सरकार सञ्चालनमा कुनै समस्या छैन, शिक्षकको माग चाँडो सम्बोधन हुन्छ : गृहमन्त्री लेखक
काठमाडौं । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताए । ‘दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको हो । समसामयिक विषयमा राम्रो छलफल भएको छ,’ उनले भने, ‘सत्ता सञ्चालनका विषयमा कुनै समस्या छैन । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या छैन । दुई शीर्ष नेतासहितको बैठकमा सौहार्दता पूर्ण र सकारात्मक कुराकानी भयो ।’ बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालनको विषयबारे समीक्षा भएको बताइएको छ । गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताए । उनले संसदको आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी थिए । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा.आरजुराणा देउवा सहभागी थिए ।
चार ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कार्यालयले बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एसएम. कन्सट्रक्सन मकवानपुर, राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र गौरीगोमा निर्माण सेवा सल्यानलाई कालोसूचीमा राखेको हो । बिल्ड ब्रदर्श कन्सट्रक्सनका सञ्चालक छिरिङ लामा डोङ र पम्बर लामा हुन् भने एसएम कन्सट्रक्सन मकवानपुरका सहदेव गौतम मुख्य व्यक्ति हुन् । यस्तै, राना फर्निचर सःमलि उद्योगका मुख्य व्यक्ति सुकु रानामगर हुन् भने गौरीगोमा निर्माण सेवाका तुफान सिंह बुढाथोकी हुन् । यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो । कालोसूचीमा राखिएका कमपनीले कुनै पनि काम कारबाहीमा सहभागी हुन पाउने छैनन् ।
स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव, देशभर मौसम बदली हुने
काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विभागका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।
एनसेलले ल्यायो नयाँ प्याकहरू, २८.३ रुपैयाँमैँ अनलिमिटेड भ्वाइस र डेटा
काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकहरु संचालनमा ल्याएको हो । भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् । भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । २ हजार ४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ । आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले १ हजार ९९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई १ हजार १९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ । ‘नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौं । ग्राहकलाई डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन् । त्यसैगरी, एनसेल एप मार्फत खरीद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र १५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन् ।
९ महिनामा साढे २ अर्ब राजस्व सङ्कलन, कर बक्यौता राख्नेको बैंक खाता र जग्गा रोक्का गर्दै
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन-चैत) महिनामा २ अर्ब १७ करोड १९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। चालु आव २०८१/८२ मा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए । गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ९ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले ९ महिनामा आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार रुपैयाँ, ब्याज बापत ७ करोड १९ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत ७६ करोड ७१ लाख ९ हजार रुपैयाँ, अन्तःशुल्क बापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी १ करोड ७५ लाख रुपैयाँ असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए । ‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाही पनि गरिएको छ,’ उनले भने ।
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रु बाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।
‘गाडी एसेम्ब्लीमार्फत लक्ष्मी ग्रुपले बहुआयामिक क्षेत्रमा औद्योगीकरण र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ’
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चैत ११ गते क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो । यो गाडी नेपालमै एसेम्बल भएका हो । यससँगै अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए । उनै थपलियासँग विकासन्युजले एसेम्ब्ली सम्बन्धी गरेको कुराकानीको सम्पादित अंश : नेपालमै गाडी एसेम्ब्ली सुरु गर्नु आफैमा एउटा साहसी निर्णय हो । यो कसरी सम्भव भयो ? लामो समयदेखि नेपाल आयात–निर्भर मुलुक हो । गाडीजस्तो मूल्यवान वस्तु पूर्णरूपमा बाहिरबाट ल्याउने चलन थियो, जसले देशको अर्थतन्त्रमा दबाब पर्थ्यो । यस्तै अवस्थामा हामीले राष्ट्रमै मूल्य राख्ने साेंच राख्यौं । हुन्डाईजस्तो विश्वसनीय ब्रान्डसँगको सहकार्यले हामीलाई नेपालमै एसेम्बलिङ सुरु गर्ने आत्मबल दियो । यो परियोजना केवल व्यापारिक दृष्टिकोण मात्र होइन, देशमै रोजगारी सिर्जना गर्ने, प्राविधिक दक्षता बढाउने र अर्थतन्त्रलाई बलियो बनाउने एउटा ठूलो कदम हो । औद्योगिकीकरणको यात्रा चारपाँग्रे सवारीसाधनबाटै किन सुरु गरियो ? गाडी नेपालको दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु हो- पेट्रोलियम पदार्थपछि । यसले ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ । यदि हामीले गाडी आफै एसेम्ब्ली गर्न थाल्यौं भने त्यसले ठूलो मात्रामा मुद्रा बचत गर्छ, साथसाथै स्थानीय उद्योगहरूलाई पनि चलायमान बनाउँछ । गाडी एसेम्ब्लीसँगै ढुवानी, पार्ट्स सप्लाई, तालिम केन्द्र, सर्भिस वर्कसप जस्ता धेरै उद्योग खुल्छन् । यसले समग्र औद्योगिक प्रणालीमा गहिरो असर पार्छ । युवाहरू र इन्जिनियरिङ क्षेत्रमा के प्रभाव परेको छ ? एसेम्ब्लीको सुरुबाटै युवाहरूलाई आधुनिक प्राविधिक तालिम दिने काम गरियो । अहिलेसम्म २०० भन्दा बढी इन्जिनियर र प्राविधिकले हुन्डाईबाट तालिम पाइसकेका छन् । जसमा सेन्सर क्यालिब्रेसन, टर्क एक्युरेसी, इलेक्ट्रिक कोडिङ र डाइनोग्टिक, चेसिस टेस्टिङ, अटोमेसन टूल्सको प्रयोग जस्ता अत्याधुनिक सीप सिकाइन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा—यी सीपहरू अब केवल कागजी प्रमाणपत्रमा सीमित छैनन्, युवाहरूले यसमा प्रत्यक्षरूपमा काम गरिरहेका छन् । उनीहरू नेपालबाट सर्टिफिकेट लिएर वैश्विक प्रतिस्पर्धामा उत्रिन सक्छन् । अझ रमाइलो कुरा त के छ भने– विदेश जान सोच्ने धेरैजना अब यहीँ फर्केर काम गर्न चाहिरहेका छन् । एसेम्ब्ली प्लान्ट एउटा ‘ब्रेन गेन’ को केन्द्र बन्दै गएको छ । के अब पार्टपुर्जा पनि नेपालमै बनाउने योजना छ ? बिल्कुलै छ । सुरुमा सबै पाट्र्स आयात गरिए पनि अब हामी स्थानीयकरणको चरणमा छौं । चेसिस बाहेकका धेरै कम्पोन्ट्स- जस्तै बम्पर, डासबोर्ड फ्रेम, फम सीट, वाइरिङ हार्नेस, एसी डक्ट, प्लास्टिक क्लाडिङ आदि नेपालमै उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन भइरहेको छ । स्थानीय उद्यमीहरूसँग ओइम स्तरको पाट्र्स विकासको अध्ययन भइरहेको छ । यसको अर्थ- नेपालमै उत्पादन, नेपालमै रोजगारी र नेपाल मेड इकोसिस्टमको विकास । के एसेम्ब्ली प्लान्टले नेपाली औद्योगिक भविष्य निर्माण गर्ला त ? अवश्य गर्छ, एसेम्ब्ली प्लान्टले केवल गाडी उत्पादन गर्दैन, यो देशभित्र औद्योगिक चेतना र साेंचको रूपान्तरण पनि हो । अहिले नेपाली युवाले उद्योग भनेको ‘बिग ड्रिम’ होइन, ‘अटेनेबल करिअर’ हो भन्ने बुझ्न थालेका छन् । जापान, थाइल्यान्ड, भियतनाम, मलेसिया जस्ता देशहरूले पनि औद्योगिकीकरणको यात्रा यस्तै एसेम्ब्ली प्लान्टबाटै सुरु गरेका थिए । नेपाल पनि अहिले त्यो मोडमा उभिएको छ । नीति निर्माताले कस्तो सहयोग पु¥याउनुपर्छ ? सरकारको नीतिगत सहयोग अत्यन्त आवश्यक छ । यदि सरकारले एसेम्ब्ली उद्योगलाई स्पष्ट नीति जस्ता सहुलियत दिन सक्छ भने निजी क्षेत्रले झन ठूलो लगानी ल्याउन सक्छ । त्यस्तै, एकीकृत औद्योगिक क्षेत्र सेज, लोजिस्टिक पार्क, टेस्ट ट्र्याक जस्ता पूर्वाधारको विकासले यो अभियान विस्तृत रूपमा फैलिन्छ । त्यसैले अब दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ । के यस्तो प्रकारको औद्योगिक कार्यक्रमले ब्रेन ड्रेन कम गर्न सक्छ ? हो, कम मात्रै होइन, अब उल्टो प्रक्रिया सुरु भइसकेको छ- ब्रेन गेन । धेरैजना विदेश पढेर फर्किएका युवाहरू अब नेपालमै असेम्ब्ली, रिसर्च एन्ड डेभलपमेन्ट, प्लान्ट अपरेशन, क्वालिटी एस्सूरेन्स, आईटी सिस्टम इन्टिग्रेसनजस्ता क्षेत्रमा काम गरिरहेका छन् । यहाँको एक्सपोजरले उनीहरूलाई अन्तर्राष्ट्रिय मान्यतासमेत दिनेछ । यस्तो प्रविधिको विकासले विदेश पलायनमा रोक लगाउनुका साथै फर्किसकेकाहरूलाई देश निर्माणमा जोड्ने मौका दिएको छ । यो केबल असेम्ब्ली हो कि खास प्रविधि हस्तान्तरण पनि हो ? यो केवल बाहिरबाट पाट्र्स ल्याएर स्क्रू जोड्ने प्रक्रिया होइन । हामी जाँच गर्ने उपकरणमार्फत् ईसीयू प्रोग्राम गर्छौं, स्टेरिङ क्यालिब्रेसन, ब्रेक टेस्टजस्ता कामहरू नेपालकै प्लान्टमा हुन्छन्। प्लान्टमा भेहिकल एसेम्ब्ली सफ्टवेयर, रोबोटिक टुल कन्ट्रेल र क्वालिटी टेस्ट बेन्चहरु जडान भएका छन् । यो सही अर्थमा प्रविधिको हस्तान्तरण हो, जसले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय ओईम स्तरको काम गर्न सिपालु बनाएको छ । के लक्ष्मीले ईभी पनि एसेम्बल गर्ने योजना बनाएको छ त ? हो हामीले योजना बनाएका छौं । हामीले हुन्डाई क्रेटा ईभी लगायतका मोडेलहरूको लागि ईभी स्पेसिफिक एसेम्ब्ली प्लानिङ सुरु गरेका छौं । ब्याट्री थर्मल म्यानेजमेन्ट, चार्जर इन्टिग्रेसन, आईपी ६७ वाइरिङ हार्नेस, रिजेनेरेटिभ ब्रेकिङ टेस्ट जस्ता ईभीसम्बन्धि अध्ययन गरिनेछ । साथै भविष्यमा ईभी को विकास हाम्रो मुख्य लक्ष्य हो । यो सँगै नेपाललाई ईभी हब बनाउने सम्भावना प्रबल छ । के यसले शैक्षिक पाठ्यक्रममा प्रभाव पारिरहेको छ ? पक्कै पनि । अब पढाइ केवल सिद्धान्त सीमित छैन । पुलचोक, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरूसँगको सहकार्यले विद्यार्थीहरू प्रत्यक्ष रूपमा औद्योगिक वातावरणमा सहभागी भइरहेका छन् । धेरै विश्वविद्यालयहरूले अटोमोबाइल इलेक्ट्रोनिक्स, मेकाट्रोनिक्स इन्टीग्रेसन, इभी सिस्टम, भेहिकल सफ्टवेयर इन्टिग्रेसन जस्ता विषयहरू पाठ्यक्रममा थप्न थालेका छन् । यो शिक्षा र उद्योग बीचको सेतु हो । असेम्ब्ली प्लान्टले अन्य क्षेत्रहरूमा कस्तो असर पारेको छ ? हामीले एसेम्ब्ली प्लान्ट सुरु गरेसँगै अहिले धेरै क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्ने देखिएके छ । जस्तै विद्यार्थीहरूले अब औद्योगिक सीप सिक्न थालेका छन् । बैंकहरूले पनि औद्योगिक प्रोजेक्ट फाइनान्सिङमा लगानी गर्न थालेका छन् । यसैगरी, उद्योगहरूलाई निरन्तर रूपमा ऊर्जा दिन नयाँ सौर्य र ग्रिड प्रोजेक्टहरू अघि बढ्दैछन् । आईटी क्षेत्रमा पनि स्वचालित प्रविधि, सफ्टवेयर लगायतमा सकारात्मक प्रभाव पारिरहेको हामीले देखेका छौं । नेपाली उद्यमीहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? अब उद्यमशीलताको परिभाषा बदलिँदैछ । केवल डिलरसिप वा शोरूमसम्म सीमित नरहेर, सफ्टवेयर डेभलपमेन्ट, पाट्र्स डिजाइन, क्वालिटी एस्सुरेन्स, ट्रेनिङ सर्भिसेज, लोजिस्टिक्सजस्ता धेरै सम्भावनाहरू खुलेका छन् । अब ‘खरिद तथा बिक्री’मात्र होइन, ‘निर्माण तथा बिक्री’ मा जानुपर्ने समय हो । हामीले पनि यात्राबाट यात्रा सुरु गरेका थियौं, तपाईं पनि सक्नुहुन्छ । अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास
तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट अप्रिल २३ देखि सुरु, यसपटक काठमाडौंमा पनि हुने
काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) यही अप्रिल २३ देखि आयोजना हुने भएको छ । बुधबार नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले पत्रकार सम्मेलनको आयोजना गरी मार्ट आयोजना हुनेबारे जानकारी गराएको हो । मार्ट नेपाल पर्यटन बोर्ड र नाट्टा दुवैले संयुक्त रूपमा मिलेर आयोजना गर्न लागेको जनाएको छ । यससम्बन्धमा बोर्ड र नाट्टाबीच गत चैत्र २२ गते सम्झौता भइसकेको छ । उक्त कार्यक्रममा बोर्डबाट कार्यबाहक निर्देशक सुनील शर्मा तथा बीआईटीएम २०२५ की संयोजक एवं नाट्टाका वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने तय भएको छ । आयोजकका अनुसार अघिल्लो वर्षमा बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक भने काठमाडौंमा पनि आयोजना हुने भएको हो । काठमाडौंमा अप्रिल २३ र २४ अनि लुम्बिनीमा २५ मा हुनेछ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहको सहभागिता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । साथै मार्टमा १ हजार १ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगमी अप्रिल २३ देखि २४ गतेसम्मको लागि कार्यक्रम आयोजना हुन लागेको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए । उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाईद केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’ कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको बताउँदै त्यसको प्रचारप्रसार आवश्यक औंल्याए । उनले भने, नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौं मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ ।’ यसले दीर्घकालीन पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनले उल्लेख गरे । कार्यक्रम तालिका २२ मेमा विदेशीहरू नेपालमा आइपुग्ने कार्यक्रम रहेको छ । २३ अप्रिलमा औपचारिक रूपमा मार्टको उद्घाटन कार्यक्रम रहेको छ भने उक्त दिन कन्फ्रेन्स, बिटुबी मिटिङ, र प्रदर्शनी रहेको छ । साँझ गाला डिनरका साथै नेटवर्किङ कार्यक्रम आयोजना हुने छ । दोस्रो दिन अर्थात २४ मे मा कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने त्यही दिन साँझ लुम्बिनी जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरु आ–आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ । मार्टमा सहभागी हुन चाहने सहभागीहरूले २०८२ वैशाख २८ (१० मे २०२५) भित्र अनिवार्य दर्ता गर्नु पर्ने छ । र २०८२ वैशाख १८ (३० अप्रिल २०२५) भित्र दर्ता गर्ने सहभागीहरूलाई ‘अर्ली बर्ड’ को छुटसमेत उपलब्ध रहेको आयोजकले जनाएको छ । यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ । बीआईटीएम २०२५ को लागि प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार विभिन्न स्तरमा ब्राण्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ । आयोजकले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पर्यटन क्षेत्र, सरकारी निकाय, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा गरेका छन् । नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ । आयोजका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स÷मिडियाको सहभागिता रहेको थियो ।