्यक्रममा राष्ट्र बैंकका कर्मचारीसहित करिब २०० जनाको सहभागीता रहने सूचना अधिकारी आचार्यले बताए ।

साना तथा मझौला उद्योगका लागि वित्तीय र बजार पहुँचको खाँचो छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै उनले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरू रहेको जानकारी गराए । उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए । अध्यक्ष ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरू रहेको कुरामा पनि जोड दिएका छन् । उनले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्‍याएको जानकारी गराए । नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै अध्यक्ष ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरूका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनले औंल्याए । अध्यक्ष ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औंल्याए । उनले नेपालले हालसालै लगानीसम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको पनि जानकारी दिए । अध्यक्ष ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरेका थिए ।

मानसिक स्वास्थ्यमा असर पर्ने खालका सामग्री प्रकाशन प्रसारण नगरिदिन बालबालिकाको अनुरोध

काठमाडौं । बालबालिकाहरूले आफूहरूको मानसिक स्वास्थ्यमा असर नपर्ने खालका सामाग्री प्रकाशन तथा प्रसारण गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरेका छन् । बालअधिकारसम्बन्धी सञ्चारकर्मीसँग गरिएको एक छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे अनुराेध गरेका हुन् । अहिले मिडियामा आएका सामग्रीले घरभित्र वा बाहिर असुरक्षित भएको महसुस हुने गरेको बताउँदै उनीहरू घरबाहिर निस्कँदा पनि डराइडराइ जानुपर्ने अवस्थाले बालबालिकामा नकरात्मक असर पारेको बताए । विभिन्न समाचारले मानसिक स्वास्थ्यमा असर पसिररहेको बताउँदै उनीहरूले बालप्रतिभा, बालशिक्षा, बालसहभागिता लगायतका विषयलाई जोड दिएर समाग्रीहरू प्रकाशन र प्रसारण गरिदिन अनुराेधसमेत गरे । कार्यक्रममा बोल्दै एक बालबालिकाले बालबालिका अहिले पनि बालश्रम, बालशोषणमा परिरहेका बताउँदै बालबालिका सुरक्षित राख्न समाज र अभिभावकलाई सचेत गराउनु पर्ने बताइन् । उनले अहिले सबैभन्दा बढी समस्यामा लैगिक तथा यौनिक अल्पसंख्यक बालबालिका रहेको बताउँदै त्यस्ता बालबालिकाहरूका कुरा पनि मिडियामा ल्याइदन आग्रह गरिन् । उनले भनिन्,  ‘हुन त हाम्रा कुरा जति आउनुपर्ने हो त्यति मिडियामा आउँदैनन् । आएका पनि बलात्कारसँग जोडिएका कुराहरूमात्र आउँछन् , अब फरक सामाग्रीहरू बाहिर ल्याइदिनुपर्‍याे ।’ बालबालिकाहरूले पहिले कोपिला , फूलबारी जस्ता विभिन्न पत्रिकाहरू आउने गरेकोमा अहिले सबै बन्द भएको भन्दै पढ्ने खालका कुनै सामग्रीलाई सञ्चारमाध्यमले स्थान नदिएको आराेप लगाए । कार्यक्रममा बोल्दै बालक मनोज भण्डारीले अहिलेका बालबालिकामा विभिन्न किसिमका प्रतिभा हुँदा पनि बाहिर आउने ठाउँ धेरै नभएको बताए । उनले विद्यालयमा हुने केही कार्यक्रममा मात्र अवसर पाइरहेको बताउँदै उनले प्रतिभालाई पनि बाहिर ल्याइदिन आग्रह गरे । कार्यक्रममा सहभागी पत्रकारहरूले मिडियाले बालबालिकाका स्थान नदिएको स्वीकार गरेका छन् । अहिलेसम्म कुनै पनि मिडियाले बालबालिकाको विषयलाई बिटको रूपमा नलिएको बताउँदै सम्पादकहरूले बालबालिका विषयलाई पन्छाइदिने गरेको बताए ।

आयात बढ्यो, निर्यात घट्यो

  काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को २ महिना (साउन र भदौ) मा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले आयात बढेको हो । गत आर्थिक वर्षको २ महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो आयात बढे पनि निर्यात भने घटेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार ५.१२ प्रतिशतले निर्यात घटेको छ । गत आवको साउन र भदौ महिनामा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आवको सोही अवधिमा यस्तो निर्यात २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ । समग्रमा यो दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ व्यापार घाटा लागेको छ । यो गत वर्षको भन्दा १.७८ प्रतिशतले बढेको हो ।

नेपाल एसबिआई बैंकले लेकाली बसीफाँट माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामाग्री

काठमाडौं । नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख, बिनोद कुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

विश्वमा नभएको व्यवस्था लाद्‍दै प्राधिकरण, जीवन बीमाक्षेत्र नै ध्वस्त हुने चिन्तामा अभिकर्ता

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकायका साथै अभिभावक पनि हो । निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने जिम्मेवारी  प्राधिकरणलाई  दिइएको छ ।  यसका साथै बीमितको हकहितको प्रभावकारी संरक्षण गर्न बीमाको पूर्ण नियमन गर्ने दायित्व पनि प्राधिकरणको रहेको छ। तर, प्राधिकरण नै बीमा क्षेत्रलाई ध्वस्त पार्न लागको आरोप छ । प्राधिकरणले बीमा नियामावलीमा अभिकर्ताहरूलाई बाइपास गरेर प्रस्ताव गरेको छ । अभिकर्तासँगै समग्र बीमा क्षेत्रको अहित हुनेगरी प्राधिकरणले बीमा नियामावलीमा केही बुँदाहरू राखेको अभिकर्ताको भनाइ छ । उसो त कुनै पनि ऐन, नियम, निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउनुपूर्व त्यस क्षेत्रका सरकारवालाहरूसँग छलफल गरिन्छ । यो विश्वको नियम हो । तर, प्राधिकरणले नियामवलीमा अभिकर्तासम्बन्धी व्यवस्था राख्दा अभिकर्तासँग छलफल त परै जाओस् सुझाव पनि मागेन । अहिले सो नियामावली अन्तिम चरणमा छ । कानुन मन्त्रालयबाट पनि स्वीकृत पाइसकेको उक्त नियामावली जारी हुने चरणमा रहेको छ । तर, नियामावलीमा अभिकर्ताको व्यवस्थाबारे उल्लेखित केही बुँदाले अहिले अभिकर्ता आन्दोलित मात्र भएका छैनन्, उनीहरूले व्यवसाय नै ठप्प पार्ने चेतावनी दिएका छन् । यी हुन् अभिकर्तालाई चित्त नबुझेका विषय : १. मान्यताप्राप्त संस्था वा बोर्डबाट १२ कक्षा उत्तीर्ण भएको व्यक्तिमात्र बीमा अभिकर्ताका लागि योग्य हुने २. एक पटक बीमा गरिसकेका बीमितको नवीकरणका आधारमा मात्र बीमा अभिकर्ताको नवीकरण हुने व्यवस्था ३. बीमित आफैले प्रत्यक्षरूपमा कमिसन बराबरको रकम नबढ्नेगरी बीमाशुल्कमा छुट ४. एकल बीमाशुल्कअन्तर्गतको कमिसन ५ वर्षसम्म किस्ता किस्सामा अभिकर्तालाई भुक्तानी दिने । माथि उल्लेखितमध्ये अभिकर्तालाई चिड्याएको भनेको बीमित आफैले प्रत्यक्षरूपमा कमिसन बराबरको रकम नबढ्नेगरी बीमाशुल्कमा छुट हुने प्रस्तावले हो । यसो गरेमा समग्र जीवन बीमाक्षेत्र नै धरासायी हुने अभिकर्ताहरूको भनाइ छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले यस व्यवस्था लागू भएमा जीवन बीमाक्षेत्र नै ध्वस्त हुने दाबी गरेका छन् । उनले जीवन बीमा भनेको अभिकर्ता आधारित व्यवसाय भएकाले बीमितलाई स्वयम अभिकर्ता मानेर उक्त बुँदा लागू गरेमा जीवन बीमाक्षेत्र नै धरासायी बन्ने बताए । अध्यक्ष अधिकारीका अनुसार विश्वका कुनै पनि देशमा यस प्रकारको व्यवस्था छैन । बीमित आफै जीवन बीमा कम्पनीमा गएर बीमा गरेमा अभिकर्तालाई दिने कमिसन बराबर रकम सोही बीमितलाई नै भुक्तानी दिने नियम विश्वका विकसित मुलुक जापान, अमेरिका, भारत, स्वीजरल्याण्ड, सिङ्गापुर, जर्मनी आदि देशहरूमा नभएको उनको भनाइ छ । ‘विश्वमै नभएको व्यवस्था प्राधिकरणले गर्दैछ । यसले समग्र जीवन बीमाक्षेत्र नै ध्वस्त हुन्छ, ’ अधिकारीले थपे, ‘३ करोड जनता नै अभिकर्ता भएपछि हाम्रो के काम ? हामी व्यवसाय ठप्प पाछौं, आन्दोलन गछौं ।’ तर, निर्जीव क्षेत्रमा पनि बीमित आफै बीमा गर्न गएमा उसले अभिकर्ता कमिसन बराबर रकम छुट पाउँछ । तर, जीवन बीमा किन नपाउने भन्ने प्रश्नमा उनले भने,  ‘जीवन र निर्जीवनको नेचर नै फरक छ । जीवन भनेको अभिकर्तामा आधारित व्यवसाय हो भने निर्जीवन भनेको कर्पाेरेट हाउसबीच एग्रिमेन्ट भएर गरिन्छ । यो विश्वमा नै भएको नियम हो ।’

प्रस्तावकको मृत्यु भएमा बाँकी अवधि बीमाशुल्क तिर्नु नपर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा दुईवटा बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एउटा मुख्य र एउटा अतिरिक्त पोलिसी सार्वजनिक गरेको हो । कम्पनीले बालबच्चाको उज्जवल भविष्यका लागि सन लाइफ सुनौलो बाल समृद्धि जीवन बीमा योजना ल्याएको छ । यसैगरी, मेडिकेयर (आपतमा राहत) नामको अतिरिक्त पोलिसी सार्वजनिक गरेको छ । अतिरिक्त योजना भने म्यादी हो । याे हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । (क) सुनौलो बाल समृद्धि योजना  सुनाैलाे बाल समृद्धि याेजना बच्चा जन्मिएकाे ३१ दिनदेखि १७ वर्षको उमेरसम्मका लागि हाे ।  यसैगरी, प्रस्तावक (आमा वा बुबा) को उमेर १८ वर्ष पूरा भएर ५५ वर्ष ननाघेको हुनुपर्ने छ । यो बीमा अवधि ५ वर्ष देखि २५ वर्ष अवधिसम्मका लागि खरिद गर्न सकिने छ । बीमा अवधिमा बीमितको अधिकतम उमेर २५ वर्ष भन्दा बढी हुनु हुँदैन । यसैगरी, बीमा समाप्तिमा प्रस्तावकको उमेर ६५ वर्ष ननाघेको अवस्था हुनुपर्ने छ । यो पोलिसी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँ बीमांक रकमको हुनेछ । मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक र एकमुष्ठ रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिने छ । १. जोखिम बहन समय बीमा प्रारम्भ मितिबाट २ वर्ष वा बच्चा ६ वर्षको उमेर पूरा मितिमध्ये जुनपछि आउँछ सोही मितिबाट जोखिम बहन हुनेछ । यदि बच्चाको उमेर १० वर्षको भएपछि बीमा प्रारम्भ गरिएको छ भने प्रारम्भ मितिबाट १ वर्षपछि जोखिम बहन हुनेछ । बच्चाको उमेर ११ वर्ष पुरा भएपछि बीमा गरेको हकमा सोही मितिबाट जोखिम बहन हुनेछ । प्रस्तावकको हकमा बीमा प्रारम्भ भएको मितिदेखि नै जोखिम प्रारम्भ हुनेछ । २. प्रस्तावकको मृत्यु भएको अवस्थामा प्रस्तावकको कुनैपनि समयमा मृत्यु भएमा बीमांक रकम कम्पनीले बच्चालाई भुक्तानी दिनेछ । यसैगरी, बाँकी अवधिभर भुक्तानी गर्नुपर्ने बीमाशुल्क बीमितले भुक्तानी गर्नु पर्दैन । साथै, घटना भएको मितिबाट उक्त बच्चाको पढाइका लागि कम्पनीले कुल बीमांक रकमको २ प्रतिशतले हुन आउने रकम हरेक महिना बच्चालाई भुक्तानी दिनेछ । उदाहरणका लागि यदि कसैले २० वर्षका लागि २० लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गरेको छ र ५ वर्षपछि प्रस्तावक तथा बच्चाको बुबा वा आमाको मृत्यु भएमा  २० लाख रुपैयाँ तत्कालै बीमा कम्पनीले सो बच्चालाई भुक्तानी दिन्छ । यसैगरी, २० लाख रुपैयाँको २ प्रतिशत अर्थात ४० हजार रुपैयाँ सो बच्चालाई हरेक महिना बाँकी १५ वर्षसम्म कम्पनीले भुक्तानी दिन्छ । र, बीमितले तिर्नुपर्ने बीमाशुल्क पनि सोही दिनबाट तिर्नु पर्दैन । बीमालेख निरन्तर रहन्छ । २० वर्ष पूरा भएपछि सो बीमांक रकम र आर्जित बोनोस एकमुष्ठ रूपमा कम्पनीले फेरि सोही बच्चालाई भुक्तानी दिन्छ । २. बीमित बच्चाको मृत्यु भएमा जोखिम प्रारम्भ हुनुपूर्व बीमित बाल बालिकाको मृत्यु भएमा भुक्तानी गरेको सबै बीमाशुल्क फिर्ता हुनेछ । र बीमा योजना स्वतः रद्द हुनेछ । जोखिम सुरु भएपछि बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिश र आर्जित बोनस वा भुक्तानी गरिएको बीमा शुल्क जुन धेरै हुन्छ, सोही रकम फिर्ता हुनेछ । र, पोलिसी स्वत: रद्द हुनेछ । २. बीमित बच्चा र प्रस्तावकको एकै साथ मृत्यु भएमा पूरै बीमांक रकमको १२५ प्रतिशत रकम र आर्थित बोनस जोड्दा जति हुन्छ उक्त रकम फिर्ता हुनेछ । अर्थात २० लाख रुपैयाँको बीमांक भएमा २५ लाख रुपैयाँ र सो समयसम्म आर्जित बोनस फिर्ता हुन्छ । पोलिसी स्वतः रद्द हुनेछ । छुट वार्षिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशतसम्म छुट हुनेछ । अर्धवार्षिक रूपमा भुक्तानी गर्दा १ प्रतिशत र त्रैमासिक रूपमा भुक्तानी गर्दा छुट पाइने छैन । मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा ५ प्रतिशत थप गर्नुपर्ने हुन्छ । यदि वार्षिक एक लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ भने वार्षिक रूपमा भुक्तानी गर्दा ९८ हजार रुपैयाँ भुक्तानी गर्दा हुन्छ । यसैगरी, अर्धवार्षिक रूपमा भुक्तानी गरेमा ९९ हजार भुक्तानी गर्नुपर्छ । त्रैमासिक रूपमा १ लाख रुपैयाँ नै भुक्तानी गर्नुपर्ने हुन्छ । मासिक रूपमा भुक्तानी गरेमा १२ महिनासम्म भुक्तानी गरेको रकम १ लाख ५ हजार हुन जान्छ । अर्थात, वार्षिक भुक्तान गर्दा बीमितलाई नै फाइदा हुने देखिन्छ । (ख) मेडिकेयर (आपतमा राहत) ः यो राइडर (अतिरिक्त) पोलिसी हो । यो म्यादी पोलिसी हो । हरके एक वर्षमा यसको नवीकरण गर्नुपर्ने हुन्छ । यो पोलिसीले दुर्घटना र घातक रोकको लागि क्षतिपूर्ति प्रदान गर्दछ । दुर्घटना र घातक रोग गरी १५ वटा अवस्थाको यो पोलिसीले बहन गर्छ । यो पोलिसी अन्य मुख्य पोलिसी खरिद गर्दा सँगसँगै खरिद गर्ने पोलिसी हो । यो मात्र खरिद गर्न पाइँदैन । ५ वर्ष पूरा भएको र ६९ वर्ष ननाघेको व्यक्तिले यो पोलिसी अतिरिक्तको रूपमा लिन सक्नेछ । पोलिसीले क्षतिपूर्ति प्रदान गर्ने दुर्घटना र घातक रोकको सूची: १. सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना २. एपेन्डिसाइटिस ३. प्यान्क्रियाटाइटिस ४. हृदयाघात ५. मस्तिष्कघात ६. विद्युतीय तथा अन्य जलन ७. डुबान ८. खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण ९. आन्द्रामा रगत बग्ने १०. कीरारसर्प टोकाइ ११. तापघात १२. मस्तिष्कमा चोट १३. गर्भाशय बाहिरको गर्भ १४. मानसिक स्वास्थ्य संकट १५. घाउमा संक्रमण शुल्क र बीमांक एक लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गर्दा १ हजार ३९३ रुपैयाँ बीमाशुल्क लाग्छ । अर्थात माथि उल्लेखित रोग तथा दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको उपचार खर्च यस पोलिसीले गर्नेछ । आपतकालीन अवस्थामा निम्न सुविधाहरू पाउन सकिन्छ: शल्यक्रियासहित अस्पतालमा रहँदाः पहिलो २ दिनको लागि प्रत्येक दिन बीमाङ्क रकमको २५५ तत्पश्चात थप ५ दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत । शल्यक्रिया बिना अस्पतालमा रहँदाः १० दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत। यो सुविधा निम्न अवस्थाहरुमा लागू हुँदैनः १. नियमित स्वास्थ्य जाँच भइरहेको स्वास्थ्य समस्याहरूको लागि आपतकालीन भर्ना वा इएम् मार्फत नियमित अस्पताल भर्नाहरूमा लागू हुँदैन । २. गैरकानुनी रूपमा संलग्न भएर घाइते भई बिरामी भएमा लागू हुँदैन, अस्पताल भर्ना अवधि २४ घण्टाभन्दा कम भएमा यो सुविधा लागू हुँदैन ।