सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छन् । नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ । मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् । सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ । जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए । लेकाली क्षेत्र भएका कारण बस्ती पातलो छ । जनघनत्व पनि कम छ । नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन् । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ । सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ । लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्याउन र घरसम्म ल्याउन खटिनुपर्ने उनीहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५ विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ । ‘एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ’, स्थानीय फुर्वा शेर्पाले भने । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छन् । रासस
एनसेलको नयाँ स्किम ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा
काठमाडौं । एनसेलले कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स-डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्ने नयाँ स्किम सार्वजनिक गरेको छ । ‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा दुई सय मिनेटसम्म अन-नेट टक टाइम बोनस दिने भएको छ । कम्पनीका अनुसार यो अफर बिहीबार (फागुन १५) देखि लागू भइसकेको छ । कम्पनीले हालै अन लिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्न सधैँ अन रिन्यूअल प्याक सञ्चालनमा ल्याएको थियो । शुक्रवार सार्वजनिक नयाँ स्किम प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ‘म्याजिक रिसोर्सेज’बोनस अफर अन्तर्गत, सधैँ अन रिन्यूअल प्याक, होम एन्ड अवे प्याक, अन लिमिटेड भ्वाइस, अन लिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्नेछन् । नयाँ अफरमा सधैँ अन रिन्यूअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन-नेट टक टाइम, वा १० देखि २ सय अन–नेट एसएमएस बोनसका रूपमा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।सात दिन समयसीमा रहेको दुई सयको कम्बो प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अन लिमिटेड डेटासँगै बोनस बापत २ जीवी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, ४ सय ९९ को अन लिमिटेड भ्वाइस रिन्यूअल प्याकमा ग्राहकहरूले ५ जीवी डेटा वा एक सय मिनेट अल नेट टक टाइम, वा एक सय अन-नेट एसएमएस बोनस प्राप्त गर्न सक्नेछन् ।
दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा बचत गर्ने अवसर
काठमाडौं । दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेन घोषणा गरेको छ । ग्राहकले क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरको भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ । फागुन १९ देखि २३ गतेसम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । क्याम्पेन अवधिभर दराजका ग्राहकले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक छुट पाउनेछन् । दराजका अनुसार सिटाफिल, अइविबी, डा. केयरलगायत विभिन्न ब्रान्डमा ६० प्रतिशतसम्मको छुट पाउनेछन् । यो क्याम्पेनमार्फत अर्डर गर्ने ग्राहकलाई निःशुल्क डेलिभरीको सुविधासमेत रहेको दराजले जनाएको छ ।
सात महिनामा आठ अर्ब ६८ करोडको धान र चामल आयात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै चार अर्ब ९१ करोड रुपैयाँ मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’ कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै एक अर्ब ३५ करोड रुपैयाँ मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने एक अर्ब छ करोड रुपैयाँको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा दुई अर्ब ९६ करोड रुपैयाँ मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने दुई अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६० पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ । यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेप्सेको सीईओका लागि आवेदन दिने समय ७ दिन थपियो, कारण के हो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समय लम्बिएको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद ७ दिन थप गरेको हो । समय थप भएसँग अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि गत फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त समयमा तीन दिन सार्वजिनक बिदा परेको कारण समय थप गरिएको सिफारिस समितिले जनाएको छ । इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुग्ने गरी आवेदन दिनुपर्नेछ । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेलाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओबिहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।
स्वरोजगार लघुवित्तको एफपीओ बिक्री खुला, १ हजार कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ । लगानीकर्ताले फागुन २१ गतेसम्म लघुवित्तको एफपीओमा आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने, सहमतिपत्रमा हस्ताक्षर गर्न संचालकलाई अख्तियारी दिँदै
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंकले आफू मर्जरमा जानका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको समेत खोजि गरिरहेको छ । बैंक सञ्चालक समितिको बैठकले चैत ११ गते बिर्तामोड झापामा बिहान ११ बजे १९औं साधारण सभा बोलाएको छ । बैंकको सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । बैंकका अनुसार उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ती प्रयोजनका लागि सहमतिपत्रमा हस्ताक्षर, समिति गठन, चल अचल सम्पत्तीको मूल्याङ्कनका लागि मूल्यांकनकर्ताको नियुक्ति, निजको पारिश्रमिक निर्धारण, सेयर आदान प्रदान अनुपात निर्धारण, नियमनकारी निकायसँग सहमति लिने लगायतका आवश्यक कार्य अघि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ । साथै सभाले संचालक समितिका सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने, बैंकको नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स ज्ञानेन्द्र बहादुर भारीलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।