नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने
काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी व्यक्त गरे भने कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैबीच सानिगाड हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र सानिगाडको प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । योसँगै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको उनानचास करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् ।
लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयनयोग्य कार्यक्रम तथा योजना आवश्यक : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरू आवश्यक भएको बताएका हुन् । उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गरे । अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरूलाई गम्भीर रूपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए । श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाहरूको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताए । अर्थसचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ : राजेश हमाल
काठमाडौं । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन् । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताए । उनले भने, ‘मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको चर्चा हुनु पर्छ । किनकि पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन । यहाँ केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन्, म त्यही मध्येको एक हुँ ।’ उनले चलचित्रको विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले आठ वर्षपछि चलचित्रमा अभिनय गरेको स्पष्ट गरे । नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाएको गम्भीरताको पनि अभिनेता हमालले तारिफ गरे । अभिनेता हमालको जोडी बनेर चलचित्रमा प्रस्तुत भएकी अभिनेत्री नीति शाहले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरे । ‘यो चलचित्रमा मैले अनुभवी कलाकारसँग काम गर्न पाएको छु, उहाँको अनुभवले मलाई धेरै कुरा सिकाएको छ । अभिनेता हमालसँग काम गर्न पाउँदा म निकै खुसी छु, हामी आफ्नो पात्रअनुसार चलचित्रमा फिट देखिएका छौँ,’ अभिनेत्री शाहले भने । दिवाकर भट्टराईले निर्देशन गरेकाे ‘नरसिंहा अवतार’ चलचित्र आउँदो वर्ष २०८२ जेठ ९ मा प्रदर्शन हुनेछ । यस चलचित्रमा अभिनेता हमाल र अभिनेत्री शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् ।
औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उद्योगी उत्साहित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुसी जनाएको छ । औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडसेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, ऊर्जा मन्त्रालय र सरकारलाई एसोसिएसनले धन्यवादनसमेत दिएको छ । एसोसियसनले प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगहरूमा प्रत्यक्ष असर परिरहेको समेत जनाएको छ । एसोसियसनमा आवद्ध संघहरूमा सदस्य रहेका उद्योगहरूले क्षमताअनुसार निर्यातमुखी उत्पादन गर्न नपाएको कारणले उद्योगले आम्दानी तथा राज्यले राजश्व गुमाइरहेको र त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । यस्तै, स्वदेशी श्रम एवं सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवर्द्धन गर्दै विश्वबजारमा चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपरेका निर्यातमुखी उद्योगहरूले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका कारण असुरक्षा र अनिश्चितताको विकराल समस्या भोगिरहेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न गरिरहेको छ । यससँगै अब औद्योगिक क्षेत्रले निरन्तर चौबीसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितताको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । एसोसियसनले स्वदेशी कच्चा पदार्थ एवं उत्पादनहरु उपभोग तथा नियात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा योगदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, यसमा संगठित उद्योगहरूले निर्यातमार्फत राज्य र अर्थतन्त्रमा गरिरहेको योगदान उल्लेख्य रहेको तथ्यांकले प्रमाणित गर्ने विज्ञप्तिमा उल्लेख छ । तर, विगत लामो समयदेखि निर्यातमा सरकारले दिने नगद सहुलियत रकम निकासा रोकिएको गुनासो समेत विज्ञप्तिमा एसोसियसनले गरेको छ । एसोसिएसनले यथाशीघ्र सहुलियत रकम प्रदान गर्नका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।’ उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुनः चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।
गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट, २०१ कम्पनीको मूल्य घट्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९५ अंकले घटेर २६७६ बिन्दुमा झरेको छ । आज ४२ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२० कम्पनीको १ करोड ६ लाख लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४५ करोड, सीइडीबी होल्डीङसको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !
वीरगञ्ज । तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उनी कहिल्यै विचलित भएनन्। एक न एक दिन त वीरगञ्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित आफ्नो यात्रामा निरन्तर डटेर लागिरहे। जसको परिणामस्वरुप अहिले सम्भवतः वीरगञ्जकै सबैभन्दा धेरै चिया बिक्री गर्ने चर्चित ‘बब्लु टी स्टाल’का सञ्चालकका रुपमा नयाँ परिचय कमाएका छन्। सुरुआती दिनमा उनलाई चिया बेच्न सहज भने पक्कै थिएन । ‘३० वर्षअघि त शनिबार वीरगञ्जका सबैजसो बजार ठप्प जस्तै हुने गथ्र्यो । आफैँले एक प्याकेट दूधको चिया बनाएर केट्लीमा वीरगञ्जका टोलटोलमा बेच्न गएर ग्राहकलाई लोभ्याउनुपर्ने हुन्थ्यो,’ शर्माले विगत कोट्याउँदै भने, ‘त्यतिबेला ग्राहकलाई आकर्षित गर्नकै लागि बिहान ४ बजेदेखि चियापसल खोलेर ग्राहकको चियाको तलतल मेट्ने काममा भने निरन्तर रुपमा लागिरहेँ । जसको कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु भुतुक्कै हुने गर्नुहुन्छ ।’ शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीको भन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टाल’ सञ्चालन गर्दै आइरहेका छन् । शर्माले अहिले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्दै आइरहेका छन्। अहिले शर्माको चियापसलमा दैनिक ८०० देखि एक हजार कपको औसतमा चिया बिक्री हुने गर्छ । ‘सुरु–सुरुमा त डेढ रुपैयाँ कप चिया पनि बेचियो,’ उनले भने, ‘समयको अन्तरालसँगै अहिले चियाको मूल्य भने धेरै नै बढिसक्यो ।’ अहिले पनि ‘बब्लु टी स्टल’मा चिया खाने ग्राहकको सङ्ख्यामा कुनै कमी आएको छैन । शर्मा नेपाल आफ्नो कर्मभूमि भएको बताउँछन्।‘भारतको राजस्थान राज्य मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो,’ उनले विगत सम्झँदै भने, ‘कामको सिलसिलामा ५५ वर्षअघि भारतको राजस्थानबाट वीरगञ्जमा आएको हुँ । सुरुआती चरणमा त वीरगञ्जको महावीर गल्लीमा विभिन्न पसलमा समेत काम गरेँ । त्यसबाट खासै सन्तुष्टि नलागेर चिया पसल खोलेको हुँ ।’ सञ्चालक शर्मा आफैँ पनि वीरगञ्जको अन्य ठाउँको तुलनामा आफ्नो चियाको गुणस्तर र स्वाद राम्रो हुने गरेकाले मूल्य पनि महङ्गो रहेको स्वीकार्छन। सामान्यतया वीरगञ्जका बजारमा एक सानो कप चियाको मूल्य रु २० पर्ने गर्छ । तर, यहाँ भने एक कप मट्का चियाको मूल्य ३५ छ । गुणस्तरीय चियाका कारण ग्राहकले महङ्गो भयो भनेर गुनासो गरेको उनले सुन्नु परेको छैन । ‘वीरगञ्जको अन्य ठाउँका चिया पसलको तुलनामा हाम्रो चिया महङ्गो नै छ । हाम्रो चिया ‘बढिया’ भएकाले पनि धेरै मूल्य परेको हो,’ उनले भने, ‘हामीले सकेसम्म कृषकको घरबाट सोझै भैँसीको शुद्ध दूध ल्याएर चिया पकाउने गर्छौं । किसानलाई दूधको उचित मूल्य दिएकै कारणले पनि चियाको मूल्य बढी पर्ने गरेको हो ।’ उनले देहातबाट औसतमा रु १०० देखि ११० प्रतिलिटरमा भैँसीको दूध खरिद गर्दै आइरहेको दाबी गरे। उनले आफूले प्रयोग गर्ने चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउने गरेको बताए। ‘हामीले चियापत्ती एक पटक मात्रै प्रयोग गर्ने गर्छौं । दोस्रो पटक त्यो चियापत्तीको प्रयोग गर्दैनौँ,’ उनले भने, ‘आसामबाट ल्याएको चियापत्ती र देहातको भैँसीको शुद्ध दूधका कारणले पनि चियाको चुस्की राम्रो भएको होला कि !’ शर्मा आफैँ वीरगञ्जमा मट्का चियाको सुरुआतकर्ता नभएको बताउँछन् । हामीले भन्दा पहिले अरूले नै मट्का चिया बेच्दै आइरहेका थिए। तर अरूले मट्का चिया पसललाई निरन्तरता दिन सकेनन् । ‘मट्कावाला चियाको स्वाद नै अर्कै हुन्छ । माटोका भाँडाको स्वादले पनि ग्राहक लोभिँदै आइरहनुभएको छ,’ उनले भने, ‘हातले नै बनाएका मट्काको प्रयोग गर्ने भएकाले पनि स्वादमा ठूलो अर्थ राख्नेरैछ ।’ उमेरले ७९ वसन्त पारे गरे पनि शर्माको जाँगरमा भने अहिलेसम्म पनि कमी भएको छैन । अहिले पनि बिहान ४ बजे उठेर चिया पसल खोल्न र बिहान साढे ६ बजेसम्म आफैँ चिया पकाएर ग्राहकलाई चिया पिलाउँदै आइरहेका छन्। शर्माका तीन छोरा छन्– सनोदकुमार शर्मा, योगेशकुमार शर्मा र बब्लु शर्मा । बब्लु र अर्का एक छोराले चियापसलमा सहयोग गर्दै आइरहेका छन भने अर्को छोरा जागिरे छन् । ‘बुबाले थालेको चियापसललाई हामीले निरन्तरता दिँदै आइरहेका छौँ,’ कान्छा छोरा बब्लुले भने, ‘दैनिक औसतमा ३० हजारभन्दा बढी मूल्यको चियाको बिक्री हुने गर्दछ । स्वादिलो चिया बनाउने भएकाले एक लिटर दूधले औसतमा करिब १० कप चिया मात्रै बन्ने गर्छ ।’ ‘बब्लु टी स्टाल’ मा एकाबिहानैदेखि बेलुकासम्म ग्राहकको भीड थेगिनसक्नु हुने गर्छ । यसका मुख्य ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार प्रशासकहरु र सर्वसाधारण उत्तिकै रहेका छन् । यसका अलावा वीरगञ्जमा घुम्न आएका चियापारखीले पनि खोजी–खोजी ‘बब्लु टी स्टाल’मा चिया पिउनका लागि आउने गर्छन् । गत चैत ८ गते शर्माकै चियापसलमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादी केन्द्रका शीर्षनेताहरु आएर पनि चिया पिउँदा निकै प्रफुल्लित भएको प्रतिक्रिया दिए। उनलाई सो अवसर भने जनतासँग माओवादी–हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान अन्तर्गतको कार्यक्रमले जुराइदिएको थियो । ‘नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा पक्कै पनि खुसीको महसुस गरिरहेका छौँ,’ शर्माले भने, ‘उहाँहरु जस्तो शीर्षनेता हाम्रो झुपडीमा आएर चिया पिउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।’ शर्माले वीरगञ्जमा आउने उच्चपदस्थ कर्मचारी तथा राजनीतिज्ञहरुले आफूले पकाएको चिया पिउँदै आइरहे पनि को को आउनुभयो भनेर रेकर्ड राख्ने नगरेको अनुभव सुनाए। शर्माले आफूले चिया बेचेर नै आफ्नो परिवारका सबै सदस्यलाई खुसीसाथ जीवनयापन गर्न सहज भएको बताउँछन् । रासस