एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । इन्स्योरेन्स कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न राष्ट्र बैंकले रोक्यो, एनपीएल ४०.८५ प्रतिशत
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको हो । राष्ट्र बैंकले साउन ६ गतेदेखि साउन ११ गतेसम्म बैंकको निरीक्षण गर्दा कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेको छ । जसकारण बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकले शीघ्र सुधारात्मक कारवाही अघि बढाएको राष्ट्र बैंकले जनाएको छ । ‘शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
लुक्लामा दैनिक १ सय उडान, ५ दिन अघिदेखि बुकिङ गर्दापनि टिकट पाउन मुस्किल
सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा २ हजार ४ सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते २२३ जना भित्रिँदा ३६२, ५ गते ११९ भित्रिँदा ३२० र ६ गते ८० भित्रिँदा ३७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा ३०३, ८ गते ५३ पर्यटक भित्रिँदा ४८१ जना, ९ गते १३६ भित्रिँदा ३०३ जना र १० गते १३२ पर्यटक भित्रिँदा २५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ । चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उनको भनाइ छ । दर्नालले भने, ‘पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।’ नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उनको अनुमान छ । लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो ‘सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौं र रामेछापबाट जहाजहरू खाली आउछन् । तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ,’ प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले भने । उनका अनुसार काठमाडौं तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् । लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ । यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरू बताउँछन् । लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन ४/५ दिन अघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताए । विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उनको भनाइ छ । लुक्लाबाट काठमाडौंका लागि विदेशी पर्यटकलाई २९ हजार ४८० रुपैयाँ र नेपालीलाई ११ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ । जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौं फर्किने गरेका छन् । लुक्ला विमानस्थलमा अहिले झण्डै १ सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ । फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । ‘सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, ४ हजार ४१० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज १ हजार ८ सय मिटरदेखि ८ हजार ८४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।
आज काठमाडौंका यी स्थानमा बिजुली काटिने
काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोष नारायण श्रेष्ठ, को हुन् उनी ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । जन्मथलो स्याङ्गजाको भिरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । साथै, तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्ष समेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा ३ वर्ष सञ्चालक समिति सदस्य भएर काम गरेको अनुभव छ । उनी वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्राधिकरणमा सञ्चालक बनेका थिए । सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानी समेत रहेको छ । म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य श्रेष्ठ रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य समेत बने । २०८० पुस २० गतेदेखि बोर्ड अध्यक्षविहीन भएपछि माघ पहिलो साता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनोट समिति गठन भयो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन। फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । छनोट समितिले १९ जनामध्येबाट सन्तोषनारायणसहित बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं पाँच जनामा सर्टलिष्ट गरेको थियो । तर, सर्टलिस्टमा परेका ५ जनामध्ये पहिलो चरणमा सन्तोष नारायण र मुक्ति श्रेष्ठले मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए । अधिकारी, कार्की र चिरञ्जिवी चापागाईंले बहिस्कार गरे । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्याे । तर, सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायणले अदालत पुगेका थिए । र, अदालतले पनि उनको पक्षमा आदेश दिएपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको थियो । यहीबीचमा प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली प्रधानमन्त्री बने भने विष्णु पौडेल अर्थमन्त्री बने । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको समेत संयोजक बने । लामो स्थगित रहेपछि गत मंसिर ९ गते सर्टलिष्टमा परेका पाँच जना कार्की, चापागाईं र अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये कार्की र अधिकारीले मात्रै अन्तर्वार्ता दिएका थिए भने चापागाईं अनुपस्थित भए ।
सूर्यज्योतिबाट बाहिरिएका पवनकुमार भोलिदेखि आइएमई लाइफको सीईओ बन्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट बाहिरिएका पवनकुमार खड्का आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । सोमबार सूर्यज्योति लाइफबाट औपचारिक रूपमा बाहिरिएका खड्का मंसिर ११ गतेदेखि आईमएई लाइफको सीईओ बन्ने भएका हुन् । आइएमई लाइफको सीईओ बन्नकै लागि खड्काले सूर्यज्याेति लाइफबाट राजीनामा दिएका हुन् । सूर्यज्योति लाइफमा उनले नायब कार्यकारी प्रमुख (डीसीईओ) बाट पदबाट शुक्रबार राजीनामा दिएका थिए । सोही दिन सूर्यज्योतिको बोर्ड बैठकले आज सोमबारदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृति गरेको थियो । आजसम्म सूर्यज्योतिमा काम गरिरहेका उनको सो कम्पनीबाट आज बिदाइसमेत गरिएको छ । भोलिदेखि आइएमई लाइफमा आबद्ध भएर काम गर्ने खड्काले विकासन्यूजलाई बताए । उनले भने, ‘भोलिदेखि आइएमईमा आवद्ध हुन्छु, सीईओको कन्ट्याक्ट भोलि नै फाइनल हुन्छ ।’ तीन महिनादेखि आइएमई लाइफ व्यवस्थापकीय नेतृत्वविहीन छ । गत भदौ ९ गते कवि फुयाँलले सीईओ पदबाट राजीनामा दिएपछि कम्पनी नेतृत्वविहीन बनेको हो । त्यसपछि कम्पनीले सीईओका लागि विभिन्न जीवन बीमा कम्पनीका डीसीईओहरूसँग छलफल बढाएको थियो । बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका बमोजिम कम्पनीमा सीईओ पद रिक्त रहेको ३ महिनाभित्र पदपूर्ती गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम कम्पनीले खड्कालाई सीईओमा भित्र्याउने निर्णय गरेको हो । खड्काले तत्कालीन सूर्य लाइफको सीईओ भएर काम गरिसकेका छन् । साविक सूर्य लाइफ र साविक ज्योति लाइफ मर्जपछि उनी डीसीईओ भएर काम गरिरहेका थिए । बीमा क्षेत्रको १० वर्ष बढी अनुभव रहेका उनले नेपाल लाइफबाट बीमा क्षेत्रको करिअर सुरु गरेका हुन् । नेपाल लाइफमा नायब महाप्रबन्धक (डीजीएम)बाट काम सुरु गरेका खड्का चिफ म्यानेजरबाट बाहिरिएका थिए । त्यसपछि उनी विशाल सिमेन्ट कम्पनीको सीईओ बनेका थिए । उनी साविक सूर्य लाइफको सीईओ बनेर बीमा क्षेत्रमा फर्किएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका खड्का चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनीसँग बीमा, सिमेन्ट उद्योग, हाइड्रोपावर, अडिट क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
कल सेन्टरमा अवैध धन्दा चलाउने ३ विदेशी नागरिक कारागार चलान, कल सेन्टरको दुबई कनेक्सन
काठमाडौं । कल सेन्टरमा अवैध भन्दा चलाएको आरोपमा तीन विदेशी नागरिक कारागार चलान भएका छन् । कारागार चलान हुनेमा दुई चिनियाँ र एक फिलिपिनो नागरिक रहेका छन् । भिजिट भिसामा दुबई गएका नेपालीहरूलाई प्रयोग गरी अवैध भन्दा चलाएको आरोपमा तीनजना पुर्पक्षमा कारागार चलान भएका हुन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको सोमबारको इजलासले लिन क्वीनजिङ, डिङ जिहोङ र फिलिपिन्सकी महिला हानिपा सिन्सुएतलाई कारागार चलान गरेको हो । बाँकी धरौटीमा रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । सीआईबीले गत भदाैमा जावलाखेलस्थित एक अवैध कल सेन्टरमा छापा मारी ५० जनालाई पक्राउ गरेको थियाे । त्यतिबेला करिब अर्बको हाराहारीमा अवैध क्रिप्टो करेन्सीको कारोबार भेटिएको थियो । पक्राउपश्चात अनुसन्धान गर्दै जाँदा कल सेन्टरको दुबई कनेक्सन देखिएको थियो । प्रहरीले कारागार चलान भएका तीन विदेशी नागरिकलाई दुई महिना हिरासतमा राखी अनुसन्धान गरेको थियो । सुरुमा उनीहरूविरुद्ध मुलुकी अपराधसंहिताको दफा २६२ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिएको थियो । संगठित रूपमा अवैध क्रिप्टोकरेन्सीको कारोबार धन्दा दुबईमा चलाएकाले उनीहरू सबैलाई दुबई प्रहरीले पक्राउ गरेर डिपोर्ट गरेको थियो । दुबईबाट डिपोर्ट भएपछि उनीहरूले त्यही धन्दालाई चिनियाँको योजनामा जावलाखेलमा सञ्चालन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । उक्त गिरोहले जावलाखेलस्थित जगदीश उपाध्यायको घर मासिक ३ लाख भाडामा लिई काम सुरु गरेका थिए । पक्राउ परेका ५० मध्ये ४२ लाई हाजिरी जमानीमा छाडेर ८ जनालाई मात्रै हिरासतमा लिएर सीआईबीले सुरुवाती अनुसन्धान गरेपनि पछि अनुसन्धानको क्रममा अन्यको पनि भूमिका देखिएपछि उनीहरूलाई पुन: हिरासतमा लिइएको थियाे ।
नेशनल लाईफको मिट द सीईओ कार्यक्रम सम्पन्न, ११० जना अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मिट द सीईओ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको हो । बागतमी प्रदेशबाट योग्य भएका करिब ११० जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् । समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएको मा बागमती प्रदेशबाट मात्रै ११० जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।