ढोरपाटनमा वर्षासँगै हिमपातहुँदा जनजीवन प्रभावित, किसान भने हर्षित
कठमाडौं । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका-६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका-९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए । शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकी नै प्रभावित बनेको उनी बताउँछन् । ‘एक/दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो,’ उनले भने । लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ । उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उनको भनाइ छ ।
देशका अधिकांश भागमा मौसम सफा रहने, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ । आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार
काठमाडौं । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन्। उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन्।’ प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए । ‘मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ, प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग भने । यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले भने, ‘तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,’ बीआरओका कार्यकारी इञ्जिनियरले भने । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत-तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए । उनले भने, ‘चमोली जिल्लाको माना गाउँ नजिकै बीआरओले गरिरहेको निर्माण कार्यको क्रममा धेरै कामदारहरू हिमपहिरोमा फसेको दुःखद खबर प्राप्त भएको थियो, आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन्।’ बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो । एजेन्सी
भूकम्पमा भाग्दा काठमाडौंमा दुई जना घाइते
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौंमा दुई जना घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन् । थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पुर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए ।
निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’
कैलाली । ‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानबाट आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् । मानवीय सेवामा समर्पित भएर थालिएको यो अभियान बैतडीको शाहीलेक बजारमा झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकमार्फत कार्यान्वयन भइरहेको छ । बैतडीकै मेलौली नगरपालिका क्षेत्रमा पनि यसको शाखा सञ्चालनमा छ । हुनेखाने सम्पन्न व्यक्ति/संस्थाले सित्तैमा बैंकलाई ओड्ने ओछ्याउने र लगाउने लुगा उपलब्ध गराइरहेका छन् भने नहुने विपन्न व्यक्तिले बैंकमार्फत निःशुल्क लुगा पाइरहेका छन् । मेलौली नगरपालिकास्थित धर्मघर माध्यमिक विद्यालयका शिक्षक लोकराज जोशीले कपडा बैंकले विद्यालयका गरिब एवं विपन्न व्यक्तिका छात्रछात्रा र गाउँका असहाय विपन्न व्यक्तिलाई निःशुल्क ओड्ने, ओछ्याउने, लगाउने लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको बताए । स्थानीय गोपालदत्त भट्टले गरिब, दिनदुःखीको सेवाका लागि खोलिएको कपडा बैंक मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए । कपडा बैंक सञ्चालक महेशदत्त भट्टले झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकबाट यो अवधिमा गरिब एवं अतिविपन्न नौ सय ७८ परिवारका व्यक्तिलाई कपडा निःशुल्क उपलब्ध गराइएको बताए ।
अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताएका छन् । ‘अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभाव गहिरो भएको छ र चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,’ सीले सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरेका छन् । ‘अर्थतन्त्र सुधारमा देखिएका समस्याका बावजुद यो पनि स्वीकार गर्नुपर्छ कि असङ्ख्य फाइदाहरू, सशक्त लचिलोपन र विशाल क्षमताका साथ चीनको आर्थिक आधारभूत आधारहरू ठोस रहेका छन्,’ राष्ट्रपति सीले भने । उनले अगाडि भने, ‘दीर्घकालीन वृद्धि र समग्र सकारात्मक मार्गलाई समर्थन गर्ने परिस्थितिमा परिवर्तन आएको छैन ।’ चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता ‘दुई सत्र’ मा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् । प्रधानमन्त्री ली कियाङले सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार हुने नेसनल पिपुल्स कङ्ग्रेस (संसद) को उद्घाटनमा सबैको नजर रहनेछ । रासस
आगामी वर्ष दशैं र तिहारमा ११ दिन बिदा, यस्तो छ वर्षभरिको बिदाको सूची
काठमाडौं । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा कुल ३० दिनको हाराहारीमा सार्वजनिक बिदा हुने उल्लेख छ । २०८२ मा दशैंमा ६ र तिहारका ५ दिनको बिदा छ । महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने सार्वजनिक बिदाको सूची छुट्टै रहेको छ । सार्वजनिक विदाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।
स्वास्थ्य क्षेत्रमा ३० प्रतिशत बजेट छुट्याउन आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न नसकिने बताएका छन् । बुकवर्म फाउण्डेशनद्वारा पोखरामा आयोजित १२औँ नेपाल साहित्य महोत्सवको ‘स्वास्थ्यसेवामा जनताको पहुँच’ विषयक बहस सत्रमा उनले जनसङ्ख्याको तुलनामा नेपालमा अस्पताल र चिकित्सकको कमी रहेको उल्लेख गरे । ‘सेना, प्रहरी, निजामतिलगायतमा जनशक्ति बढ्यो तर स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा जनशक्ति थपिन सकेको छैन’, मन्त्री पौडेलले भने, ‘स्वास्थ्य पूर्वाधार, जनशक्ति र उपकरणमा लगानी बढाउनुपर्छ, नीतिगत र संवैधानिक घोषणाअनुसार नागरिकलाई स्वास्थ्यसेवा दिन कुल बजेटको ३० प्रतिशत बजेट स्वास्थ्यमा छुट्टाउनुपर्छ ।’ स्रोतको सुनिश्चितता नगरी गरिएका कतिपय घोषणा कार्यान्वयनमा चुनौती देखिएको उनको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका विकृतिलाई अन्त्य गरी थप व्यवस्थित गर्नुपर्ने बताए । उनले छिट्टै पाँच सय जना नयाँ चिकित्सकको दरबन्दी सिर्जना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी भइरहेको बताए । मन्त्री पौडेलले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । ‘स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ, नीतिगत व्यवस्था भएपनि स्रोतको अभावमा कतिपय योजना व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेका छैनन्’, उनले भने, ‘अब स्वास्थ्यमा लगानी वृद्धि गरेर यस क्षेत्रमा देखिएका समस्याको दीर्घकालिन समाधान खोज्नुपर्छ ।’