नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित
काठमाडौं । नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड रुपैयाँ सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको बताए । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको दुई खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख रुपैयाँ कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । उक्ता खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए । ‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ’, उनले भने । कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताए । त्यस्तै कोषको मधेश प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीयस्तरमा सेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । ‘कोषको लगानी रणनीति जोखिम विश्लेषणका आधारमा अघि बढाइएको छ । साइबर सुरक्षामा विशेष ध्यान दिँदै प्राविधिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने कार्य भइरहेको छ’, कार्यकारी निर्देशक कार्कीले भने । सरकारी वाणिज्य बैंकको तुलनामा कोषको ब्याजदर समानस्तरमा रहेको र सजिलै कर्जा उपलब्ध गराउन व्यवस्थापनले ध्यान दिएको उनले बताए । त्यस्तै कोषको कर अघिको नाफा घटेको जस्तो देखिए कर पछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उनले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गरे । नागरिक लगानी कोषले आफ्ना गतिविधिहरूलाई पारदर्शी र जनउत्तरदायी बनाउन निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे ।
सेयर बजारमा ६ अर्ब बढीको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ । सोमबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसभध्ये सबैभन्दा सेयर एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ४५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख र हिमालयन पावरको १५ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारणसभा सम्पन्न
काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पेस गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँनयाँ विषयमा अनुसन्धानसमेत गर्न आईआईएनलाई निर्देशन दिए । आईआईएनका संरक्षकसमेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाइमा पुर्याउनका लागि आफ्नो क्षेत्रबाट मिहिनेतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए । अध्यक्ष दहालले भने, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ । समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीव्रता दिनुपर्छ ।’ त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे । आईआईएनको सञ्चालक समितिका अध्यक्ष दीपप्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । आईआईएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिनुभयो । साधारणसभामा आईआईएनका सञ्चालक समितिका सदस्यहरू तथा सेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका सीईओहरूको सहभागिता रहेको थियो ।
एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर रहेको बताएका हुन् । उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताए । उनले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने जानकारी दिए । सुशासन कायम गर्नका लागि नागरिक एपको भुमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए । ‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एशियामै सबैभन्दा पछाडि छौँ,’ उनले भने । मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए ।
नेपाली बजारमा लन्च भयो ‘रेड्मी नोट फोर्टिन सिरिज’, गुगलको एआई ‘जेमिनी’को पनि सुविधा
काठमाडौं। साओमीले नेपाली बजारमा रेड्मी नोट फोर्टिन सिरिज सार्वजनिक गरेको छ। सोमबार ठमेलस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै साओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । कम्पनीले सोमबारदेखि नेपाली बजारमा यो सिरिज उपलब्ध गराएको हो । यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ । फाइभजीमा रेड्मी नोट फोर्टिन फाइभजी, रेड्मी नोट फोर्टिन प्रो फाइभजी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभजी रहेका छन् । यसैगरी, फोरजी फोनमा रेड्मी नोट फोर्टिन फोरजी फोन रहेका छन् । जसमा रेड्मी नोट फोर्टिन सिरिजमा रेड्मी नोट फोर्टिन, रेड्मी नोट फोर्टिन फाइभ जी, रेड्मी नोट फोर्टिन प्रो फाइभ जी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभ जी गरी ४ मोडलहरू रहेका छन् । यी सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता रहेको कम्पनीले जनाएको छ । हेर्नुहोस् केके छन् विशेषता नोट फोर्टिन प्रो र नोट फोर्टिन प्रो प्लस कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो । एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो-ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ । यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ । यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् । पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै, यी मोडेलमा १.५ के एमोलेड डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । प्रो प्लस फाइभजीमा स्न्यापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै, यो मोडल ८ र १२ जीबी र्याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, फोर्टिन प्रोमा मिडियाटेक डाइमेन्सिटी ७ हजार ३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडल ८ र १२ जीबी र्याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ । यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ । नोट फोर्टिन सिरिजअन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोर भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ भने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ । रेड्मी नोट फोर्टिन फाइभ जी रेड्मी नोट फोर्टिन फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ । मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८ जीबी २५६ जीबी र १२ जीबी ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मोडल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ । यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ । गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ । रेड्मी नोट फोर्टिन फोर जी यस मोडेलमा मिडियाटेक हेलियो जी ९९- अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६ जीबी १२८ जीबी र ८ जीबी २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । १०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ । सेल्फी पारखीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ । ५ हजार ५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ । यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ । यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्चस्तरलाई विशेष ध्यान दिइएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । उनले भने, ‘शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट फोर्टिन सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप-स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरूले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।’ यस्तै, कार्यक्रममा सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरू तथा आधिकारिक डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सोमबार काठमाडौंमा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्धेश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समय सापेक्ष परिमार्जन गर्दै आएको छ । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए । सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदन माथि सेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए । उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापाको उपस्थिति रहेको थियो । सभामा बाह्य लेखापरीक्षकहरू, बैंकका कानुनी सल्लाहकारहरूलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । सभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।
लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गरे । उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे । उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर् याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए । तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी गर्यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरुले दिनरात नभनी काम गरेको बताए । ‘हामी १०-५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?’ सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गरे । सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिएका थिए । महासङ्घ अध्यक्ष शर्मा र महासचिव रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष शर्माले महासङ्घको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यसपटक महिला अध्यक्ष भएर इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र पत्रकारको साथ रहेको बताए ।
एप्पलमा ‘नवप्रवर्तन’को अभाव र ‘मनपरि नियम’ भएको जुकरबर्गको आरोप
काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हालैको एक पोडकास्ट अन्तर्वार्तामा एप्पलको आलोचना गरेका छन् । उनले एप्पलमा नवप्रवर्तनको अभाव भएकाे र मनपरी नियमको आलोचना गरे । ‘एकातिर आइफोन उत्कृष्ट भएको छ, किनकि अब संसारमा लगभग सबैसँग फोन छ र त्यसले धेरै अद्भूत चीजहरूलाई सक्षम बनाउँछ,’ जुकरबर्गले ‘जो रोगन एक्सपेरियन्स’ को एक एपिसोडमा भनेका छन्, ‘तर अर्कोतर्फ … तिनीहरूले त्यो प्लेटफर्म प्रयोग गरेर धेरै नियम राखेका छन् जुन मलाई मनोमानी लाग्छ ।’ ‘मलाई लाग्छ कि एप्पलले केही समयदेखि केही महान आविष्कार गरेकाे छैन । यो स्टिभ जब्सले आइफोन आविष्कार गरेजस्तै हो र अहिले २० वर्षपछि पनि कम्पनी त्यसैगरी बसिरहेकाे छ,’उनले थपे । जुकरबर्गले आइफोनले बिक्री संघर्ष गरिरहेको आफूले सोचिरहेको बताए । उनका अनुसार उपभोक्ताहरूले आफ्नो फोन अपग्रेड गर्न धेरै समय लिइरहेका छन् किनभने नयाँ मोडलहरू अघिल्ला मोडलभन्दा खासै सुधार भएका छैनन् । जुकरबर्गले एप्पलको ३० प्रतिशत डेभलपर शुल्क र तेस्रो पक्ष उपकरणहरूको सीमित पहुँचको पनि आलोचना गरे । उनले भने, ‘उनीहरूले एयरपड्सजस्ता उत्पादनहरू बनाउँछन्, जुन राम्रो छ तर अरू कसैलाई पनि आइफोनसँग सजिलै जडान गर्नसक्ने उपकरण बनाउन पूर्ण रूपमा रोक लगाएका छन् ।’ एप्पलले उपभोक्ताको गोपनीयता र सुरक्षालाई कारण देखाएर आफ्नो नीति बचाऊ गर्ने गरेकोमा जुकरबर्गले भने, ‘यो असुरक्षित छ किनभने तपाईंहरूले यसमा कुनै सुरक्षा निर्माण गर्नुभएको छैन ।’ उनले एप्पलको ‘मनपरी नियमहरू’ हटाइए मेटाको नाफा दोब्बर हुन सक्ने दाबी पनि गरे । एप्पलको भिजन प्रो हेडसेटको आलोचना गर्दै उनले भने, ‘एप्पलले ३ हजार ५०० डलरमा यस्तो केही पठाए जुन हामीले ३०० वा ४०० मा पठाएको भन्दा खराब छ ।’ भिजन प्रो हेडसेटको बिक्री अमेरिकामा निराशाजनक थियो । मेटाले मेटा क्वेस्ट भनिने आफ्नै भर्चुअल हेडसेटहरू बेच्दै आइरहेको छ। जुकरबर्गको यो टिप्पणीले एप्पल र मेटाबीचको प्रतिस्पर्धालाई थप उजागर गरेको छ ।