वैदेशिक व्यापार साढे ८५० अर्ब रुपैयाँ, आयात ७८१ अर्ब, निर्यात ६६ अर्ब
काठमाडौं, साउन ५ । गत आर्थिक वर्ष २०७२/७३ मा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँको पुगेको छ । गत आवको भन्दा अघिल्लो आव २०७१/७२ मा २ दशमलव ४२ प्रतिशतले व्यापार घटेर साढे ८ खर्बमा व्यापार सीमित भएको भन्सार विभागको तथ्याङ्क छ । अघिल्लो आवमा ८ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । गत आवको जेठ मसान्तसम्मको वैदेशिक व्यापार ७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो आवको सो अवधिमा यस्तो व्यापार ७ खर्ब ७० अर्ब ८७ करोड रुपैयाँ भएको थियो । भूकम्पका कारण उत्तरी छिमेकी चीनसँगको प्रमुख नाका तातोपानी बन्द हुनु र दक्षिणी सीमाको ६ महिना लामो नाकाबन्दीले नेपालको वैदेशिक व्यापार सङ्कुचन आएका कारण वैदेशिक व्यापार घटेको विभागका प्रवक्ता सूर्य सेढाईंले बताए । गत आवका शुरुवाती महिनामा लगभग ठप्प रहेको वैदेशिक व्यापार दक्षिणी नाकाको अवरोध हटेपछि र उत्तरबाट रसुवागढीमार्फत आयात निर्यात शुरू भएपछि भने फस्टाएको थियो । फलस्वरूप, पछिल्ला महीनाहरूमा विस्तारै आयात निर्यातले नाकाबन्दी तथा भूकम्पअघिकै गति समातेको विभागको भनाइ छ । आयातित सामग्री निर्बाध रूपमा नेपाल भित्रन नसक्दा र कच्चा पदार्थको अभाव तथा आन्दोलनका कारण नेपाली उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा चालू आवको पहिलो ६ महीनासम्म ३ खर्ब ८ अर्ब ५० करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ । शिथिल अर्थतन्त्र, आव शुरु भएदेखि तराई मधेश बन्द तथा नाका अवरोधले आपूर्ति प्रणालीमा पारेको असहज परिस्थितिका कारण गत आवमा नेपालको दुबै व्यापारमा प्रभाव परेको छ । नाकाबन्दीको कारण आयातित वस्तु नेपाल भित्रन सकेनन् । नेपालमा इन्धन, कच्चा पदार्थलगायत आपूर्ति सहज नहुँदा पर्याप्त वस्तु उत्पादन सकेन र उत्पादन भएका वस्तु पनि वाहिर पठाउन नसके पछि गत आवमा अघिल्लो आवको तुलनामा आयात निर्यात दुबै घटेको छ । गत आवमा भएको कुल व्यापारमध्ये ७ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँको आयात हो भने ६६ अर्ब ५८ करोड रुपैयाँको निर्यात हो । अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार क्रमशः ७ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ र ८५ अर्ब १९ करोड रुपैयाँ थियो । गत आवको पहिलो ६ महीनामा २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवाहरू नेपाल भित्रिएको र ३१ अर्ब ५० करोड रुपैयाँका वस्तु तथा सेवा नेपालबाट बाहिरिएको विभागले जानकारी दिएको छ । अर्धवार्षिक आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २६ दशमलव ५ प्रतिशतले कम हो । अघिल्लो आवमा साउनदेखि पुससम्मको अर्धवार्षिक अवधिमा ३ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो भने ४३ अर्ब ३९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागकोे भनाइ छ । सरकारले केही वर्षयता१ खर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्ने योजनासहित विभिन्न निर्यातित वस्तुमा प्रोत्साहनको व्यवस्था गरे पनि निर्यात भने गिर्दाे अवस्थामा रहेको छ । अघिल्लो आवमा ७ खर्ब ९९ करोड रुपैयाँ रहेको व्यापारघाटा गत आवमा ७ खर्ब १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आवको निर्यात—आयात अनुपात भने एक बराबर ११ (१ः११.४) रहेको छ । बन्दहडताल तथा नाकाबन्दीका कारण अनौपचारिक अर्थतन्त्र विस्तार हुँदै जानु र औपचारिक क्षेत्र खुम्चँदै गएका कारण यसको प्रत्यक्ष असर वैदेशिक व्यापारमा देखिएको हो ।
नेप्सको दैनिक नयाँ नयाँ रेकर्ड, कति सान्दर्भिक ?
हरिबोल काफ्ले काठमाडौं, ५ साउन । नेप्से सुचकको नयाँ उचाईका बारेमा लगानीकर्ताको चासो हुनु स्वभाविक हो । यो समयमा बजारलाई सकारात्मक दिशामा लैजाने तथ्यपरक यर्थाथहरु निम्न रहेको देखिएको छ । अधिक मुनाफा र प्रतिफल बैंक, वित्तिय संस्था र बीमा कम्पनीको प्रतिफल लोभ लाग्दो देखिएको छ । लामो समयसम्मको नाकाको अवरोध र भुकम्पको मारले संस्थागत मुनाफामा असर परेको देखिएन । त्यसको विपरित संस्थाहरुको मुनाफा अधिक रह्यो । समग्र अर्थतन्त्रमा परेको प्रतिकुल प्रभावका बिचमा पनि नाफाको दर अधिक हुनाको कारणले पूँजीबजारको प्रवृतिलाई जीवन्त तुल्याएको देखिन्छ । नाकाको अवरोध वा भुकम्पको प्रकोपले बैंक, वित्तिय संस्था र बीमा कम्पनीले आफ्नो संस्थागत संरचनालाई झन् मजबुत बनाउने अवसरको रुपमा लिन पुगेका छन् । जसकाकारण आगामी वर्षहरुमा त्यसको प्रतिफल झन् लोभ लाग्दो हुन सक्छ । सापेक्ष प्रविधि प्रयोग र सूचनाको पूर्ति बजारको आवश्यकता अनुसारको प्रविधि, नीति र उपकरणको परिपुर्ति समयानुकुल विस्तार भएको छ । कारोबारको समय, प्रविधि प्रतिको विश्वासनियता र नेप्सेको प्रतिवद्धता नेप्से वुलिसको परिपुरक हो । प्रविधिको पछिल्लो प्रयोगले कारोवारका लागि लगानीकर्ताले पुरा गर्नुपर्ने अनेक प्रकारका प्रक्रियाहरु सरल र सहज बनेको छ । सुचनाको भरपर्दो संयन्त्रको विकास र लगानीकर्तालाई सुचनाको उपलब्धतामा भएको वृद्धिले अहिलेको अवस्थामा महत्वपुर्ण भूमिका खेलेको छ । नेप्सेको मार्केट डेब्थ पछिल्लो प्रयोग हो । सही सूचनाको उपयोग र विश्लेषण लगानीको निर्णयका लागि सबैभन्दा ठुलो आवश्यकता हो । विश्व बजारको अभ्यासले समेत सूचनाको श्रोत, विश्लेषणको गहिराई र तथ्य परक सूचनाको महत्वलाई सबैभन्दा ठूलो लगानीमन्त्रको रुपमा पहिचान गरेको देखिएको छ । बैंक तथा वित्तिय संस्थाले केही समय अघिदेखि मात्र सुचनाको अधिकार सम्बन्धि केही अनिवार्य व्यवस्थाहरुलाई मध्यनजर गरि सो सम्बन्धि विवरणहरु समेत प्रकासित गर्न थालेका छन् । साथै नीति र उपकरणको सार्थक प्रयोगतर्फ समेत सरोकार निकायहरु उन्मुख भएको देखिएका छन् । धितोपत्र बोर्डले समेत पछिल्लो समयमा बजार व्यवस्थित गर्नका लागि थप व्यवस्थित, पारदर्शी र विस्वसनीय भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको छ । ठूला संस्थाहरुले समेत लगानी बढाउने दिशामा आफ्नो ध्येय कायम रहेको बुझाईले पनि केहि हदसम्म लगानीकर्ताको मनोवल उच्च पारेको छ , जसको सकारात्कम टेवा बजारले पाएको छ । अधिक तरलता र न्युन व्याज लामो समय सम्मको अस्थिरताले लगानीको ठूलो पूँजी स्थिर बनेको छ । अधिक तरलता भएको समयमा प्राय जस्तोसुकै स्थिर पूँजीले पनि अवसरको मुनाफालाई अवसरको विकल्पमा रोज्ने गरेको पाईन्छ । अर्थव्यवस्थामा जबसम्म अन्यत्रको क्षेत्रले मुनाफा उल्लेख्य सिर्जना गर्दैन । सेयर बजारको लगानी जबसम्म पलायन हुन खोज्दैन तब सम्म सेयर बजारको प्रवृतीमा शंका गर्नुपर्ने ठाउँ हुदैन । बजारको व्याज निर्धारण पनि तरलताको माग र पूर्तिको सन्तुलनमा भर पर्छ । अर्थात अधिक तरलताको समय भनेको लगानीमा न्युन चाप पैदा भएको अवस्था हो । यो समयमा व्याजको दर समेत न्युन विन्दुमा आईपुग्छ । न्युन विन्दुको निक्षेपणले लगानीकर्ता अधिक जोखिम लिन रुचाउने गर्दछन्, जसकाकारण बजारले ठूलो गति लिन सक्ने देखिन्छ । पूँजी वृद्धिको वाध्यता र सवल माग पक्ष विषेशत वाध्यात्मक पूँजीवृद्धिको कार्ययोजनामा सबै प्रकारका बैंक तथा वित्तिय संस्थाहरु समावेश भैसकेका छन् । चुक्तापूँजी वृद्धिको प्रभाव नेप्से वृद्धिका लागि सबैभन्दा परिस्कृत निर्णय थियो । न्युन समयभित्र ठुलो स्तरले पूँजी वृद्धिको अनिवार्य व्यवस्थालाई बैंक तथा वित्तिय संस्थाले विभिन्न प्रकारले तारतम्य मिलाउदै गएकाछन् । जस अन्र्तगत बोनस वा हकप्रद शेयरको आकांक्षाले पनि लगानीकर्ताको लगानी निरन्तर प्रवाह भएको छ । बैंक तथा वित्तिय संस्थाको पूँजी संरचना विस्तारका लागि धेरै संस्था मर्जरमा गएका छन् । जसकाकारण तिनीहरुको कारोवार समेत स्थगित छ । अभौतिकिकरण र स्थगित कारोवारको अवस्थाले बजारमा शेयरको आपुर्ति पक्षलाई समेत कमजोर बनाएको छ । आपुर्तिपक्षमा देखिएको विचलनले मागपक्ष अधिक हावि हुनु त्यसले मुल्य बढाउनु पनि वृद्धिको सान्दर्भिक तथ्य हुन सक्छ ।
सिटिजन्स बैंक र बुम रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ५ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुम रेमिटेन्स कम्पनीबीच रेमिट्यान्स अर्थात विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा बुम रेमिटेन्स कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सम्झौताअनुरुप विदेश तथा स्वदेशमा रहेका नेपालीहरुले बुम रेमिटेन्समार्फत पठाएको रकम बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अघि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसँग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि र आइपे रिलायबलबाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको बैंकले जनाएको छ । यसको साथ साथै बैंकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसँग सम्झौता गरि विप्रेषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।
सिँचाइ मन्त्रालयका ५ वर्षे कार्यक्रमका लागि २५ अर्ब बजेट चाहिने
काठमाडौं, ५ साउन । सरकराले कृषियोग्य भूमिमा भरपर्दो र दिगो सिँचाइ सेवामार्फत कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गर्न तराई तथा भित्री मधेशका २२ जिल्लामा ‘समृद्ध तराई मधेश सिँचाइ विशेष’ कार्यक्रम लागू गर्ने भएको छ । कृषियोग्य भूमिमा सिँचाइको भरपर्दो व्यवस्था मिलाउन तथा उत्पादकत्व बढाएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सिँचाइ मन्त्रालयले यस्तो विशेष कार्यक्रम कार्यान्वयनमा लैजान लागेको हो । ५ वर्षे उक्त कार्यक्रमका लागि रू. २४ अर्ब ८० करोड बजेट लाग्ने अनुमान सिँचाइ विभागले गरेको छ । कार्यक्रममा तराईका १८ र भित्री मधेशका उदयपुर, मकवानपुर, दाङ र चितवन जिल्ला समेटिएका छन् । आगामी ५ वर्षमा सम्पूर्ण कृषिभूमिमा बाह्रै महीना सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित सरकारले चालू आवमा २०७३/७४ मा रू.२४ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । सो कार्यक्रम कार्यान्वयन गर्न चालू आवमा रू.२ अर्ब ३० करोड विनियोजन गरिएको मन्त्रालय योजना तथा कार्यक्रम महाशाखाका सह–सचिव सागरकुमार राईले जानकारी दिए । उनका अनुसार तराई र भित्री मधेशका ११ जिल्लामा आधुनिक सिँचाइ प्रणालीमार्फत सिँचाइ सुविधा उपलब्ध गराउन सो कार्यक्रम प्रारम्भ गर्ने लागिएको हो । कार्यक्रमअन्तर्गत ती क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्थाका लागि उपलब्ध स्रोत तथा सम्भावनाका आधारमा सतह तथा भूमिगत सिँचाइ सेवाको विस्तार र नयाँ पोखरी तथा इनारको निर्माण गरिने छ । आधुनिकीकरणसहित क्षमता अभिवृद्धि गरिने भएको छ । मन्त्रालयका अनुसार सुनसरी–मोरङ, बागमती, कमला र नारायणी सिँचाइजस्ता ठूला तथा बृहत् आयोजनामा थप पानी उपलब्ध गराउन स्थानीय खोला, खोल्सी, नाला आदिको पानीसमेत उपयोग गर्ने गरी कार्यक्रम तयार गरिएको छ । कार्यक्रमअन्तर्गत भूमिगत स्यालो तथा डीप ट्युबवेल निर्माणबाट करीब ९४ हजार हेक्टर, तालतलैया तथा इनार निर्माणबाट करीब १७ हजार हेक्टर र सतह सिँचाइका अन्य योजना निर्माणबाट १७ हजार ५ सय हेक्टर सिञ्चित क्षेत्र विस्तार गरी करीब १ लाख २८ हजार ५ सय हेक्टर थप कृषियोग्य भूमिमा सिँचाइ सेवा विस्तार हुनेछ । ‘विद्यमान सिँचाइ प्रणालीहरूको पुनःस्थापना तथा सुधारबाट करीब ५७ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सेवा व्यवस्थित र भरपर्दो हुन गई कृषि उत्पादन दोब्बरले बढ्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘रोजगारी सिर्जना गर्नु र उत्पादकत्व बढाई आयात प्रतिस्थापन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो ।’ सिँचायको भरपर्दो व्यवस्था नहुँदा देशकै अन्न भण्डार तराईका केही जिल्लाले अधिकांश खडेरी चपेटा भोग्नु पर्दा कृषि उत्पादनमा कमी आएपछि मन्त्रालयले सिँचाइका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोजनाको अन्त्यसम्म १ हजार ३ सय तालतलैया तथा पोखरी संरक्षण तथा पुनःस्थापन गरिनेछ भने ५ हजारओटा नयाँ इनार निर्माण गर्ने भएको छ । सरकारले चालू आवको बजेटमा सिँचाइ सुविधामार्फत उत्पादकत्व वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्घोष गरेको छ । विगत केही वर्षयता सिँचाइको बजेटमा लगातार वृद्धि भए पनि खाद्यान्न उत्पादन भने घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । कुल गार्हस्थ्य उत्पादनमै ठूलो असर पार्ने धान बालीको उत्पादन १० दशमलव २ र गहँुको उत्पादन १२ प्रतिशतले घटेको तथ्याङ्क कृषि विकास मन्त्रालयले सार्वजनिक गरिसकेको छ । अघिल्लो आव २०७०/७१ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा गत आवमा उत्पादन घटेर ४२ लाख ९९ हजार मेटमा सीमित भएको छ । अघिल्लो आवमा १९ लाख ७५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । नाकाबन्दी र खडेरीका कारण गत आवमा १७ लाख ३७ हजार मेटमात्र गहुँ उत्पादन भएको छ । गत आवमा ३३ लाख ७७ हजार हेक्टरमा खाद्यान्न बाली लगाई ९२ लाख ६६ हजार मेट उत्पादन भएकोमा चालू आवमा उत्पादन क्षेत्र ३३ लाख ६ हजार हेक्टरमा खुम्चेको र उत्पादन पनि ८६ लाख १४ हजार मेटमा सीमित रहेको छ । हाल नेपालमा करीब २६ लाख हेक्टर कृषियोग्य जमीन रहेको छ । सोमध्ये चालू आवसम्ममा जम्मा १३ लाख ८९ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । यो चालू आवको लक्ष्य १३ लाख ९६ हजार हेक्टरको ९९ प्रतिशत हो । यही प्रगतिबाट उत्साहित भएर आगामी आवमा सिँचाइ सुविधा उपलब्ध जमीन १४ लाख ३७ हजार हेक्टर पु¥याउने सरकारको लक्ष्य छ ।
‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत घरघरमा स्टिकर टाँस्दै
सप्तरी, ५ साउन । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत यहाँ आइतबारदेखि प्रहरीले फोन नम्बर अङ्कित स्टिकर टाँस कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसमा कुल एक लाख २१ हजार घरको मूल ढोकामा प्र्रहरी आफैँ गएर सो स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । नागरिकलाई असुरक्षा महसुस हुने गतिविधिप्रति सजग, सचेत र सतर्क गराउने, अपराधिक घटना कम गर्ने उद्देश्यले प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन एवम् प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने तथा नागरिकमा शान्ति सुरक्षाको थप अनुभूति दिलाउन यो अभियान सञ्चालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। सो अभियानअन्तर्गत प्रहरीले जिल्लाको प्रत्येक घरका परिवारसँग भेटघाट गर्ने, नागरिकसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गर्ने, नागरिक सूचनाका आधारमा फरार अपराधी अभियुक्तलाई पक्राउ गर्नेलगायतका कार्यलाई निरन्तरता दिने प्रहरी उपरीक्षक ढकालले बताए । गतवर्ष मधेस आन्दोलनको समयमा सप्तरीमा प्रहरी र नागरिकबीचको सम्बन्ध चिसिदै गएको बेला यस अभियानलाई निरन्तरता दिएको प्रहरीको भनाइ छ । रासस
ब्रोकर कमिसन करिब ४० प्रतिशतले घट्यो, (धितोपत्र बोर्डको निर्देशन पत्रसहित)
काठमाडौं, ५ साउन । अर्थमन्त्रालयले सेयर ब्रोकर कम्पनीहरुको कमिसन करिब ४० प्रतिशतले घटाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ । मन्त्रालयको स्वीकृति पाएपछि बोर्डले आजै निर्णय गरेर सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन घटाएको छ । । अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । यस अघि सो मात्राको कारोबारमा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको थियो । त्यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शुन्य दशमलब ५० प्रतिशतमा झारिएको छ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शुन्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ । एक करोड भन्दा बढिको कारोबारमा भने जम्मा शुन्य दशमलब ४ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । धितोपत्र बोर्डको बोर्ड बैठकले बुधबारै निर्णय अनुमोदन गरेर नेपाल स्टक एक्सचेञ्च(नेप्से)लाई पत्राचार गरेको छ । घटाईएको ब्रोकर कमिसन बिहिबारदेखि नै लागु हुनेछ ।
सुमेरु सेभिङ्गको १८औं वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, ५ साउन । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो । लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जम्मा ५ सय ३९ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रम “सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे रहेको थियो ।
सेयर बजारमा साढे १३ अंकको गिरावट, उत्पादनमूलक बाहेक सबै समूह ओर्लिए
काठमाडौं, ५ साउन । नेप्सेले समयाबधी थप गरेसँगै बजारमा उतार चढावको क्रम जारी छ । मंगलबार १३ अंकले बढेर १८०० अंकमा पुुगेको बजार बुधबार भने १३ दशमलब ६३ अंकले घटेर १७८६ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३४ लाख ७४ हजार कित्ता सेयर २ अर्ब १२ करोड ९१ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि करिब २ करोड बढीको गिरावट आएको छ । बुधबार उत्पादनमूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक आरालो लागेका छन् । बजारमा सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२६ अंकले ओरालो लागेको देखिन्छ । होटल, अन्य, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ३५, १५, १२ र ११ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स समूह भने सामान्य अंक क्रमशः ६ र १ अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको ३९ करोड ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक र एडिविएल बैंकको ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन ६ वटा कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिसन डेभलपन्ट बैंक र बोटलर्स नेपाल(तराई) का लागानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, एडिबिएल, कैलाश विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिथिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।