अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै
बाँके । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । ‘पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ’, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने, ‘कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।’ उनका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ । म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भने, ‘नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।’ नेपालगञ्जस्थित पाँचतारे होटल सोल्टीले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न कलाज्ञ ब्याण्डलाई नेपालगञ्ज निम्त्याएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कारसमेत राखेको सोल्टीले ‘लाइभबार’, ‘फुड काउन्टर’जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ । कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको (आज) राति कोहलपुर निम्त्याएको छ । डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगञ्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ । होटल सिद्धार्थ नेपालगञ्जले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी गरेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताए । नेपालगञ्जकै तारे होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले गायिका प्रतिक्षासहित उनको ब्याण्डले नयाँ वर्षको स्वागत गर्ने जनाएको छ । होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिकसहित विभिन्न परिकारलाई सहुलियत दरमा आकर्षक ‘प्याकेजिङ’ गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने ‘न्यू इयर इभ’मा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिए ।
बैतडीको सिगास न्वाघर केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करमाथि करः सरकारको खातामा ४ अर्ब ५ करोड, लगानीकर्ताको खल्तीमा १ अर्ब ९८ करोड
काठमाडौं । सरकारले विकास निर्माणको काम गर्न सकेन, जनताले तिरेको कर सरकारले प्रशासनिक खर्चमा धेरै गर्यो भन्ने आवाज जनस्तरमा व्यापक बन्दै छ भने व्यवसायी माथि सरकारले ज्यादा कर उठायो, कर माथि कर लगायो भन्ने आवाज व्यवसायिक जगतमा धेरै सुनिन्छ । त्यसको एउटा उदाहरण ग्लोवल आइएमई बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा देखिन्छ । प्रतिवेदनमा ग्लोबल आइएमई बैंकले गत वर्ष सरकारलाई ४ अर्ब रुपैयाँ भन्दा बढी कर तिरेको उल्लेख छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा व्यवसायबाट नियमित कर २ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ तिरको हो । मर्जर तथा प्राप्ति र एफपीओमा सरकारले भूतप्रभावि कर लगाउँदा बैंकले १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप कर रकम सरकारलाई बुझाएको थियो । बैंकबाट सरकारले ४ अर्ब ५ करोड कर उठाउँदा साेही वर्ष सेयरधनीले जम्मा १ अर्ब ९८ कराेड ७० लाख मात्र पाएका छन् । सेयरधनीले लाभांश जति पाएका छन्, त्यो भन्दा सरकारले २०५.५४ प्रतिशत बढी कर असुल गरेको छ । सामान्यतया सरकारले कम्पनीहरुमाथि नाफामा २५ प्रतिशत कर लगाउँछ । बैंक तथा वित्तीय सस्थालाई यस्तो करका दरमा थप ५ प्रतिशत जोडेर ३० प्रतिशत लगाउँदै आएको छ । तर, यहाँ ३० प्रतिशत मात्र होइन, कर माथि कर लगाउँदै सरकारले सेयरधनीले पाउने रकमभन्दा झण्डै २०५ प्रतिशत कर असुल गरेको छ । गत असारसम्म बैंकको सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड ७३ लाख रुपैयाँ भएपनि सेयरधनीले १ अर्ब ९८ कराेड ७० लाख मात्र पाए । बैंकको चुक्ता पुँजी ३८ खर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । सेयरधनीलाई बैंकले जम्मा ५.५ प्रतिशत मात्र लाभांश वितरण गरेको छ ।
१५ अर्ब बढीको च्याउ बजार, बीमा बजारले पत्याएन
काठमाडौं । पुस १५ मा राष्ट्रिय च्याउ दिवस भव्य रूपमा मनाइयो । विभिन्न कार्यक्रमहरूको आयोजना गरी च्याउ दिवस सम्पन्न मनाइएको हो । २०७६ सालमा च्याउ उत्पादक किसान एकजुट भएर मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ गरेपछि पुस १५ गते राष्ट्रिय च्याउ दिवस तोकेका थिए । त्यसैले किसानहरूले प्रत्येक पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउन थालेका हुन् । च्याउ दिवसका अवसरमा च्याउ उत्पादक किसान संघले राजधानीको भृकुटीमण्डपमा सोमबार च्याउ मेला तथा प्रदर्शनी आयोजना गरेक हो । मेलामा ४० वटा स्टलमा च्याउसँग सम्बन्धित विभिन्न वस्तु प्रदर्शनी राखिएका थिए । च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्की नेपालमा ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेको बताउँछन् । विभिन्न जातका च्याउ उत्पादन र १५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुने गरेको उनले बताए । नेपालको ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेको उनले बताए । अध्यक्ष कार्कीका अनुसार हालसम्म च्याउको बीउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा छन् । हाल दैनिक गोलो च्याउ ८ हजार केजीदेखि १० हजार केजी उत्पादन भइरहेको छ । यस्तै, कन्य च्याउ ४० हजार केजीदेखि ५० हजार केजी उत्पादन भइरहेको कार्कीले बताए । अब १० दिनपछि च्याउको मूल्य सस्तिने उनले जानकारी दिए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ । सिताके च्याउ भने न्यून उत्पादन भइरहेको उनले बताए । के हो च्याउ ? च्याउ एक प्रकारको ढुसी हो । तर, सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागोजस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा ‘माइसेलियम’ भनिन्छ । यिनीहरू कुहिएको वस्तु, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवर्द्धक खाद्यवस्तु हो । त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा हाल गोभ्रे, कन्य, सिताके, दुघे र राजा च्याउको व्यावसायिक रूपमा खेती गरिँदै आएको छ । नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् । तर, यसको अध्ययन, अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमूल्य जातका च्याउको उत्पादन र निर्यातको पर्याप्त सम्भावना हुदाँहुदै सरकारको ध्यान पुग्न नसकेको कार्कीको भनाइ छ । नेपालमा च्याउको इतिहास नेपालमा प्राचीन समयदेखि नै च्याउको उपभोग गरिँदै आएको पाइन्छ । व्यावसायिक रूपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाइन्छ । सर्वप्रथम कन्य च्याउको उत्पादन र अनुसन्धानपश्चात् विसं २०३०/३१ मा गोब्रेच्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको देखिन्छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि विसं २०३७ सालबाट देशका विभिन्न स्थानका किसानलाई च्याउखेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४/३५ सालबाट नै काठमाडौंको बलम्बु, चापागाउँ, दधिकोट हुँदै देशभर च्याउखेती गरिँदै आएको हो । हाल च्याउ उपभोग गर्ने मानिसको संख्या बढ्दै गएपछि व्यावसायिक उत्पादन गर्ने किसानको संख्या पनि दैनिक बढिरहेको संघका अध्यक्ष कार्कीले बताए । ‘च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्छ, कृषि मन्त्रालयले बीमामा करिब ७५ प्रतिशत अनुदान दिएको छ । तर, च्याउको बीमा गर्न बीमा कम्पनीहरू मान्नु हुँदैन,’ गुनासो गर्दै अध्यक्ष कार्कीले भने, ‘च्याउ उत्पादन गर्न उचित नीति आवश्यक छ । कुन किसिमको च्याउ खेती गर्ने, त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्छ ।’ साथै च्याउमा नेपाल आत्मनिर्भर बन्नेतर्फ अग्रसर भएको उनको भनाइ छ । तर, राज्यले सहयोगबिना सम्भव नरहेको उनले बताए । ‘डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसक्यो, दुई/चार वर्षमै आत्मनिर्भर बन्न सक्छौं । सरकारले उचित पहल गरिदिनुपर्छ,’ उनले भने, ‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्नेछ ।’ कुन वर्ष कति च्याउ आयात ? च्याउ उत्पादक किसान संघका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० मा १८ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको ७ लाख ४९४ केजी च्याउ आयात भएको थियो । यस्तै, गत आव २०८०/८१ मा १० करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख ८१ हजार ८७१ केजी च्याउन आयात भएको संघको दाबी छ । तर, पछिल्लो समय च्याउ आयात घटेको तथ्याङ्कले देखाएको छ । चालु आव २०८१/८२ को मसिरसम्म १ करोड ९१ लाख ४६ हजार रुपैयाँको ३५ हजार १५५ केजीमात्रै च्याउ आयात भएको देखिन्छ ।
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन, अदालतले रिट खारेज गरेपनि हुुन सकेन काम
फाइल फोटो काठमाडौं । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन । ७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो । बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका-१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो । बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए । अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएकोे थियो । गाभरमा ६ वटा, बाँनियाभारमा ३ वटा गरेर ९ वटा टावर निर्माण हुन बाँकी रहेको छ । उक्त टावरहरु निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ । बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुनै ठाउँमा समस्या समाधान नजिक रहेको बताए । अवरोध भएमा त्यसको हल प्रशासनले गर्नेसमेत उनले बताए । आयोजना प्रमुख चौधरीका अनुसार बाँनियाभारमा केही अवरोध भएको र तोकिएको मुआब्जा दिन तयार भएको छ । आयोजना प्रमुख चौधरीका अनुसार टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर-सुर्खेत सम्म १६१ वटा टावर रहेका छन् । आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ । हर्रे-छिन्चु-सुब्बाकुना र कोहलपुर-चिसापानी सम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताए । १४ किमी हर्रे-बबई-चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ । अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ । निकुञ्जमा ७० वटा टावरमध्ये ६ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताए । आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उनले बताए । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ । सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्नसमेत समस्या हुँदै आएको छ ।
तराई मधेसमा बाक्लो कुहिरो, चिसो स्याँठ चल्न थालेपछि जनजीवन प्रभावित
काठमाडौं । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका-८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताए । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । जलेश्वर-४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर-२ का चिया व्यापारी सुरेश साहले बताए । चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिए । ‘चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ,’ उनले भने । १० नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् । जलेश्वर-११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गरे । उनले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताए ।
नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम गरिएको हो । यससँगै कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर तोकेको छ । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा)योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर प्रदान गर्नेछ । सावधिक जीवन (जीवन समुन्नत) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ५६ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५६ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर तोकेको छ । सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प एक तथा विकल्प दुईमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि १९ वर्ष अवधिको ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ६५ रुपैयाँ बानेस दर प्रदान गर्नेछ । सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क विकल्प एक मा ० देखि १० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ५५ रुपैयाँ, १६ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ६० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ६० रुपैयाँ बानेस दर निर्धारण गरेको छ । सावधिक जीवन बीमालेखको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि १९ वर्ष अवधिको ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ६२ रुपैयाँ बानेस दर कामय राखेको हो । सावाधिक तथा आजीवन (जीवन साहारा, अनमोल जीवन) बीमायोजनामा ० देखि १० वर्ष अवधिको ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) र अग्रिम भुक्तानी सावधिक जीवन बीमा (नौलो जीवन समृद्धि) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ । अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिको ६२ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६१ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६१ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
६ कम्पनीको लाभांश पाउन आज सेयरधनी बन्नुपर्ने, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १६ गते अन्तिम दिन रहेको छ । लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र शिवम् सिमेन्ट्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ६ कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २४ गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते बालुवाटार काठमाडौंमा २०औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ । यस्तै, आइसिएफसि फाइनान्सले चुक्ता पुँजीको करसहित ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २३ गते भक्तपुरमा २३औँ वार्षिक साधारण सभा बिहान १० बजे आह्वान गरेको छ । यस्तै, डिप्रोक्स लघुवित्तले ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २६ गते सौराह चितवनमा २३औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । यस्तै, शिवम् सिमेन्टले चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ९ बजे साधारण सभा डाकेको छ ।