विकासन्युज

अब चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ’ उनले भने । चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ । चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे । यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे । साथै उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए । कोषका सदस्य सचिव डा नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उदेश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताए । उनले सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराए । कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललिपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खडका र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संबर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले गरे त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालको राजीनामा प्रधानमन्त्री तथा त्रिविको कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकुलपति बरालले चैत १५ गते आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका थिए । जुन बिहीबार स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएलगत्तै प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई समन्वय गर्न अनुरोध पनि गरेका छन् ।

नेपाल माइक्रो र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५ अंकले घटेर २६७० बिन्दुमा झरेको छ । आज ११३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बिहीबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको ३० करोड, सीइडीबी होल्डीङसको २९ करोड र न्यादी गुप्रको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशतले घटेकाे छ । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशतले बढेकाे छ ।

वैदेशिक सहायता घट्दै गयो र अझै घट्ने सम्भावना छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू संकुचित हुँदै गएको बताएकी छन् ।   नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको बताइन् ।    मन्त्री राणाले भनिन्, 'वैदेशिक सहायताको स्थीति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’    उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएकोमा उनले सराहना गरिन् ।  मन्त्री राणाले सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् ।   अधिकतम विकास,विकासील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको उनले बताइन् ।   उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध  रहेको समेत दावी गरिन् ।   सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन् ।  

बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र मेयर बालेन शाहका स्वकीय सचिवमाथि कारबाही गर्न विभिन्न पेशागत संगठनहरूले माग गरेका छन् । उनीहरूले चैत २१ गते घटेको अनुशासनहीन, गैरकानुनी र अमर्यादित घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् । स्थानीय तहमा क्रियाशील कर्मचारी युनियन, संघ, परिषद् तथा मजदुर संगठनहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् । ज्ञापनपत्रमा प्रमुख पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न आग्रह गरिएको छ । त्यस्तै, बालेन शाहका स्वकीय सचिवमाथि सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूमाथि लाञ्छना लगाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ । 'प्रशासनिक प्रमुखलाई कार्य सम्पादनमा बाधा पुर्‍याउने, धरपकड गर्न खोज्ने र अपत्तिजनक व्यवहार देखाउने कार्य अस्वीकार्य छ। यसले प्रशासनिक प्रणाली र कर्मचारीको सम्मानमा आँच पुर्‍याएको छ,' ज्ञापनपत्रमा भनिएको छ । तीन महिनाभन्दा बढी समयदेखि प्रशासनिक नेतृत्व अभावका कारण महानगरको कार्यसम्पादन प्रभावित भएको भन्दै उनीहरूले कानुनी ढंगले नियुक्त भएको प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने प्रयासलाई गैरकानुनी ठहर गरेका छन् ।

हामी सबै मिलेर हाम्रो देश हामी आफैले बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै त्यस दिशामा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने दृढ संकल्प देखिएकोमा खुसी व्यक्त गरे । उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वाससाथ अघि बढेकाले सरकार पनि सघाउन तयार रहेको स्पष्ट पारे ।  उनले भने, 'सरकार र निजी क्षेत्रबीचको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश आफैँ बनाउनु पर्छ। तीव्र गतिमा विकास गर्नुपर्छ । स्वदेशी वस्तुको प्रयोगमा गर्व गर्न सिक्नुपर्छ ।' प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सरकारलाई प्रेरित गर्न आग्रह गर्दै आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए । 'यो सरकार स्थायित्व, सुशासन र विकासका लागि आएको हो । अहिले गतिशील स्थायित्व कायम छ, सरकारको विश्वसनीयता छ,' उनले भने, 'सरकारका नीतिहरु छिनछिनमा परिवर्तन भई नकारात्मक असर पर्ने परिपाटीको अन्त्य गर्नकै लागि यो सरकार बनेको हो ।' प्रधानमन्त्रीले अहिलेको सरकारले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्रियाशील रहेको जनाए । साथै, निजी क्षेत्रबाट प्राप्त सुझावका आधारमा नीति तथा कानुन निर्माण भइरहेको पनि उनले स्पष्ट पारे । उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनीहरू र महासङ्घका उत्कृष्ट प्रदेश तथा जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो ।

भूराजनीतिका कारण अर्थतन्त्र दबाबमै छ : उद्योगमन्त्री भण्डारी

 काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोभिड १९ र भूराजनीतिका कारण अर्थतन्त्रमा दबाबको सिर्जना भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा उद्योग दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै उनले ती चुनौतीलाई समाना गर्दै अर्थतन्त्रलाई लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न सरकार दृढ संकल्पित रहेको बताएका हुन् । उनले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै स्वदेशी उत्पानलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवद्धन गर्ने सरकारको नीति नै रहेको बताए । लगानीमैत्री वातारण सिर्जनाका लागि सरकारले कानूनहरु संशोधन गरेको उनको भनाई छ । उद्योगमन्त्री भण्डारीले भने,’उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा विभिन्न प्रयासहरू थालेका छौं । महासंघको प्रयासमा लगानी सम्मेलनको बेला विभिन्न ८ ओटा कानूनहरू परिमार्जन गरी कार्यविधि र नियमावली समेत बनाइएको छ । केही समय अघि २९ ओटा कानुनहरू संशोधन गरेर लगानी आकर्षण गर्ने सहज वातावरण बनाएको छ ।’ मन्त्री भण्डारीले दुई पक्षीय लगानी सम्झौताको विषय उद्योग वाणिज्य महासंघले उठाउँदै आएकोमा त्यस्तो सम्झौताको खाका मन्त्रिपरिषद्ले पारित समेत गरेको मन्त्री भण्डारीले सो अवसरमा बताए ।

पूर्वराजा लक्षित गगनको प्रश्न : निर्मल निवासमा बसेर यस्तो छ, नारायणहिटीमा भएको भए के गर्थे ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले शाहलाई जति धोएर सफा गरे पनि संवैधानिक राजा बन्न अयोग्य रहेको बताए । उनका अनुसार नेपाली कांग्रेसले लामो संघर्ष र अनुभवका आधारमा अब संवैधानिक राजाको परिकल्पना असम्भव भएको निष्कर्षमा पुगेको हो । महामन्त्री थापाले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै भने, 'निर्मल निवासमै बसेर यस्तो उत्पात भयो, नारायणहिटीमा भएको भए के गर्थे होला ?' उजले पूर्वराजाले व्यवसायी दुर्गा प्रसाईँ र पूर्वपञ्च नवराज सुवेदीलाई बोलाएर ‘उत्पात मच्चाएको’ आरोप पनि लगाए । उनले भने, 'दुर्गा प्रसाईँलाई कहाँबाट खोजेर ल्याइयो, नवराज सुवेदी जसले केही समयअघि मात्रै किताब लेखेर राजालाई गाली गरेका थिए, उनीहरूलाई पनि बोलाएर अहिले राजतन्त्रको नाममा उत्पात मच्चाइएको छ ।' महामन्त्री थापाले जनताले छानेका प्रतिनिधिहरूले नै देश चलाउने कुरामा जोड दिए । उनले जननिर्वाचित प्रतिनिधि नै देश चलाउन सक्षम रहेको दाबी गरे । फरक प्रसङ्गमा बोल्दै उनले पार्टीको महाधिवेशन २०८३ सालको मंसिरभित्र सम्पन्न हुने प्रष्ट पारे । साथै, यस विषयमा कोही पनि अलमलमा नपर्न आग्रह गरे । उनका अनुसार, हालको पार्टी संरचनामा नेता बलियो तर कार्यकर्ता कमजोर जस्ता समस्या देखिएको छ, जसले असन्तुष्टि जन्माएको छ । त्यसैले संगठन निर्माणमा सबै कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए । सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले राजनीतिक संयन्त्रको सुझाव सरकारले बेवास्ता गरेको आरोप पनि लगाए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताए । उनले थपे, 'सरकारले गर्ने काम सरकारले नै गर्नुपर्छ, संयन्त्रले होइन । यदि सबै काम संयन्त्रले गर्नुपर्छ भन्ने सोच आयो भने त्यो लोकतान्त्रिक शासन प्रणाली हुँदैन । प्रधानमन्त्रीको काम प्रधानमन्त्रीले, मन्त्रीको काम मन्त्रीले गर्नुपर्छ ।' महामन्त्री थापाले एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले अपेक्षित उपलब्धि दिन नसकेको कारण आफू सधैं प्रश्न गरिरहने बताए ।