विकासन्युज

कुलमानलाई कारवाही, ज्ञानेन्द्रलाई उन्मुक्ति

चैत्र १५ गते राजधानीका तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्र पुरै अराजक बने । राजावादीहरुको अराजक भीडले तोडफोड, लुटपाट, आगजनीसहित उत्पात मच्चायो । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले टोयटाको बुलेटप्रुफ गाडी प्रहरी फौजमाथि नै जोते । प्रसाईंका सहयोगीहरुले पुलिसको बन्दुक खोसे । उनैको उक्साहटमा राजावादीहरुले निजी घरहरुमा लुटपाट गर्ने र आगो लगाउने काम गरे । देशको सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीमा लुटपाट मच्चाए । कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको अफिसमा तोडफोड गर्ने र आगो सल्काउने काम गरे । पुलिसका भ्यानमा मात्र होइन, जलिरहेको घरमा आगो निभाउन गएको दमकलमा पनि ढुंगामुढा गरे, आगो लगाए । राजावादीहरुले राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड मात्र गरेनन्, सरकारी स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगो लगाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जगाउने उदेश्यका साथ नजिकै डढेँलो लगाए । यस्ता अराजकताको फोटो र भिडियो खिच्दै गरेका एभिन्यूज टिभीका पत्रकार सुरेश रजकलाई जिउँदै जलाइदिए । अनलाइन खबरका पत्रकार दिनेश गौतमको खुट्टा भाँचिदिए । अराजक आन्दोलनमा परी कीर्तिपुर निवासी सबिन महर्जनसहित २ जनाको ज्यान गएको छ । १३० जनाभन्दा बढी मानिस घाइते भएका छन् । दर्जनौँ सवारी साधन जलेर नष्ट भएका छन् । तीनकुने चोकका अधिकांश घर तोडफोड गरिएका छन् । राजावादी समूहको अराजकतावादी आक्रमणबाट प्रहरीहरु नै असुरिक्षत भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गर्‍यो । साँझ मन्त्रिपरिषद्को बैठकले दोषीलाई कारबाही गर्ने निर्णय गर्‍यो । शनिवार साँझसम्म राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव धवल शमशेर राणासहित ११३ जना पक्राउ परेका छन् । अराजकता मच्चाउने मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह घरमा बसेर रमिता हेरिरहेका छन् । आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सरकार असफल भएको छ । गृहमन्त्रालयका सहसचिव छवि रिजालका अनुसार, तीनकुनेमा करिब ३ हजार प्रदर्शनकारी थिए । जबकि समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा गरेको सभामा करिब ३५ हजार मानिस सहभागी भएका थिए । समाजवादी मोर्चाको सभा शान्त रह्यो भने तीनकुनेमा राजावादीहरुले उत्पात गरे । एकै दिन दुई स्थानका ठूला प्रदर्शनी हुँदै गर्दा त्यसका सुरक्षा र व्यवस्थापनका लागि सरकारले करिब ५ हजार प्रहरी परिचालन गरेको थियो । यो नै सरकारको सबैभन्दा ठूलो गल्ती थियो । ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई आन्दोलनका कमाण्डर बनाएपछि प्रसाईंले नेताहरुको घर–घरमा पुगेर कुटपिट गर्ने, नेताको घर जलाउनेजस्ता अभिव्यक्ति दिएका थिए । उनका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर, प्रहरी प्रशासन मौन बस्यो, गृहमन्त्री रमेश लेखकले कुनै मतलब गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङ हटाउने र त्यसलाई सही साबित गर्ने कार्यमा व्यस्त रहे । सिङ्गो राज्य संयन्त्र घिसिङ हटाउने निर्णय सही थियो भनेर बचाउन तल्लीन रह्यो । अझै पनि प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङलाई हटाउनु सहि भएको जवाफ दिन संसदमा उभिदैछन् तर ज्ञानेन्द्र शाहले गलत गरे भनेर उनीमाथि कारवाही गर्न उनी तयार छैनन् । ज्ञानेन्द्र शाहप्रति केपी ओली यहि उदारता बुझेर होला राजाबादीहरु केपी शर्मा ओली नेतृत्वका सरकार टिकिरह्यो भने अबको ३ महिनामा राजतन्त्र व्यूताउन सकिने विश्लेषण सुनाईरहेका छन् । तीनकुनेमा अराजकता मच्चाउने कार्यको नेतृत्व ज्ञानेन्द्रले नै गरेका हुन् भन्दै काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् । त्यसको कार्यान्वनका लागि ८ वटा पत्र काटेरका छन् । मेयरले यति ठूलो आँटका साथ निर्णय गर्दा प्रधानमन्त्री ओली ठोस निर्णय लिन सकेका छैनन् । ज्ञानेन्द्र शाहमाथि कारवाही गरेका छैनन् । लाग्छ, ओलीको नजरमा ज्ञानेन्द्र शाह तिनकुने गएकै थिएनन्, अराजक गतिविधिमा उनले हात उठाएकै थिएनन् । तिनकुनेको घट्नालाई राजनीतिक रुपमा मात्र हेरिनु हुन्न । यहाँ सर्वसाधारणको जीउज्यानको सुरक्षा जोडिएको छ । निजी घरहरुमा तोडफोड, लुटपाट र आगजनी गरिएका छन् । राजावादीले अहिले गरेको जस्तै उत्पातपूर्ण घट्ना राजधानी काठमाडौंमा पहिलो पटक  भएको होइन । २०७९ फागुनमा लोत्सेमहलमा भएको लुटपाट, २०६१ सालमा इराकका नेपाली युवाहरु मारिएको विरोधमा भएको भएको लुटपाट पनि यस्तै थिए । दुई दशकका बीचमा राजधानीमा भएका यी तिनै घटनामा सरकारी संयन्त्र निस्क्रिय जस्तै देखिएको छ । घटनास्थलमा प्रहरी पुग्न नसक्ने, दमकल पुग्न नसक्ने अवस्था देखियो । यस्तो दुरावस्थाले आम नागरिकले आफूलाई असुरक्षित महशुस गरेका छन् । अर्को महत्वपूर्ण यो हो कि यस्ता अराजकता मच्चाउनेहरुलाई कारबाही गर्न सरकारी संयन्त्र असफल भएको छ । तीनकुनेमा जे भयो, त्यसको प्रशस्त फोटो र भिडियोहरु क्यामेरामा कैद भएका छन् । सञ्चारमाध्यमहरुमा प्रकाशित/प्रसारित भएका छन्। तीनको आधारमा, सीसीटीभी फुटेजका आधारमा, राज्य संयन्त्रका निगरानी र सूचनाको आधारमा, थप अनुसन्धानले पुष्टि गरेका आधारमा दोषीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नैपर्छ । अराजकताको आगो आगामी दिनमा फेरि बल्नु हुँदैन ।

एथरको नयाँ मोडल ४५०एक्स र ४५०एस सार्वजनिक, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले २०२५ मोडलका एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । अत्याधुनिक प्रविधिसहित आएको यी स्मार्ट स्कुटरहरूलाई ‘बाइक अफ स्कुटर’ को उपनाम दिइएको छ । साथै, एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ पनि खुला गरिएको छ । कम्पनीका अनुसार २०२५ एथर ४५०एक्समा बहु–मोड ट्रयाक्सन कन्ट्रोल प्रणाली उपलब्ध छ, जसले स्कुटरलाई विभिन्न प्रकारका सडक सतहमा सुरक्षित र स्थिर बनाउँछ । रेन मोड, रोड मोड, र स्पोर्ट्स मोड जस्ता विशेष मोडहरूले प्रयोगकर्तालाई ट्राफिक र अफरोड दुबै अवस्थामा सहज अनुभव प्रदान गर्छन् । वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले भने, ‘प्रिमियम मोटरसाइकलमा मात्र पाइने प्रविधिहरू अब स्मार्ट स्कुटरमा पनि उपलब्ध छन् ।’ स्कुटरको रेन्ज सुधार गर्न नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । एथरले एमआरएफसँग सहकार्य गरेर मल्टी-कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र ब्याट्री खपतलाई अनुकूल बनाउँछ । ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ । स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् । नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २।९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ । कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ । वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।

मधेस मुख्यमन्त्रीले गरे मिर्चैयाका अस्पताल अनुगमन : दुई जना पक्राउ

सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छ्न् । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए । यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

दमौली । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो बाटोमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।

कर्पोरेट पेमा जोडिए २० हजार बढी संस्था, ८ महिनामै ७१४ अर्बको कारोबार फर्स्यौट

काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्था आबद्ध भएका छन् । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले यो आँकडा पूरा भएको जानकारी दिएको हो । एनसीएचएलका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै कर्पोरेट पेमार्फत ७१४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साना तथा मझौला व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाले डिजिटल भुक्तानीका लागि कर्पोरेट पेको प्रयोग गरिरहेका छन् । कर्पोरेट पेको मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेसले प्रयोगकर्ताहरूलाई आकर्षित गरेको एनसीएचएलको भनाइ छ । कर्पोरेट पेमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी भुक्तानीका लागि आवश्यक अपरेटिङ म्यान्डेटहरू सेट गरी फन्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । कर्पोरेट पेमा रियल टाइममा प्रति कारोबार एक करोड रुपैयाँ (सोही बैंक वित्तीय संस्था) र २० लाख रुपैयाँ (अन्य बैंक वित्तीय संस्था) सम्म कारोबार गर्न सकिन्छ । नन-रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म कारोबार सीमा रहेको छ ।

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु

काठमाडौं । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उनले बताए। चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताए। महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ ।

लगानीको वातावरण बनाएका छौँ, थप सहजीकरण गर्न सरकार तयार छ: उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)द्वारा माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन, २०२५मा उहाँले सरकारले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताए । मन्त्री भण्डारीले भने, ‘नेपालमा लगानीको वातावरण बनाएका छौँ, त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ । कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा तपाईहरू लगानी गर्न आउनुस्, सरकारले पूर्ण सहयोग गर्नेछ ।’ मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानीका लागि आग्रह गरे । सरकारले लगानीका लागि आवश्यक कानुनी संरचना बनाइसकेको र त्यसैमा टेकेर उद्योग, व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय थुप्रै लगानी सुरु भइसकेका उनको भनाइ छ । नेपालमा उत्पादन भएका वस्तुहरु विदेशमा सहजै निर्यात गर्न सकिने भएकाले दक्षिण एसियामा लगानीको सम्भावित क्षेत्रमा भारतपछि नेपाल मन्त्री भण्डारीले दाबी गरे । कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील ज्ञवाली मध्यस्थकर्ताका रूपमा रहेका थिए । कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, लगानी बोर्डका उपसचिव हिमालचन्द्र अर्याल, डा बद्री केसी, टीका गुरुङ (राधिका), गोविन्द खरेल घनश्याम पाण्डेलगायतले प्रस्तुतीकरण गरेका थिए ।

ढोरपाटनमा सुरु भयो सिकार याम, ३५ वन्यजन्तुको सिकार हुने, १.२६ करोड आम्दानी

काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् । यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए । दोस्रो याम (फागुन-वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् । अहिलेसम्म २ नाउर मात्र सिकार भएको उनले बताए । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका हुन् । त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले २ नाउर, २ झारल र २ बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत ३ सिकारीले ३ नाउर र १ झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत २ सिकारीले २ नाउर, १ झारल र २ बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उनले जानकारी दिए । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत ३ सिकारीले ३ नाउर, ३ झारल र ३ बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउँछन् । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत ३ सिकारीले १ नाउर, २ झारल र ३ बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिए। उनका अनुसार एउटा झारलको ८ लाख रुपैयाँ, नाउराको ६ लाख २५ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए । दोस्रो याममा १ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष २ याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ ।