विकासन्युज

३ रुपैयाँ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १५९ रुपैयाँ र तेस्रो वर्गका लागि १६० रुपैयाँ तोकिएको छ ।  यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि  १४३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३.१५ रुपैयाँ र डिजेलमा २.६२ रुपैयाँले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते आह्वान, शिक्षा विधेयक यथाशक्य पारित गर्ने

काठमाडौं । सरकारले सङ्घीय संसदको अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।  सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसदको अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।  सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसदको बैठक आह्वान गरेको स्पष्ट पारेको छ । 

८.२४ करोडमा निर्माण सुरु गरिएको अस्पताल बजेट अभावले अधुरै

काठमाडौं । बागलुङको निसीखोलामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पताल अधुरो रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो ।  निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो ।  ८ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए ।  पालिकाले बजेट विनियोजन गरे २ महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको १ करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए ।  पालिकाबाट भुक्तान गर्न बाँकी रहेको १ करोड १० लाख रुपैयाँ सहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए ।  पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरो रहेको बताए ।  गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । 

नारायणघाट-बुटवल सडक: २२ साना र ५ ठूला पुल निर्माण सम्पन्न, प्रगति ६३ प्रतिशत

काठमाडौं । ४ लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् ।  ‘निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन् । निर्माण सकिएका २ ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन्,’ उनले भने ।  यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा ५ वटा निर्माण सम्पन्न भएका छन् । निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए । आगामी असारसम्म थप ३ ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।  ‘गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन् । यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ,’ उनले भने ।  अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२.५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ ।  ‘यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ । दाउन्नेको ४ किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो बर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने ।  यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिए । नारायणघाटबाट बुटवलसम्मको ११४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । ४ लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ । ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा ४ गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड-१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ । 

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु चीनको डिङ्जे

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्प आज बिहान ४ः०५ बजे गएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ ।  केन्द्रका अनुसार मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्यााग्निच्युडको भूकम्प गएको थियो । गत सोमबार राति ९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्यााग्निच्युडको भूकम्प गएको थियो । कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८ः०७ बजे) र (८ः१० बजे) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५.२ म्यााग्निच्युड र दोस्रो ५.५ म्यााग्निच्युडका थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । चैत २० गते दार्चुलामा ४ म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर ४.५ म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ । 

अध्यक्षको राजीनामा र लकइन सकिएपछि बलेफी हाइड्रोको सेयर मूल्यमा पहिरो

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिन (वैशाख २ गते) सेयर बजार २७ अंकले बढेको छ भने ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलबार विभिन्न ४ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार करर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो । साथै यी कम्पनीसहित अन्य २१२ कम्पनीको पनि सेयर मूल्य बढेको छ । तर, वर्षको पहिलो दिन नै बलेफी हाइड्रोपावरको सेयर मूल्यमा व्यापक गिरावट आयो । कम्पनीको सेयर मूल्य ९.६९ प्रतिशत अर्थात् २५.५० रुपैयाँ घटेर प्रतिकित्ता २२९.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो एक वर्षकै कम सेयर मूल्य हो । कम्पनीको सेयर मूल्य आज मात्रै होइन, पछिल्ला ९ कारोबारमा समेत निरन्तर ओरालो लाग्दै आएको हो ।  सेयर मूल्यमा व्यापक गिरावटसँगै आज सर्वाधिक कारोबार हुनेको पहिलो सूचीमा समेत बलेफी परेको छ । सेयर मूल्यमा व्यापक गिरावट र सर्वाधिक कारोबार भएपछि पुँजी बजारमा चासोको विषय बनेको छ बलेफी हाइड्रोपावर । कम्पनीको  २ अर्ब १ करोड रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।  गत फागुन २२ गते सूचना जारी गर्दै कम्पनीका संस्थापक, आयोजना प्रवाभित क्षेत्रका बासिन्दा र कर्मचारीहरूको सेयर लकइन अवधि चैत २९ गते समाप्त हुन लागेको जानकारी गराएको थियो । लकइन अवधि समाप्त भएको सूचनापछि त कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । २५ कारोबार दिनमा ६ दिन मात्रै सेयर मूल्य बढेको छ भने बाँकी दिन घटेको देखिन्छ ।  कम्पनीका अनुसार चैत २९ गतेदेखि संस्थापक सेयरधनीको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित बासिन्दाको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीको ७३ हजार ११९ कित्ता गरी कुल १ करोड ६५ लाख २८ हजार ८४९ कित्ता सेयरको लकइन समाप्त भएको हो ।  बलेफी हाइड्रोपावरका अनुसार लकइन अवधि सकिएपछि पुँजी बजारमा सेयर सप्लाइ बढेकाले मूल्यमा चाप परेको हो । जसकारण कारोबार रकम बढ्यो भने सेयर मूल्य नकारात्मक सर्किट नजिक पुगेको कम्पनीले जनाएको छ । ‘कम्पनीको सेयर लकइनमा थियो । झ्याप्पै लकइन खुल्यो । योबेला घट्ने समय नै हो । किनभने सप्लाइ धेरै छ डिमाण्ड कम छ,’ कम्पनीका ती कर्मचारीले भने, ‘लकइन अवधि खुलेका कारण नै सेयर मूल्य झरेको हो ।’  साथै, यही बेला संजय कुमार साहले सञ्चालक समितिको अध्यक्ष पदबाट समेत राजीनामा दिएका कारण पनि लगानीकर्ताहरूमा नकारात्मक प्रभाव परेको हुन सक्ने कम्पनीका ती कर्मचारीको भनाइ छ । साहले अध्यक्ष पदबाट दिएको राजीनामा सञ्चालक समितिको गत चैत २७ गते बसेको बैठकले स्वीकृत भएको छ । कार्य व्यस्तताका कारण भनेपनि संचालकहरूमा विवाद उत्पन्न भएकाले साहले राजीनामा दिएको स्रोतको भनाइ छ ।  साथै बाँकी अवधिका लागि चैत २७ गतेदेखि लागू हुनेगरी बिदुर पराजुली अध्यक्ष पदमा नियुक्त भएको कम्पनी सचिव अस्मिता अधिकारीले जानकारी दिइन् ।  बलेफीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपात अथात् १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीको सेयर मूल्य समायोजन गर्नु परेकाले पनि सेयर मूल्यमा गिरावट आएको ती कमर्चारीको दाबी छ ।  ‘यसअघि हकप्रद सेयरका लागि सेयर मूल्य समायोजन भएपछि कमपनीको सेयर मूल्य निरन्तर ओरालो लागेको हो ।  मूल्य समायोजन भएपछि छिट्टै लकइन खुलेकोले त्यसको प्रभाव परेको हो,’ ती कर्मचारीले भने ।  ३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा २० प्रतिशत सेयर स्वामित्व सर्वसाधारण लगानीकर्ताहरूको छ भने बाँकी संस्थापक समूहको रहेको छ । कम्पनीको सबैभन्दा ठूला सेयरधनी शुलभ अग्रवाल हुन् । उनको यस कम्पनीमा १४.६० प्रतिशत सेयर स्वामित्व छ । यस्तै, सुशिल गुप्ताको १४ प्रतिशत, शक्ति कुमार गोल्याणको १२.५५ प्रतिशत, सन्दीप कुमार शारदाको ११.३४ प्रतिशत, प्रभा गोयन्का (भिमसरिया)को ७.९६ प्रतिशत र उमेश कसजुको ६.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

२५ करोडका मालिक र चालकविरुद्द अभियोगपत्र दर्ता, कहाँ छन् नारायण पौडेल ?

काठमाडौं । केही समयअघि २५ करोड रुपैयाँबराबरका विदेशी मुद्रा तस्करीमा संलग्न दुई जनाविरुद्द अभियोगपत्र दर्ता भएको छ । काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागले नारायण पौडेल र चालक ट्रकका चालक कुसाङ लामाविरुद्द अभियोगपत्र दायर गरेको हो । उनीहरूविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको हो । चालक लामा घटनास्थलबाटै पक्राउ परेका थिए भने मालिक भनिएका पौडेल फरार छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित गए राति एक जना ट्रक चालक पक्राउ परे। गत चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको थियो । ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित पक्राउ गरेको थियो । अहिले प्रहरीले मालिक भनिएका पौडेलको खोजी कार्य गरिरहेको छ ।  पौडेलको स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हो । अहिले टोखा नगरपालिका-१० महादेवटारमा बस्ने गरेका छन् । नारायणको नाम यसअघि पनि पटक-पटक रक्तचन्दन, हुन्डी र सुन तस्करीमा मुछिएको विगत भेटिन्छ ।

गभर्नर नियुक्तिको विषयमा तत्काल अर्थमन्त्रालयको मापदण्ड लागू नगर्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अल्पकालीन अन्तिम आदेश जारी गरेको हो । इजलासले दुवै पक्षलाई छलफलमा बोलाएको छ । सरकारले गत फागुनमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यहरूको लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था खारेज गरेको थियो ।  सरकार अहिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रियामा रहेकोले यहीबेला मापदण्ड संशोधन गरेर सरकारले आफू अनुकुल व्यक्तिलाई गभर्नर बनाउने लागेको भन्दै आलोचना र शंका पनि भइरहेको छ । सोही शंका उत्पन्न गर्दै सर्वोच्चमा यो विषयमा रिट दायर भएको थियो ।  अधिवक्ताहरू अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा, देवेन्द्र मैनाली लगायतले संशोधित मापदण्ड कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । कुनै अमुक व्यक्तिको नियुक्तिलाई बाधक भएको हुनसक्ने देखिएपछि उक्त व्यवस्था हटाइएको रिटमा उल्लेख छ।  सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । धेरैलाई नयाँ गभर्नर को बन्ला भन्ने विषय चासोका रूपमा हेरिएको छ । अहिलेसम्म गभर्नर सिफारिस समितिको बैठक नै बस्न नसक्दा प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । सरकारले गत वर्षकाे २७ फागुनमा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ लाई संशोधन गरेको थियो ।