तीन ठूला दलले देशलाई बर्बाद बनाए : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे । उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे । ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही कांग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयाे,’ उनले भने । अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।
कुन देशका मानिसले धेरै सेकेन्ड ह्यान्ड कपडा किन्छन् ?
काठमाडौं । संसारका धेरै देशमा मानिसहरूले आफ्ना पुराना लुगा विशेष ठाउँमा छोड्छन् ताकि खाँचोमा परेकाहरूले तिनीहरूलाई प्रयोग गर्न सकून् । मानिसहरूले छाडेका पुराना कपडा खाँचो परेकाहरूले प्रयोग गर्छन् । पुराना कपडा पनि बेचिन्छन्। धेरै विकसित देश सेकेन्ड ह्यान्ड कपडा किन्न विकासशील देशभन्दा धेरै अगाडि छन् । स्टेटिस्टा कन्सुमर इनसाइटको तथ्यांकअनुसार फिनल्याण्ड यस सूचीमा पहिलो स्थानमा छ । एक सर्वेक्षणका अनुसार यो देशका ३३ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेका थिए । त्यसैगरी, युरोपेली देश पोल्याण्डमा पछिल्लाे १२ महिनामा ३३ प्रतिशत मानिसले पुराना कपडा खरिद गरेको बताइएकाे छ । स्वीडेन विश्वका धेरै सूचकहरूमा पहिलो स्थानमा छ । तर, यो देशमा ३० प्रतिशत जनताले पछिल्लो एक वर्षमा पुरानो कपडा किनेकाे सर्भेले जनाएकाे छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा ३० प्रतिशत मानिसले सेकेन्ड ह्यान्ड कपडा किनेको स्टेटिस्टा कन्सुमर इनसाइटले जनाएकाे छ । फ्रान्स र बेलायतमा पनि याे चलन चलिरहेकाे छ । विश्वको शीर्ष अर्थतन्त्र भएका यी देशमा २९ प्रतिशत मानिसले पुरानो लुगा किन्ने गरेको जनाइएकाे छ । भारतमा गरिएकाे एक सर्वेक्षणमा सहभागी २४ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । यसैगरी, विश्वको तेस्रो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा २१ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा १२ प्रतिशत मानिसले आफूले अरूले लगाएको लुगा लगाइएको बताएका छन् । जापान र दक्षिण कोरियामा १०/१० प्रतिशतले सेकेन्ड ह्यान्ड कपडा किन्ने स्वीकार गरेका छन् । नेपालमा पनि कुनैकुनै ठाउँमा सेकेन्ड ह्यान्ड कपडाकाे बिक्री भएकाे पाइन्छ । साथै कपडा ब्यांककाे चलन पनि चलेकाे थियाे तर काेराेनाकालपश्चात् हराएर गयाे । एजेन्सीहरूकाे सहयाेगमा
काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिबन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरू)
काठमाडौं । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरू बिक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ , जुन बेच्नका लागि राखिएको छ । किसानहरू फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।
३ महिनामा लघु बीमा कम्पनीको व्यापार साढे ४० करोड, कुनको कति ?
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरूले साढे ४० करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।नेपालमा हाल सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरूले ३ महिनामा ४० करोड ६९ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये जीवन बीमातर्फ २२ करोड १३ लाख र निर्जीव बीमातर्फ १८ करोड ५६ लाख रुपैयाँको व्यापार भएको छ । जीवनतर्फ सबैभन्दा धेरै व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ अगाडि रहेको छ । गार्डियनले ८ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकल गर्दा क्रेष्ट माइक्रोले ७ करोड ९७ लाख र लिबर्टी माइक्रोले ५ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ । निर्जीवनतर्फ सबैभन्दा धेरै व्यापार नेपाल माइक्रोले गरेको छ । नेपाल माइक्रोले ५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
धनतेरसको दिन सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६८ हजार ५ सय
काठमाडौं । नेपाली बजारमा मंगलबार अर्थात धनतेरसको दिन सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको १ लाख ६७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मानुषी लघुवित्तको सञ्चालक बने सिलवाल
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीए कमलप्रसाद सिलवाल नियुक्त भएका छन् । कार्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पदमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो । ‘उपरोक्त सम्बन्धमा यस मानुषी लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको कार्तिक १२ गते बसेको ८७ औं बैठकको निर्णयअनुसार सीए कमलप्रसाद सिलवाललाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक सदस्य पदमा नियुत्ति हुनु भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं,’ नेप्सेको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए एलन मस्क अर्थमन्त्री बन्ने चर्चा, प्रचार-प्रसारमा देखाए ‘ग्रिन सिंग्नल’
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अमेरिकाको नयाँ अर्थमन्त्री बन्न सक्ने अनुमानले अमेरिका गर्माएकाे छ । मस्कले राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लागि कस्सिएर प्रचार गरिरहेका छन् । ट्रम्पको जित्ने सम्भावना पछिल्लो समय निकै बढेको छ । यदि ट्रम्प राष्ट्रपति बने भने मस्कलाई २०२५ को फेब्रुअरीमा मन्त्रिपरिषद्का लागि मनोनयन गर्न सकिने विश्वास गरिएको छ । मस्कले अमेरिकाको बढ्दो ऋणप्रति चिन्ता व्यक्त गरेका छन् । आफू अर्थमन्त्री भए अमेरिकी बजेटमा कम्तीमा २ ट्रिलियन डलर बचत गर्न सक्ने उनको भनाइ छ । न्युयोर्कमा आइतबार ट्रम्पको समर्थनमा आयोजित र्यालीमा मस्कले भनेका थिए, ‘तपाईंहरूको पैसा बर्बाद भइरहेको छ । म अमेरिकी बजेटबाट कम्तीमा २ खर्ब डलर बचत गर्न सक्छु ।’ अमेरिकाको ऋण ३५.७ खर्ब डलर पुगेको छ र सरकारले वार्षिक १ खर्ब डलरभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । अमेरिकाको बढ्दो ऋणलाई आर्थिक आपतकालको संज्ञा दिँदै मस्कले यो संकट तत्कालै सामना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । मस्ककाे फाइदा मस्कले जसरी जनतासामु आफ्नो भावी रणनीति प्रस्तुत गरिरहएका छन्, त्यसले उनी देशको अर्थमन्त्री बन्ने अनुमान गरिएको छ । र्यालीमा ट्रम्पले मस्कलाई सरकारी खर्च कटौती गर्ने विभागको जिम्मेवारी दिने बताए । तर, आलोचकहरूले मस्कलाई यस्तो जिम्मेवारी दिँदा स्वार्थको द्वन्द्व सिर्जना हुने बताएका छन् । टेस्ला र स्पेस एक्सलगायत धेरै कम्पनीहरू मस्ककाे स्वामित्वमा छन् । उनका कम्पनीहरूसँग धेरै सरकारी सम्झौता छन् । मस्कका कम्पनीहरू विशेषगरी टेस्ला र स्पेस एक्स सरकारको नीतिबाट धेरै लाभान्वित भएका छन् । ट्रेजरी विभागका अनुसार यस वर्ष अमेरिकी सरकारको खर्च करिब ६.७५ खर्ब डलर हुनेछ । मस्कले यसको एक तिहाइ बचत गर्ने कुरा गरिरहेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले देशको ऋण घटाउने कुरा गरेका थिए तर उनले यस सम्बन्धमा कुनै खास योजना भने पेस गरेका छैनन् । मस्कले ट्रम्प र अन्य रिपब्लिकन पार्टीका उम्मेद्वारहरूका लागि कम्तीमा १३२ मिलियन डलर खर्च गरेका छन् । उनी २०२४ को चुनावमा सबैभन्दा बढी चन्दा दिने व्यक्तिहरूको शीर्ष सूचीमा समेत परेका छन् । मस्क २७२ बिलियन डलरको साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । (एजेन्सीको सहयाेगमा )
बालुवाटारमा १० हजार मानिस उतार्ने रास्वपाको रणनीति, रविको रिहाइ मुख्य माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) बालुवाटारमा विरोध गर्ने भएको छ । रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतारेर विरोध गर्ने भएको हो । सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले विरोध गर्ने भएको हो । रास्वपाले काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालेर अन्ततः बालुवाटारमा आन्दोलन गर्ने भएको हो । रास्वपा सचिवालका अनुसार चावाहिल‚ कोटेश्वर‚ कलङ्की चोक‚ ललितपुर‚ स्वयम्भु, वनस्थली बालाजु एरिया‚ सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्याली बालुवाटारमा आउनेछ । नेपाल प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेको थियो । उनलाई रास्वपा कार्यालयबाटै प्रहरीले पक्राउ गरेर पोखरा लगेको हाे । उनी हिरासतमा बसेको दुई साता भइसकेको छ । उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको छ ।